कर्णालीको चिहानमा के छ ?



ज्ञानमणि नेपाल कालोटोपी
मानिसको मृत्युपछि शव गाडिएको स्थानलाई चिहान भनिन्छ। तर साहित्यकार, बुद्धिजीवी तथा अन्य बौधिकवर्गले यसको अर्थ त्यतिमा मात्र सीमित राख्दैनन्। उनीहरु अभाव, समस्या र जटिलताबीच घिटी–घिटी भएर बाँच्नुलाई पनि चिहानको उपनाम दिन्छन्। हो, यस्तै समस्याको प्रधानतालाई उठान गर्दै यसपटक युवा साहित्यकार योगलाल गौतम ‘कर्णालीको चिहान’ लिएर आएका छन्।

गौतमको यो निबन्धनात्मक कृति हो। थोरैले कलम चलाउने गरेको निबन्ध विधालाई उनले भने निकै घतलाग्दो पारामा प्रस्तुत गरेका छन्। यस संग्रहमा ३५ वटा निबन्ध अटाइएका छन्। सबैजसो निबन्धमा समस्याको उठान गरिएको छ भने कतिपयमा व्यङ्ग्य पनि पाइन्छ। विचारलाई निकै प्रधानता बनाइएका निबन्धहरु आफैंमा उत्कृष्ट बनेका छन्।

मान्छे सधैँ अस्थायी छ। ऊ कहिल्यै स्थायी हुन सकेको छैन तर पनि भन्छ– मैले स्थायी जागिर खाएको छु। त्यही मान्छे जागिर नै नखानेलाई र पैसा नकमाउनेलाई निकै हेप्छ। हेप्दाहेप्दै ऊ मर्छ। अनि जागिरको स्थायित्व खै त ? यो मान्छेको घमण्डीपन हो। योगलालले ‘नजन्मिएको मान्छे’ मा यसै भनेका छन्।

उनको प्रतिनिधि निबन्ध ‘कर्णालीको चिहान’ मा भनेका छन्– सयौं राजनीतिक नेताहरुले यहाँका समस्यामाथि राजनीति गरेर निकै योजना पारे कर्णालीमा तर ती कहिल्यै पूरा हुन पाएनन्। ती योजनाले नेताहरुका महल ठडिए। प्रत्येक चुनावमा आश्वासनका पोका बाँडे नेताहरुले तर कर्णालीमा कहिल्यै विकास भएन। न यहाँका जनताले कुनै सुविधा नै पाए ? बाँचेरै पनि जिउँदै मरिरहेका छन् उनीहरु।

नेताहरुका भोट बाकसमा कैद भएसँगै जनताबीचको निकटता बिस्तारै दूर बन्दै आएकाले कर्णाली सधैँ समस्यामै अल्झिएको लेखकको बुझाइ छ। कर्णालीलाई अघि सारे पनि उनका निबन्धहरुमा समग्र नेपाल र नेपालीहरुका समस्या पोखिएका छन्, अभाव र अप्ठ्याराहरु देखिएका छन्। विकृति–विसंगतिहरु ऐनाजत्तिकै प्रस्ट छन्।

मान्छेको स्थायी भनेको जन्मपछि मृत्यु नै हो भन्ने देखाउनु पनि गौतमको उद्देश्य रहेको देखिन्छ। भाषाशैली र प्रस्तुतीकरण निकै मीठो र सरल अनि बुझ्न सकिने खालको छ। संग्रहभित्रका निबन्धमध्ये पृथ्वीको टीका, क्रिमको गाला, कर्णालीको चिहान, नजन्मिएको मान्छे, बन्दुकको दलिन आदि उत्कृष्ट छन्। स्वदेश प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको कर्णालीको चिहानलाई २२५ रुपियाँमा किन्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्