पुष्करलाल श्रेष्ठ

अस्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक उत्कृष्ट शहरमध्ये एक नम्बरमा पर्छ। भियनाले प्राप्त गरेको यो उपाधि लामो समयदेखि कुनै पनि युरोपका शहरले उछिन्न सकेका छैनन्। सम्भवतः यही कारणले होला यो स्तम्भकारलाई पनि जतिपटक भियना शहर घुमे पनि धीत मर्दैन।

चारपटक भियना शहर घुमिसकेपछि पाँचौंपटक यसको उत्कृष्टताबारे मात्र अध्ययन गर्न झन्डै डेढ महिना भियना बसेर हालै स्वदेश फर्केको छ, यो स्तम्भकार। पहिले पटक–पटक घुमेका न्युयोर्क, पेरिस, रोम, लन्डन, म्युनिख, एम्स्टरडम, ज्युरिख, कोपेनहेगन, ओस्लो, स्टकहोम आदि र यसपटक यीबाहेकका थुप्रै युरोपका शहर पुग्दा यस स्मम्भकारको ध्यान भियना शहरसँग तुलना गर्नुमै केन्द्रित हुन्थ्यो।


तर, स्थानीय बासिन्दाको रहनसहन, सामाजिक सुरक्षा, स्वच्छ वातावरण, परिवहन, आर्थिक हैसियत, शिक्षा, स्वास्थ्य र जीउ–धनको सुरक्षाको अवस्था हेर्दा भियनासँग युरोपका कुनै पनि शहरको तुलना नै नहुने देखियो। संसारका ठूला तथा नाम चलेका लन्डन, न्युयोर्क, मस्को, पेरिस, रोम आदि शहरहरू यसको छेउछाउमा पनि पुग्न सकिएका छैनन्। आतंकवादीहरूको निशानामा परेको कारणले पनि सुरक्षाको दृष्टिकोणले यी शहरहरूलाई भियनाले सजिलैसँग उछिनेको देखिन्छ।

यसपटक १ मे २०१७ मा भियनाको विशाल मजदुर र्यालीमा यस स्तम्भकारलाई पनि सहभागी हुने अवसर मिलेको थियो। र्यालीलाई सम्बोधन गर्न अस्ट्रियाका राष्ट्रपति अलेकजेन्डर भान विना कुनै अंगरक्षक त्यहाँ उपस्थित भएको देख्दा शुरूमा त यस स्तम्भकारलाई उनी नै अस्ट्रियाका राष्ट्रपति होलान् भनी पत्याउनै गाह्रो पर्यो। हजारौंको संख्यामा उपस्थित मजदुरहरूको अगाडि उनी साधारण मान्छेजस्तो सबैसँग गफ गरिरहेका थिए। भियना निवासी प्रभु श्रेष्ठसँग बुझ्दा यहाँका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू निशंकोच सार्वजनिक ट्रेनमा यात्रा गरी रेस्टुरेन्टहरूमा मजाले खाइरहेका हुन्छन् भन्ने कुराबाट पनि यहाँको सुरक्षा व्यवस्था कति मजबुत रहेछ भन्ने कुरा दर्साउँछ।

पहिलो र दोस्रो विश्वयुद्धमा ध्वस्त भएको भियना शहर यति चाँडै संसारको सबैभन्दा समृद्ध शहर बन्न सफल भएको बारे ४० वर्षदेखि भियनामा बस्दै आउनुभएका डा. हेमन्त राणा आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ– ‘सबैभन्दा ठूलो कुरो त यहाँका नेताहरूको राजनीतिक इमानदारिता, इच्छाशक्ति र दूरदृष्टिकोण नै हो। त्यसपछि यहाँका शिक्षित जनताको अुनशासन र सभ्यताले भियनालाई आज संसारको सबैभन्दा बस्नलायक शहर बनाइदिएको जस्तो लाग्छ।’

यसै विषयमा यस शहरमा झन्डै एक दशक बिताइसक्नुभएका साहित्यकार रुद्र चुडाल आफ्नो धारणा यसरी व्यक्त गर्नुहुन्छ– ‘यहाँ कानुनीरूपमा बसेका व्यक्तिलाई कानुनले बराबर मान्यता दिन्छ। को विदेशी र को स्वदेशी भनेर पनि छुट्याउँदैन। कानुनले सबैलाई बराबर अधिकार दिएको छ। सुरक्षा व्यवस्था अत्यन्त चुस्त छ, कसैको डर, त्रास र धम्कीले बाँच्नुपर्दैन। कहीँ–कतै सरकारी कार्यालयहरूमा काम परे घूस, भनसुनको चिन्ता लिइरहनुपर्दैन। यति भएपछि त भ्रष्टाचारको कुरै गर्नुपरेन।’

