बन्जीजम्प निर्माण कार्य अन्तिम चरणमा



दुर्गाप्रसाद शर्मा, पर्वत
साहसिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको लगानीमा पर्वतमा निर्माणाधीन अवस्थामा रहेको मुलुककै नमुना बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकास्थित साविकको नारायणस्थान गाविस जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी सञ्चालन गर्न लागेको हो। बन्जीजम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टिप्रपोज प्रालिले आफ्नै लगानीमा शुरू गरेको काम झन्डै ६० प्रतिशत सम्पन्न भएको छ।

कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५ सय ३५ मिटर लम्बाइ र २ सय २५ मिटर उचाइको पुल निर्माण गर्न लागिएको हो। उक्त पुलको दुवैपट्टिको भाग सम्पन्न भइसकेको छ भने अब लठ्ठा टाँग्ने काम मात्रै बाँकी रहेको छ। दुवैतर्फका फाउन्डेशनको काम सम्पन्न भएको र अब लठ्ठा टाँगेपछि आगामी मंसिरसम्म बन्जीजम्प सञ्चालन गरिसक्ने लक्ष्य लिइएको छ। दशैं अगावै सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि केही ढिला हुने भएको प्र्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो।

सो बन्जीजम्प पुल विश्वकै दोस्रो अग्लो पुल हुने कार्कीले बताउनुभयो। कम्पनीले बन्जी खेल्न आउने पर्यटकका लागि बलेवातर्फको भागमा रिसोर्टसमेत निर्माण शुरू गरेको छ। यसका लागि पर्वतको कुश्मा बजारको छेउमा बन्जी पुल निर्माणका लागि चार आना र रिसोर्ट निर्माणका लागि बागलुङ क्षेत्रको नारायण स्थानमा १६ रोपनी जग्गा गतवर्ष नै खरिद गरिसकेको थियो। बन्जी खेल विश्वकै साहसिक खेल भएकाले त्यसको प्रवद्र्धनका लागि कालीगण्डकी नदीमाथिको भेग अति उत्तम भएकाले पुल निर्माणको कामलाई अगाडि बढाइएको कार्कीले बताउनुभयो। ‘शुरूमा पुल र अन्य भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइएको छ। पुल सञ्चालन हुने बित्तिकै बन्जीजम्प शुरू हुन्छ।’ –उहाँले भन्नुभयो।

बन्जीजम्प निर्माण गर्न थालिएको ठाउँ बलेवा एयरपोर्टनजिकै भएकाले पुल निर्माणले एयरपोर्ट सञ्चालनमा समेत सहजता आउने स्थानीयले आशा गरेका छन्। बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ–बुटवलसँग सीधा यातायातका लागि कालीगण्डकी करिडोर, पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माणसमेत भइसकेको छ।

नेपालका अन्य ठाउँमा निर्माण गरिएका बन्जीजम्पमा आन्तरिक तथा बा≈य पर्यटकहरूको चहलपहल बढी नै भएकाले पर्वतमा निर्माण गरिने बन्जीजम्पमा पर्यटकहरू आकर्षित हुने कम्पनीका सञ्चालक युवराज जोशीले बताउनुभयो। कुश्मा बलेवा क्षेत्रको पर्यटन विकासका लागि यसअगाडि सोही ठाउँमा यान्त्रिक पुल, कुश्मा–बलेवा जोड्ने झोलु·ेपुल, बलेवा विमानस्थल सञ्चालनका लागि पहल, बलेवाको भैरवस्थान मन्दिरको व्यवस्थापनका काम पनि भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्