बाढीपहिरोको विपत्ति: करिब ३ दर्जनको मृत्यु, कैयौं बेपत्ता, अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित



शिवहरि भट्टराई (सप्तरी), सञ्जय कार्की (रौतहट), गोकुल घोरसाइने (बारा), कुमार श्रेष्ठ (नेपालगन्ज), नरेन्द्र केसी (दाङ), उत्तम नेपाल (झापा), रोशन पराजुली (हेटौंडा), सन्तोष अधिकारी (गोरखा) र अनिल खत्री (गुल्मी) को रिपोर्टः

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानै गर्न नसकिने क्षति भएको छ। बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएका छन्। गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरि करिब ३० जना मानिसको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन्।

गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रहरूमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री स्टेन्डबाइ राखे पनि मौसम प्रतिकूल भएको कारणले आफू जान नसकेको बताउनुभयो। उहाँले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराउनुभयो।

इटहरी संवाददाताका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण शनिबार पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ। भोजपुर घर भई हाल इटहरी–४ को गौरीगाउँमा डेरा लिई बस्ने माया राईका दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन्। उहाँकी ८ वर्षीया छोरी रूपसनी र तीन वर्षीय छोरा रूपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीया छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०⁄३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

सप्तरी संवाददाताका अनुसार चार दिनदेखि लगातार परेको वर्षा र शुक्रबार राति परेको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा ३ हजार घर डुबानमा परेका छन् भने १ हजार परिवार विस्थापित भएका छन्। अविरल वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ। साथै सप्तकोशी नदीको वहाव उच्च भएपछि सुनसरी र सप्तरीनजिकका बासिन्दा त्रसित भएका छन्। जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिणपूर्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेका छन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराजलगायत जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका शनिबार डुबानमा परेका छन्। बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था तथा सरकारी कार्यालयका कामसमेत प्रभावित भएका छन्। राजविराजको मुख्य सडकमा तीन फिटभन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जिल्लाको पूर्वी भेगको मोहुली खोलामा आएको बाढीले कञ्चनरूप नगरपालिका–७ र ८ वडा, तिरुहुत गाउँपालिकाको भेडिया, मैनाकडेरी, गोइठी पिप्राहीलगायतको ठाउँ डुबानमा परेको स्थानीय विनाइ तिवारीले बताउनुभयो। हनुमाननगर कंकालिनी नगरपालिका–१ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनियाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरूपमा जलमग्न भएको छ।

त्यस्तै, सोही नगरपालिका–२ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द हुँदा सयौं घर डुबानमा परेको हनुमानगर कंकालनी नगरपालिकाका श्यामसुन्दर खड्काले बताउनुभयो।

यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन्। खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगियाटोलमा कटान शुरू भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयबासीले जनाएका छन्।

सो नदीले करिब दुई सय मिटर जमिनसमेत कटान गरेको जनाइएको छ। यसैगरी कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनिया, सकरपुरा, रम्पुरा मलहनिया, इनरुवा र तिलाठी गाउँ पूर्णरूपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैंसी तथा बाख्रा लिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुनि पानीमा भिज्दै बसेका छन्। त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरूपमा जलमग्न भएको छ। उक्त क्षेत्रको कम्पाउन्डवालसमेत भत्केको छ र उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ। त्यहाँ रहेका मलेठ, रायपुर, रूपनी, पोवापिप्राही, शम्भुनाथ, तैरोहता, वीरेनबजार, बर्दाही, बनैनिया पूर्णरूपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रूपनीले जनाएको छ।

यसैबीच प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पानीको बहाव नहुने क्षेत्रमा डोजर लगाएर पानी निकासका लागि बाटो काट्न, नदी कटान क्षेत्रमा बोरामा बालुवा हालेर राख्न सुरक्षा निकाय तथा गैरसरकारी संस्थालाई सञ्चालन गरिएको जानकारी दिनुभयो। क्षतिको विवरण संकलन कार्य भइरहेको र उद्धार तथा राहत वितरणको कार्यसमेत भइरहेको कटुवालले बताउनुभयो। विराटनगर संवाददाताका अनुसार निरन्तररूपमा शुक्रबार रातिदेखि वर्षा जारी रहेका कारणले मोरङमा अन्दाजी २ हजार घर डुबानमा परेका छन्। वर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ।

विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ। सोमध्ये, विराटनगरको ४, ५, ६, ११ र १२ नम्बरका वडा पूर्ण डुबानमा परेको र ती वडाबाट ६ सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय विराटनगरले जनाएअनुसार बूढीगंगामा अन्दाजी ३ सय ५० घरपरिवार डुबानमा परेका छन्। बौंराहा टोलको १ सय ५० घर, मुडेरी टोलका १ सय ५० घर र दिपु टोलका ५० घर छन्। प्रहरीको टोली पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेका छन्। उर्लाबारी–८ को माझीटोलमा बक्राहा नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाँबेझाडो गाउँको–६ परिवारलाई डुबानमा पारेको छ भने धनपालथानको ५, ६ र ७ वडाका ३ सय परिवारको घर डुबानमा परेको छ। पीडित परिवारको उद्धार कार्यमा प्रहरी जुटेको छ। त्यसै गरी, रतुवामाई नगरपालिकाको ७, ८, ९ र ५ मा रतुवा र बक्राहा खोलाको पानी पसेपछि ७ सय परिवारलाई सुरक्षित स्थानमा सार्न प्रहरी टोली यतिखेर जुटेका छन्। धनपालथान–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर १ सय ५० घर डुबानमा परेको र रंगेलीको आमतोलामा चार घर डुबानमा परेको छ भने एकराही र जामुनगाछीको मानव बस्तीमासमेत पानी पसेको छ।

यसैबीच, शुक्रबार रातिदेखि विराटनगरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ। नेपाल टेलिकमको इन्टरनेटसेवा बिहान ९ः३० बजेदेखि सुचारु भए पनि मोबाइल र टेलिफोनको एसटीडी सेवा सुचारु हुनसकेको छैन।

विराटनगर संवाददाताका अनुसार लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ। स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा केही पर फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

यस्तै पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा शनिबार बिहान एक महिलाको मृत्यु भएको छ। दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले जनाए।

अविरल वर्षापछि सुन्दरहरैंचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। नेपालगन्जमा राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा ३ जना बालिकाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए।

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेका छन्। शुक्रबार राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन्। यस्त,ै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन्। अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ। घरभित्र पानी पसेपछि मानिसहरू घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन्। यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा ३ रूख ढलेका छन्। राप्ती नदीको तह बढेर जोखिम बढाएको छ।

सिन्धुली संवाददाताका अनुसार शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिरोले पुरिएर शनिबार बिहान एकै परिवारका ४ जनाको ज्यान गएको छ। सिन्धुलीमाढी–२ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो। शनिबार बिहान करिब २ बजे घरमाथिबाट आएको पहिरोले पुरिएर खड्काकी ३७ वर्षीया पत्नी दुर्गाकुमारी, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र ८ वर्षीय मनिष रहेको जनाइएको छ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो। जिल्ला प्रहरी कार्यालयको आवासीय भवननजिकैबाट झरेको पहिरोले घर पुरिएको थियो। राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताउनुभयो। ‘राति २ बजेतिर पहिरो आएछ। म ढोकाको छेउमा सुतेको थिएँ। पत्नी र छोराछोरी भित्तापट्टि सुतेका थिए। पहिरो आउनासाथ म भागें, उनीहरू भाग्न भ्याएनन्। राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए।’ –खड्काले भन्नुभयो।

पहिरोमा परेकाहरूलाई ढिलो उद्धार गर्दा ज्यान गइसकेको थियो। शव सिन्धुली अस्पतालमा राखिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास गरेको थियो। राति परेको अविरल वर्षाका कारण अन्य क्षेत्रबाट भने कुनै क्षति विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दाङ संवाददाताका अनुसार शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर–१३ का भगवती सुनार हुन्। स्थानीय तुईखोलामा आएको बाढीले घर बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यसैगरी राप्ती नदीमा आएको बाढीले दर्जनौं घर डुबानमा परेको प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै, लमही नगरपालिका–५ मा दुईवटा घर पूर्णरूपले क्षति भएका छन् भने छवटा घर डुबानमा परेका छन्। यसैगरी बबई नदीमा आएको बाढीले दुईवटा घर बगाएको छ भने ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ।

शुक्रबार राति १ः३० बजेदेखि तुलसीपुर–नेपालगन्ज सडकखण्डमा यातायात ठप्प भएको छ। बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ।

अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतीपुर, बाँकी गाउँ जलमग्न भएको छ। त्यसैगरी घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा पनि बाढीले सडक बगाएको इप्रका तुलसीपुरले जनाएको छ। बारामा दुई दिनदेखिको अविरल वर्षापछिको डुबानले भत्किएको घरले थिचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीया गहनी पासवान रहेकी छन्।

गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत मनास्लु पदमार्गको चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेको छ। पहिरो खसेपछि स्थानीयहरू सँगै मनास्लु पदमार्ग भएर चुमभ्याली जानका लागि हिँडेका पर्यटकहरू बीच बाटोबाटै फर्कन बाध्य भएका छन्। गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोले गुल्मीमा एक गोठ पुरिँदा गोरु र भैंसीको पाडी मरेका छन्। जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ६ कुर्घामा कृष्ण परियारको गोठमा रहेका गोरु र भैंसीको पाडी पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। डोटीमा वर्षाका कारण डोटीको सेती नदीमा पनि पानीको सतह बढ्दै गइरहेकाले नदी किनाराका बासिन्दाहरूलाई सतर्क रहन स्थानीय प्रशासनले आह्वान गरेको छ। सेती नदीको आस पासमा रहेका बानिडुग्रिसैन, बारपाटा, सिरखोलीसैन, कालागाढ, दिपायल, घोल्तडा तथा नारीदाङ क्षेत्रमा नदीको बहाव बढेसँगै जमिन कटान भएकाले खतरा बढेको प्रहरीले जनाएको छ।

पाल्पा संवाददाताका अनुसार शुक्रबार रातिदेखि परेको अविरल वर्षाले रामपुर नगरपालिका–१० मा एक घर पुरिएको छ भने दुई घर जोखिममा परेका छन्। कालीगण्डकी करिडोरको आडैमा रहेको दुर्गा मन्दिर टोलमा रहेको छमबहादुर आलेको घर पुरिएको हो। कालीगण्डकी करिडोरको बाटोमा खनिएको कच्ची नाली बाढीले भत्काउँदा घर पुरिएको स्थानीयबासीले जनाएका छन्। बाढीले घर पुरिएपछि आलेको परिवार अहिले आफन्त र छिमेकीको शरणमा बसेका छन्।

त्यस्तै, सोही स्थानकै देवनाथ अधिकारी, भोलानाथ पाण्डेय र आनन्द पाण्डेको घर जोखिममा रहेको छ। कालीगण्डकी करिडोरले कच्ची नाली निर्माण गरेका कारण यहाँ क्षति हुन पुगेको हो। करिडोरको बाटोमा करिब ५ मिटर चौडाइदेखि १० मिटर गहिराइसम्म पानीले खोलेको छ। यस क्षेत्रमा करिडोरको बाटोको नाली भत्किँदा करिब ५ बिगाहा क्षेत्रफलमा लगाइएको धान पुरिएको कृषकले बताएका छन्। जाजरकोट संवाददाताका अनुसार लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ। विद्युत् उत्पादनका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ।

लाखौं रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन्। त्रिवेणी नलगाड नगरपालिका–३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत् योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ। बाढीले कुलो भत्काउँदा ६५ घरधुरी अँध्यारोमा बस्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका–३ का वडा अध्यक्ष प्रचण्ड बलीले बताउनुभयो।

चितवन संवाददाताका अनुसार बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौं बस्तीका सयौं घर डुबानमा परेको जनाइएको छ।

उहाँले यहाँका तीन⁄चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यससम्बन्धी विवरण संकलन भइरहेको बताउनुभयो। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ को सेतीदोभान भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

दिनभरको अविरल वर्षापछि पहिरोको जोखिम हुनसक्ने भन्दै अपराह्न २ बजेदेखि सवारी आवागमन रोकिएको थियो। त्यसैगरी, मुग्लिनको मुखैमा, भालुढुंगा, भोर्लेलगायत ठाउँमा पनि पहिरो खसेको छ। महोत्तरी संवाददाताका अनुसार अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन्।

तीन⁄चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन्। जनकपुर संवाददाताका अनुसार अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घरघरमा पानी पसेको छ।

पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापरबाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन्।