अस्ट्रियामा बसेको करिब तीन हप्तापछि बेलुकी ११ बजेतिर यस स्तम्भकार बसेको घरसँगैको चोकमा अफगानी शरणार्थीहरूले खुसीले हो वा किन हो, ८–१० पटक पटका पड्काएका थिए। भोलिपल्ट बिहान सबेरै भतिजा रिचार्ड श्रेष्ठले राति नै प्रहरी आएर पटका पड्काउनेहरूलाई समातेर लगिरहेको भिडियो देखाइदिए। सभ्यता पनि कतिसम्म भने, आइतबार बिदाको दिन छिमेकीलाई डिस्टर्ब होला भनी यहाँ आफ्नै घरभित्रसमेत ठूलो स्वरले बोलिँदो रहेनछ।

यति शान्त शहरमा केही समययता जर्मनीले निम्त्याएका द्वन्द्वग्रस्त सिरियाका शरणार्थीहरूसँगै नेपालीहरूसहित विभिन्न देशबाट मिसिएका लाखौं शरणार्थीलाई जर्मनी सरकारले बीच सीमामै रोकिदिएपछि भियनामा अड्केका ९० हजार शरणार्थी अहिले अस्ट्रियन सरकारका लागि ठूलो टाउको दुखाइको विषय बनिरहेको छ। यस स्तम्भकार १७ मे २०१७ मा चेक रिपब्लिक घुमेर भियना पुग्न मात्र १ मिनेट बाँकी छँदा हाम्रो गन्तव्यमा पुग्नुपर्ने ट्रेन स्टेसनमै शरणार्थीहरूले व्यवधान पुर्याएको भन्दै तीन घण्टा रेल स्टेसनमा भौंतारिन बाध्य हुनुपर्यो। जसले गर्दा बेलुकी ९ः३० मा घर पुगिसक्नुपर्ने हामी मध्यरात १ः१० बजे मात्र घर पुग्न सम्भव भयो।

यसै गरी बीस वर्षदेखि भियनामा बस्दै आउनुभएकी श्रीमती मीनु श्रेष्ठ भन्नुहुन्छ– ‘म बिहान ५ बजे उठेर अफिस गइसकेको हुन्छु। अहिले पो गर्मीयाम भएकाले ५ बजे नै उज्यालो भइसकेको हुन्छ। युरोपमा त झन्डै ७–८ महिना प्रायः यो समय अँध्यारै हुन्छ। तर केटी भएर पनि अहिलेसम्म मैले बाटोमा कुनै गुन्डा, अपराधी, बदमासहरूको सामना गर्नुपरेकी छैन। बिहान ४ बजेदेखि नै सार्वजनिक यातायातका सवारीहरू यथेष्ट मात्रामा चलिसकेका हुन्छन्। बढीमा दुई–तीन मिनेटभन्दा बढी बस, ट्रेन र ट्राम कुर्नुपरेको छैन। धेरै आनन्द छ, यहाँ। तर, कहिलेकाहीँ मुस्लिम शरणार्थीहरू ट्रेनमा देखें भने डरले उनीहरूसँग परै भाग्ने गरेकी छु।’

भियनाबारे २५ वर्षदेखि बस्दै आएका प्रभु श्रेष्ठको धारणा के छ त ?
उहाँ अरूभन्दा अझ हौसिएर भन्नुहुन्छ– ‘यहाँको हावापानी यति स्वच्छ छ कि मिल्ने भए खाना नखाईकन हावा नै खाइरहुँजस्तो लाग्छ। जुन कुरा तपाईंहरूले पनि आएकैपिच्छे अनुभव गर्नुभएको छ। भियनामा हामीले पिउने पानी अमृतजस्तै मीठो, स्वच्छ र सफा छ। यहाँको पानी संसारकै सबैभन्दा स्वच्छ पिउनयोग्य पानी हो। जता गए पनि धाराबाट सीधै पानी पिउन सकिन्छ।’

उहाँ गर्वका साथ भन्नुहुन्छ– ‘मैले यहाँ खानेपानीमा काम गर्ने एक जना सिनियर अस्ट्रियन इन्जिनियरलाई राम्ररी चिन्दछु। उहाँले मलाई सधैं भनिरहनुहुन्छ– अस्ट्रियामा लगातार ४२ वर्ष वर्षा नभए पनि जनतालाई काकाकूल हुन नपर्ने गरी पानीको भण्डारण गरिएको छ रे ⁄ म त सुन्दा अचम्मै भएको थिएँ।’

