डा. केसी झन् सिकिस्त, समर्थक सडकमा



 

नेपाल समाचारपत्र
काठमाडौं
चिकित्सा शिक्षा क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्ने उद्देश्यले २१ दिनदेखि अनशन बस्दै आउनुभएका प्रा.डा. गोविन्द केसीका समर्थकले शनिबार काठमाडौंसहित देशभर प्रदर्शन गरेका छन्।

डा. केसीका समर्थकले सो क्रममा डा. केसीको पक्षमा र सरकार नेता तथा सांसदहरूको विरुद्धमा नाराबाजी गरेका थिए।

सभामा सहभागीले डा. केसीले उठाएका माग निःसर्त रूपमा पूरा गर्नुपर्ने बताएका छन्। उनीहरूले सरकारले डा. केसीसँग विगतमा गरेका सम्झौतामा पटकपटक धोका दिएको भन्दै माग कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शनिबार डा. केसीका वार्ता टोली सदस्य र नागरिक समाजका अगुवाहरूबीच छलफल भएको थियो। छलफलमा नागरिक समाजका अगुवा दमननाथ ढुंगाना, कनकमणि दीक्षित, चरण प्रसाईंलगायतको सहभागिता रहेको वार्ता टोलीका सदस्य डा. सुमन आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिले शुक्रबार ‘चिकित्सा शिक्षा विधेयक २०७४’ पास गरेपछि अनशन स्थगित हुने अपेक्षा गरे पनि पनि डा. केसीले माथेमा प्रतिवेदनको मर्मअनुसार नआएको भन्दै अनशन जारी राख्ने बताउनुभएको छ।

विधेयकले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज सञ्चालनका लागि बाटो खुला गरिदिएपछि डा. केसीले असहमति जनाउनुभएको छ। विधेयक पारित भएसँगै सरकारले शुक्रबारै अनशन तोड्न आग्रह गरे पनि डा. केसीले आफ्नो माग सम्बोधन नभएको भन्दै अनशन जारी राख्ने बताउँदै आउनुभएको छ। डा. केसी काठमाडौं उपत्यकामा कम्तीमा १० वर्ष नयाँ मेडिकल सञ्चालन गर्न नहुने अडानमा हुनुहुन्छ।

चिकित्सा शिक्षा शुल्क एकरूपता, सहायक डीन नियुक्ति प्रक्रियालगायतका मागमा पनि सहमति जुट्न सकेको छैन। डा. केसीको माग पूरा गर्न दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले शुक्रबारबाट देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा बहिष्कार गर्ने निर्णय गरेका छन्। डा. केसीको स्वास्थ्य झन् गम्भीर भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्