झापामा तीन दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। झापामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् भने ३ जना बेपत्ता रहेको झापा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २८ वर्षीय लेखनाथ पाण्डे, कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय रामप्रसाद राजवंशी, झापा गाउँपालिका २ बस्ने अन्दाजी ३५ वर्षीया धनमाया घोर्षानी र सोही गाउँपालिका २ बस्ने अन्दाजी ३४ वर्षीया कमला दर्लामीको मृत्यु भएको हो।

  • इटहरीमा ७ जनाको शव भेटियो
  • विराटनगर जलमग्न, २ हजार घर डुबानमा, हवाई उडान बन्द, विद्युत् अवरुद्ध, मोरङमा ३ को मृत्यु
  • जनकपुर क्षेत्र जलमग्न
  • नेपालगन्जमा ३ बालिकाको मृत्यु, १ बेपत्ता
  • सिन्धुलीमा पहिरोले एकै परिवारका ४ को मृत्यु
  • रौतहटमा बाढीबाट जोगिन ३ सय व्यक्ति एउटै घरमा
  • दाङमा १ को मृत्यु, दर्जनौं घर डुबानमा
  • बारामा थुप्रै स्थान डुबानमा, घर भत्किएर महिलाको मृत्यु
  • मनास्लु पदमार्गको चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेपछि पर्यटक बीच बाटोबाट फिर्ता
  • चितवनका करिब ४ सय घर डुबानमा, नारायणगढ–मुग्लिन सडक खण्डमा फेरि पहिरो, सवारी अवरुद्ध
  • सप्तरीमा ३ हजार घर डुबानमा, हजारौं विस्थापित
  • झापामा ४ को मृत्यु, ३ बेपत्ता
  • महोत्तरीमा थुप्रै बाटा अवरुद्ध
  • हेटौंडामा घर भत्किएर १ को मृत्यु
  • पाल्पामा १ को मृत्यु
  • बर्दियामा १ को मृत्यु

मृतक कमलाका पति टेकबहादुर र छोरी खुसी दर्लामी बेपत्ता भएको प्रहरी कार्यालय झापाका डीएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो। त्यस्तै मृतक धनमायाको छोरी अन्दाजी १५ वर्षीया कमला घोर्षानी पनि बेपत्ता भएको र उनलाई कनकाई नदीले बगाएको हो। बेपत्ता भएका तीनै जनाको खोजी कार्य भइरहेको डीएसपी शर्माले जानकारी दिनुभयो। झापामा बाढीले भद्रपुर, शिवसताक्षी, विर्तामोड, गौरीगन्ज, झापा, बाह्रदशी र कचनकवल क्षेत्रका बासिन्दा बढी प्रभावित बनेका छन्। नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापन शाखाले दिएको जानकारीअनुसार अहिलेसम्म १ हजार १ सय ६९ घरपरिवार बाढीले विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ। १२ सय ४९ घर डुवानमा परेका छन्।

३ घर पूर्णरूपमा क्षति भएको छ भने १ हजार १ सय ६६ घरमा आंशिक क्षति पुगेको जनाएको छ। मेची नदीले झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीकिनारमा ६० घर डुबानमा परेको छ। भद्रपुर–३ स्थित मेचीपारी र भैसावाडीमा ३ सय बढी घर डुबानमा परेका छन्। कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका २ का सम्पूर्ण वडा र वडा १, ३ र ६ का १ सय ५० घर डुबानमा परेका छन। गौरीगन्ज १ र २ का ३ सय बढी घर डुबानमा परेका छन्। बाह्रदशी–१ र २ का २ सय घर डुबानमा परेका छन्।

त्यस्तै कचनकवल–४ मा १ सय ६७ घर डुबानमा परेका छन्। झापामा वर्षा जारी रहेकाले झापामा उद्दार कार्यमा समस्या आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन्।
जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजातलाई भिजाएको छ। अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ।

रौतहटमा तीन दिनदेखि लगाातार परेको अविरल वर्षासँगै यहाँका नदीमा आएको बाढीबाट सिंगो रौतहट नै प्रभावित बनेको छ। रौतहटको देवाहीस्थित लाल बकैया नदीको तटबन्ध भत्किएर नदीकै पानी बस्तीमा प्रवेश गरेको छ। उक्त पानीले सो बस्ती पुरै डुबानमा परेको छ। त्यहाँका ३ सयभन्दा बढी बासिन्दा डुवानबाट जोगिन एउटा तीन तल्ले घरमा आश्रय लिई बसिरहेका छन्। उनीहरूको उद्धार गर्न कठिन भइरहेको थियो।