विगत ३८ वर्षदेखि भियनाको संयुक्त राष्ट्रसंघमा कार्यरत श्रीमती शुभ राणासँग सम्पर्क राखेर भियनाबारे जिज्ञासा राख्दा उहाँको यस्तो धारणा आयो– ‘यहाँको शैक्षिक प्रणाली र स्वास्थ्य व्यवस्था अत्यन्त वैज्ञानिक र व्यावहारिक छ। बच्चैदेखि मानिस शिक्षित, सभ्य र स्वस्थ भएको देशमा सरकारलाई काम गर्न धेरै बाधा–व्यवधान नै नहुने रहेछ। यहाँका नागरिकलाई राजनीतिप्रति कुनै वास्तै हुँदैन। कतिलाई त आफ्नो देशका राष्ट्रपति को हुन् भन्नेसमेत अत्तोपत्तो नहँुदो रहेछ। जनतालाई राजनीतिमा त्यति चासो नहुँदा हाम्रो देशमा जस्तो नेताको हा–हामा लागेर चक्का जाम, बन्द, हड्तालजस्ता कुरा नभएपछि खुरुखुरु विकास मात्र भइरहने रहेछ।’

यस्तो महसुस नेपालीलाई मात्र हुने गरेको छ कि विदेशीलाई पनि भनी २७ वर्षदेखि भियना बस्दै आएका बंगलादेशका मित्र मोनी अब्दुससँग भियनाबारे जिज्ञासा राख्दा उनी त झन् भियना छोडेर आफ्नो देश त के, कतै जानै मन नलागेको कुरा पो गर्छन्। भन्छन्– ‘संसारका मानिसहरू सुन्दर र सुरक्षित ठाउँ खोज्दै घुम्छन्। म संसारकै सबैभन्दा बस्नलायक एक नम्बरको शहरमा बसेर आनन्द लिइरहेको छु भने मलाई अन्त किन जानुपर्यो ?’

अब्दुस बोलिरहन्छन्– ‘यहाँ २६ वर्षको उमेरसम्म पढ्नलाई पैसा चाहिँदैन। पढिसकेर पनि पढाइअनुसार रोजगार नपाएसम्म सरकारले नै बेरोजगार भत्ता दिएर पाल्छ। क्षमताअनुसार रोजगारका लागि सरकारले नै उचित व्यवस्था गरिदिन्छ। यहाँ बसेदेखि अहिलेसम्म एक सेकेन्ड बत्ती निभेको थाहा छैन। यस्तो देश छोडेर रातदिन घृणित राजनीति भइरहने मेरो देश फर्कने कुरा म कल्पना पनि गर्न सक्दिनँ।’

करिब १९ लाख जनसंख्या भएको काठमाडौं उपत्यका जस्तै–जस्तै देखिने सानो भियना शहर हेर्न बर्सेनि संसारबाट झन्डै ७ लाख पर्यटकहरूको घुइँचो लाग्छ। भियनामा बसोबास गर्ने १९ लाख र थप ७ लाख पर्यटकहरूका लागि दैनिक १ लाख ४५ हजार यात्रु सहजै ओसार्ने व्यवस्थित ११ सय रेलवे स्टेसनहरू छन्। चार तल्लासम्मको भूमिगत रेल स्टेसनमा सडकबाटै अत्याधुनिक लिफ्ट र विद्युतीय भर्याङहरूको सुविधाले गर्दा भियनामा आधा मान्छेहरू त जमिनमुनि नै भइरहने रहेछ। सार्वजनिक यातायातको अत्यन्त राम्रो व्यवस्था र भाडा पनि सस्तो छ। यहाँ सवारीसाधन किन्न अत्यन्त सस्तो भए तापनि मानिसहरू सार्वजनिक सवारी प्रयोग गर्नमै बढी सुविधाजनक र सुरक्षित ठान्दा रहेछन्। वर्षभरिको टिकट किन्दा बस, ट्राम र ट्रेनको दैनिक मात्र १ युरोमा सफर गर्न सकिँदो रहेछ। ट्राफिक र पार्किङको कुनै झन्झट नहुने भएकाले धनी मानिसहरूसमेत भियनामा सकेसम्म सार्वजनिक सवारीसाधन नै प्रयोग गर्न रुचाउँछन्।

युरोपेलीहरूको समेत सपनाको शहरका रूपमा लिइने भियना युरोपको मध्यभागमा रहेकाले पनि व्यापारको दृष्टिकोणले समेत युरोपका ठूला–ठूला व्यापारीहरू यो शहरबाट आकर्षित भएका रहेछन्। अझ जर्मनीको बर्लिन पर्खाल भत्केपछि त झन् यो शहरको भाग्य नै चम्किएको रहेछ। जर्मनीका मर्सिडिज बेन्चकार, बीएमडब्ल्यूलगायत युरोपका धेरै ठूला कम्पनीका कारखानाहरू अहिले भियनामा देख्न सकिन्छ। यो शहरबाट मात्र १ घण्टा गाडी चढेर स्लोभाकियाको राजधानी ब्राटिस्लाभ पुग्न सकिन्छ। कुनै दुई देशका यी दुई शहर विश्वकै सबैभन्दा नजिकको राजधानी पनि हो। भियनाबाट मात्र चार घण्टा रेल चढेर हामी जर्मनीको म्युनिख, चेक गणराज्यको राजधानी प्राग र हंगेरीको राजधानी बुडापेस्ट पुग्न सक्छौं।

