वर्षाः पूर्वमा आज घट्ने, पश्चिममा भोलि



 

टीका बन्धन, काठमाडौं

पूर्वी र मध्य तराईका अधिकांश भेग जलमग्न भएका छन्। २४ घन्टाको अवधिमा अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा भएको छ। दाङको घोराही, बाँकेको कुसुम र आसपासको क्षेत्रमा २४ घन्टाको अवधिमा १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ।
सिमरामा सबैभन्दा बढी २ सय २७ मिलिमिटर वर्षा भएको छ। मौसमविद्हरूका अनुसार शनिबार घोराही, कुसुम आसपासका क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भएको छ। शुक्रबारयता पूर्वी र मध्य तराईका भेगमा औसतभन्दा बढी वर्षा भएपछि नदी र जलाधार क्षेत्रले खतराको तह पार गरेको मौसम विभागले जनाएको छ।

वर्षा सक्रिय गराउने प्रणाली (न्यून चापीय रेखा) भारतीय भू–भागबाट मुलुकको मध्य क्षेत्रको पहाडी भेगसम्म सरेकाले अहिले धेरै स्थानमा वर्षा भएको विभागले प्रष्ट्याएको छ। मनसुनको सामान्य अवस्थामा न्यून चापीय रेखा भारतको दिल्ली र कोलकाता आसपासमा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो। विराटनगर, जनकपुर, सिमरा, दाङ, नेपालगन्जलगायतका क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको उहाँले जानकारी दिनुभयो। ‘विराटनगरको मौसम तथा जलमापन केन्द्र शनिबार बिहानदेखि नै डुवानमा परेकाले त्यहाँको वास्तविक मौसमी सूचना अद्यावधिक गर्न समस्या भएको छ’ –रिमालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

२४ घन्टाको अवधिमा १ सय ४० मिलिमिटरभन्दा वा सोभन्दा बढी वर्षा भएमा मौसमविद्हरू औसत वर्षाको तह पार भएको बुझ्छन्। अविरल वर्षासँगै मुलुकका करिब १ दर्जनभन्दा बढी नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शुक्रबार र शनिबार बिहान सबेरैदेखि खतराको संकेतस्वरूप साइरन बजाइएको छ।

बबई नदीको चेपाङ, तुल्सीपुर, घोराही, अम्बापुर, पश्चिम राप्तीको कुसुम स्टेसनमा खतराको तह पार भएपछि साइरन बजाइएको हो। त्यसै गरी नारायणी नदीको पूर्वी भेगको राजाइया, माडी, गोविन्दवस्ती, झापाको सोक्तिम चिया बगान क्षेत्र भएर बहने कन्काई नदीमा पनि खतराको सूचकस्वरूप साइरन बजाइएको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

पश्चिम राप्ती, बबई, चितवनको रिउ र माडी तथा झापाको कन्काई नदीको तल्लो तटीय क्षेत्र र नदी किनारा आसपासमा बसोबास गर्ने करिब साढे ५ लाख व्यक्तिलाई मोबाइलमार्फत ‘मास एसएमएस’ पठाइएको विभागले जनाएको छ। नेपाल टेलिकम र एनसेल सीम प्रयोगकर्ता स्थानीयलाई सजग रहन र सुरक्षित स्थानमा स्थानान्तरण हुन एसएमएस सन्देश पठाइएको बाढी पूर्वानुमान शाखाका विज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो। बाग्मती, कमला, बबई, पश्चिम राप्ती, भेरीलगायतका नदी तटीय क्षेत्रमा जल बहाव बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन सूचना सम्प्रेषण गरिएको उहाँले बताउनुभयो।

यसैबीच मुलुकको पूर्वी भेगमा आज आइतबारदेखि वर्षा कमजोर रहेर मौसम क्रमशः सुधार हुने भएको छ। तर वर्षाको प्रभाव आइतबार मध्य भेगसहित, पश्चिम र सुदूरपश्चिमी क्षेत्रमा यथावत रहने मौसमविद् रिमालले जानकारी दिनुभयो। भोलि सोमबारदेखि भने मुलुकका अधिकांश भेगमा मनसुन कमजोर रहने र मौसममा सुधार आउने मौसमी गतिविधि विकास भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्