झापामा पनि चारको मुत्यु, तीन वेपत्ता



भद्रपुर (ने.स) । तीनदिन देखि परेको अबिरल बर्षाले झापा जिल्लाको जनजिवन अस्तव्यस्त बनेका छन् । झापामा अहिले सम्म चार जनाले ज्यान गुमाइसकेका छन् भने, तीन जना वेपत्ता रहेको झापा प्रहरीले जनाएको छ ।
मुत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २८ बर्षिय लेखनाथ पाण्डे, कचनकवल गाउपालिका ३ बस्ने २२ बर्षिय रामप्रसाद राजवंशी, झापा गाउपालिका २ बस्ने अन्दाजी ३५ बर्षिय धनमाया घोर्षानी र सोही गाउपालिका २ बस्ने अन्दाजी ३४ बर्षिय कमला दर्लामीको मुत्यु भएको हो ।

मृतक कमलाको श्रीमान टेकबहादुर र छोरी खुशी दर्लामी बेपत्ता भएको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै मृतक धनमायाको छोरी अन्दाजी १५ बर्षिय कमला घोर्षानी पनि वेपत्ता भएको र उनलाई कनकाई नदीले बगाएको हो । वेपत्ता भएका तीनै जनाको खोजी कार्य भइरहेको डिएसपी शर्माले जानकारी दिनुभयो ।

झापामा बाढीले भद्रपुर, शिवसताक्षी, विर्तामोड, गौरीगञ्ज, झापा, बाह्दशी, र कचनकवल क्षेत्रका बासिन्दा बढी प्रभावित बनेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा विपद व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार अहिले सम्म ११ सय ६९ घरपरिवार बाढीले विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । १२ सय ४९ घरमा डुवानमा परेको छ ।

३ घर पूर्ण रुपमा क्षति भएको छ भने, ११ सय ६६ घरमा आशिक क्षति पुगेको जनाएको छ । मेची नदीले झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीकिनारमा ६० घर डुबानमा परेको छ । भद्रपुर ३ स्थित मेचीपारी र भैसावाडीमा ३ सय बढी घर डुबानमा परेका छन् । कनकाई नदीमा आएको बाढीले झापा गाउपालिका २ का सम्पूर्ण वडा र वडा १, ३ र ६ का १५० घर डुबानमा परेका छन ।

गौरीगञ्ज १ र २ का ३ सय बढी घर डुबानमा परेका छन् । वाह्दशी १ र २ का दुई सय घर डुबानमा परेका छन् । त्यस्तै कचनकवल ४ मा १ सय ६७ घर डुबानमा परेका छन् । झापामा बर्षा जारी रहेकोले झापामा उद्धार कार्यमा समस्या आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्