झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु



 

बनियानी (झापा), २८ साउन । झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका– २ कै कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कनकाई नदीले बगाएको छ । नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता, शिवसताक्षी– १ धरमपुरका २८ वर्षीय विजय पाण्डेलाई झिलझिले खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशक्त प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणले बेपत्ताको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्