यस्तै करुनियामा समेत सोही नदीको तटबन्ध भत्किएर बस्तीमा नै पानी प्रवेश गरेर डुबानमा परेको छ। गरुडा नगरपालिकाको विभिन्न वडा गरी करिब २ सय घर डुबानमा परेका छन्। उक्त बस्तीको अर्को बस्तीसँग जोड्ने बाटो अवरुद्ध भएकाले सम्बन्ध नै विच्छेद भएको छ। सदरमुकाम गौर आउने रौतहटको सबै ग्रामीण इलाकाका सडक अवरुद्ध बनेपछि सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ। बाढीका कारण गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्णरूपमा बन्द रहेको बताइएको छ। वर्षाको पानीले पूर्वीभेग मत्सरी, सरुअठा, मलहिनिया, समनपुर, पश्चिमीभेग देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, इनरवा, मटिअर्वा, कटहरिया, कर्कचकर्मैया, भसेढवा, बडका बडेरवा, फतुआ, हर्षाहा, लक्षमिनिया, शीतलपुर, बैरगनियालगायत रौतहटका ७० प्रतिशत बस्ती डुबानमा परेका छन्।

सन्तपुर, मैढा कटानीका बस्तीहरूमा पनि बाढी पसेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले अविरल वर्षापछि उत्पन्न विपत्पछिको राहत र उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली खटिरहेको बताउनुभयो। नदीमा पानीको बहाव बढेकोले त्यसले प्रभाव पार्ने क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गर्नुभयो।

हेटौंडा संवाददाताका अनुसार मकवानपुरको भीमफेदीगाउँपालिका–८, इपाको पाखाटोलमा शनिबार बिहान करिब ६ बजे घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छन्। वर्षाका कारण घरमाथिको ढिस्कोबाट गएको पहिरोले घर भत्किँदा कृष्णबहादुर दानीकी ५५ वर्षीया पत्नी मिठु दानी पुरिएकी थिइन्। शनिबार बिहान पुरिएकी उनको समयमा उद्धार हुन नसक्दा घटनास्थलमा मृत्यु भएको हो।

नवलपरासी संवाददाताका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्ने पहाडस्थित विभिन्न ठाउँमा पहिरो गएर सडक भासिँदा यातायात अवरुद्ध भएको छ। दाउन्नेको खुर्सानी खोला, घिउखोलालगायतका आधा दर्जन ठाउँमा सडकमाथिबाट पहिरो खसेको छ भने एस मोडभन्दा करिब २ किमिमाथि सडक भासिएको छ। शुक्रबार रातिदेखि पहिरोका कारण सडक अवरुद्ध रहेकामा शनिबार बिहान सडक भासिएपछि थप जोखिम बढेको जिप्रका नवलपरासीले जनाएको छ। सडकको तल्लो भागबाट जाली लगाई माटोभरी सडक उठाए पछिमात्र सडक सुचारु हुन सक्ने सडक प्राविधिकहरूले बताएका छन्।

बाँधको ढोका खोल्न भारतलाई प्रस्ताव

काठमाडौं, (नेस)
नेपाल–भारतसँग सीमा क्षेत्रका बाँधको ढोका खोलेर तराईको डुबान समस्या समाधानमा सघाउन सरकारले भारतलाई आग्रह गरेको छ। सप्तकोसीसहित सीमावर्ती क्षेत्रका अन्य बाँधको ढोका खोल्न सरकारले आग्रह गरेको हो।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शनिबार नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई तराईको पछिल्लो डुबान समस्या अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘उहाँहरूबीच शनिबार पटक–पटक टेलिफोन संवाद भएको छ, संवादलगत्तै भारतीय राजदूतले बाँधका ढोका खोल्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ’ –मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईंले भन्नुभयो।

राजदूत पुरीले मन्त्री महरालाई बाँधको प्राकृतिक बहाव खुला गर्ने प्रक्रियाबारे आफ्नो मुलुकलाई अवगत गराएको जानकारी दिँदै सो प्रक्रिया अघि बढिसकेको बताउनुभएको थियो। यसअघि गृहमन्त्री जनार्दन शर्माले मन्त्री महरालाई कूटनीतिक पहलमार्फत् कोसी, गण्डकी, राप्ती, लक्ष्मणपुरलगायतका बाँधको ढोका खुलाउने प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्