ऐश्वर्यमा खुले रमेश



लामो समयको अन्तरालपछि आप्mनै निर्माणको फिल्ममा देखिन लागेका नायक रमेश उप्रेती आगामी कात्तिक २ गते अल नेपाल रिलिज हुन लागेको ऐश्वर्यमा खुलेका छन्। शुक्रबार राजधानीमा आयोजित ऐश्वर्यको पोस्टर तथा गीत रिलीजमा रमेश खुलेका हुन्।

फिल्मकर्मीका माझ सार्वजनिक गरिएको तिमी रोएको पल बोलको गीतको भिडीयोमा रमेश आकर्षक रुपमा प्रस्तुत भएका छन्। सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको छ भने रमेश र नवनायिका दीपीका प्रसाईंको जोडी जमेको छ।

हिमाली भेगको आकर्षक र मनोरम क्षेत्रमा खिचिएको सार्वजनिक पहिलो गीतको भिडियोले नै रमेशको ऐश्वर्यको चर्चा बढेको छ। वैष्णुदेवी फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई नव निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन् भने लेखन पनि उनकै रहेको छ। रमेश पत्नी किरण राणा उप्रेती र अर्जुन श्रेष्ठले निर्माण गरेको फिल्ममा सह निर्माता निर्मल शर्मा रहेका छन्। कार्यक्रममा बोल्दै नायक उप्रेतीले लामो समयको प्रयासपछि फिल्म निर्माण गरेको र फिल्मको रिलिजलाई लिएर उत्साहित रहेको बताए।

‘जब म फिल्मबाट टाढा रहेर भिन्न किसिमको जीवन जीउँछु भनेर आफ्नो देश छोडेर विदेश (अमेरिका) गएँ, नेपाल नफर्किउन्जेल कहिल्यै पनि खुसी हुन सकिनँ। आज सबैको सहयोगमा फिल्म ऐश्वर्यमार्फत आउन पाउँदा निकै खुसी छुु’ –उनले भने।

डेब्यु नायिका दीपीका प्रसाईंले आफ्नो भूमिका एक आत्मनिर्भर युवतीको रहेको र आफूले फिल्ममा सक्दो मेहनत गरेको बताइन्। निर्देशक भट्टराईले आफूलाई विश्वास गरेर फिल्म सुम्पिएकोमा आभार प्रकट गरे। ‘मैले यस फिल्ममा आफूले सक्दो मेहनत गरेर राम्रो आउटपुट दिन खोजेको छुु’ –उनले भने। मोडल तथा कलाकार प्रशान्त ताम्राकारले ऐश्वर्यमा नकरात्मक भूमिकामा प्रस्तुत भएको खुलाउँदै फिल्म राम्रो बनेको दाबी गरे।

गायक तथा संगीतकार अर्जुन पोखरेलले दिवाकर भट्टराईसँगको सहकार्य सफल हुने आशा व्यक्त गरे। ‘रमेश दाइहरुकै फिल्मका गीत गुनगुनाउँदै सुगम संगीतमा लागेर जीवन अगाडि बढाइरहेका बेला यसमा फिल्ममा पनि काम गर्ने मौका पाएको छु, गीतकार पनि म आफैं हु’ –उनले भने।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै हास्य अभिनेता जितु नेपालले फिल्म क्षेत्रमा देखिएका विकृति र विसंगतिप्रति कटाक्ष गरे। उनले सामान्य सफल फिल्मलाई असाधारणरुपमा सफलता प्राप्त गरेको हौवा मचाइने चलनप्रति तीखो व्यंग्य गर्दा सबैले ताली पिटे। ‘वास्तवमा फिल्म लागेको एक हप्तामा मात्र फिल्मको व्यापारको बारेमा थाहा हुन्छ।

तर अहिले शुक्रबार हलमा लागेको फिल्मलाई त्यही दिन नै मेरो फिल्मले यति कमायो भनेर दर्शकको भिडमा हिरोको फोटो खिचेर देखाउने गरिन्छ। जो निर्माताकै पत्नीले पनि पत्याउँदैनन्’ उनले व्यंग्य गर्दै भने, ‘यसले गर्दा निर्मातालाई नै असर परिरहेको हुन्छ। फिल्म क्षेत्रलाई नै असर परिरहेको हुन्छ। अंगालो अंगालोमा र पुजामा रमेशसँगै काम गरेको स्मरण गर्दै जितुले अहिले फिल्मको कथा लेखन र नयाँ पात्रहरुको सिर्जनाले गर्दा हास्य कलाकारहरु पनि हिरो बन्न सकेको चर्चासमेत गरे।

क्याप्टेन विकास राणाले फिल्मको गीत फिल्म हिट हुनका लागि कोसे ढुंगा सावित हुने दाबी गरे भने अभिनेत्री तथा निर्मत्री करिश्मा मानन्धरले फिल्मको लागि धेरै गर्न बाँकी भएको बताइन्। ‘अमेरीका हुँदा रमेशको नेपाली फिल्मप्रतिको हंगर देख्दा म अचम्मित हुन्थँ। अहिले फिल्म बनेको छ, ‘शुभ कामना’ उनले भनिन्।

हास्य अभिनेता तथा निर्माता दिपकराज गिरीले फिल्मको टाइटल राम्रो रहेको बताए। ‘हामी फिल्म निर्माताले आत्मविश्वासको शिकार बन्नुहुँदैन। छक्कापञ्जा २ का लागि म पनि एकदम डराइरहेको छु। जसरी अविवाहित मान्छेको पुत्री वा पुत्र हुँदैन फिल्म चल्ने पनि कुनै सूत्र हुँदैन’ –उनले ठट्यौली शैलीमा भने।

केकी अधिकारी केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुन जंग शाही, विकास खतिवडा, सुनिता ठाकुर, अमित पोखरेल, कृष्ण खतिवडालगायतसमेत मूख्य कलाकार रहेको फिल्ममा रामजी लामिछाने, एन्जिला खत्री तथा तेन्जु योञ्जनको कोरियोग्राफी, सुदिप बरालको छायांकन, दीर्घ खड्काको सम्पादन तथा हिमाल केसीको द्वन्द्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्