विश्वप्रसिद्ध संगीतकारहरू मोजार्ट, हेडन, लुढविग वैन, ब्राम्स मल्हर र रबर्टजस्ता संगीतज्ञ जन्मेका अस्ट्रियाको राजधानी भियनालाई युरोपको सांगीतिक शहर पनि भन्दा रहेछन्। यहाँ बर्सेनि संसारभरका प्रख्यात सांगीतिक ब्यान्डदेखि लिएर अपेराहरू पनि प्रदर्शन भइरहेका हुन्छन्। यस स्तम्भकारलाई समेत यसपटक चीनको विश्वप्रसिद्ध ओपेरासहित पहिले आउँदा पनि थुप्रै सांगीतिक कार्यक्रमहरू हेर्ने अवसर प्राप्त भइसकेको छ।

इसापूर्व ५ सयवर्षअघिदेखि नै विकासको क्रम शुरू भइसकेको भियनामा क्याथोलिक धर्म मान्नेहरूको बाहुल्यता रहे पनि थोरै प्रतिशत बुद्ध, हिन्दु धर्म मान्नेहरू पनि छन्। सायद जर्मनी भाषा बोल्ने भएकाले होला, अस्ट्रियाको राजधानी भियनालाई पनि यहाँका मानिसहरू जर्मनी शब्द विन भनेर सम्बोधन गर्छन्। शहरको बीच भागबाट बगिरहने दुनाउ नदी भियनाको अर्को ठूलो आकर्षण हो। जर्मनीबाट बग्न शुरू हुने २ हजार ८ सय किलोमिटर लामो यो नदी भएर युरोपका दशवटा मुलुकहरूको भ्रमण गर्न सकिन्छ। जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोएसिया, सर्विया, बुल्गेरिया, रोमानिया माल्दोभा, युक्रेन हुँदै यो नदी अन्त्यमा ब्ल्याक सीमा गएर विसर्जन हुन्छ।

भियनाका बारेमा जति वर्णन गरे पनि पुग्दैन। तेस्रोचोटि अस्ट्रियाको एउटा अन्यन्त सुन्दर शहर साल्जबर्ग बसेर फर्केपछि यसको सुन्दरता देखेर प्रभावित हुँदै यस स्तम्भकारले मिति २०६० फागुन २ गते शनिबारका दिन यही पत्रिकामा यो शहरलाई ‘जिउँदै स्वर्गको अनुभूति हुने शहर’ भनी पूरा पृष्ठको एउटा लेख नै प्रकाशित गरेको थियो। धेरैलाई सायद यो कुरा नपच्न सक्छ, युरोपका धेरै शहर घुमिसकेको थाहा पाएपछि बेल्जियममा यस स्तम्भकारलाई एक जना शुभचिन्तकले सोधेका थिए– ‘पुष्करजी, तपाईंलाई युरोप कस्तो लाग्यो त ?

सबैभन्दा कुन शहरबाट तपाईं प्रभावित हुनु भो ?’ यस स्तम्भकारको ‘नेपालमा मान्छे भएर जन्मनुभन्दा त भियनामा कुकुर भएर जन्मन पाएको भए अझ धेरै भाग्यमानी हुने रहेछ’ भन्ने जवाफ सुनेर उपस्थित सबै गललल हाँसेका थिए।

मानव जीवनका लागि न्यूनतम आधारभूत कुराहरू जस्तो स्वच्छ हावा, पानी, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रदूषणरहित शहर, हरियाली, सुरक्षा, कानुनी राजदेखि भ्रष्टाचाररहित मुलुकको प्रतिस्पर्धामा यसले संसारका सबै देशलाई उछिन्न सकेकै कारण आज भियना विश्वकै एक नम्बर शहर बनेको कुरा यसपटकको भियना अध्ययन भ्रमणले सावित गरेको छ।

1 COMMENT

  1. यात्रा वृतान्त अत्यन्त रोचक लाग्याे, सटीक शब्द र शालीन प्रस्तुतिकरणले लेखले मन छाेयाे । भियनाबारे यति नजिकबाट बुझ्न सक्ने गरी भियनाकाे अनुभूति सर्वसाधारणमा बाँड्नु भएकाेमा पुष्कर सरलार्इ धेरै धेरै धन्यवाद ।

LEAVE A REPLY