रुपन्देही जिससमा एमाले–फोरम गठबन्धन विजयी



 

बुटवल, २८ साउन । जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।

जिससको आज भएको निर्वाचनमा प्रमुखमा एमाले–फोरम गठबन्धनका एकराज विश्वकर्मा (एमाले) र उपप्रमुखमा पनि गठबन्धनकै पशुपतिप्रसाद यादव (फोरम) विजयी हुनुभएको छ ।

प्रमुखमा विश्वकर्माले २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनका विष्णुप्रसाद बस्यालले ५ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै उपप्रमुखमा फोरम नेपालका यादवले २४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस–माओवादी गठबन्धनका सदावृक्ष तेलीले ८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै जितेको छ । जिल्ला समन्वय समितिको महिला सदस्यमा जमुना लम्साल, ज्ञानु विक र सरोजा कुमारी बढई निर्वाचित हुनु भएको छ । यस्तै दलित तथा अल्पसंख्यक सदस्यमा फोरम नेपालका छोटे चमार, खुल्ला सदस्यमा एमालेका तर्फबाट कविराम अर्याल र खेमप्रसाद लुईंटेलले, फोरम नेपालका रियाज अहमद बिजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

विजयी प्रमुख, उपप्रमुख तथा सदस्यले आजै शपथ लिएका छन् । रुपन्देहीमा १६ स्थानीय तहका ३२ प्रतिनिधिले मतदान गरेका थिए । त्यसमध्ये पाँच महिला सदस्य, तीन खुल्ला सदस्य र दुई दलित सदस्यमा मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्