व्यापारघाटा कम गर्ने वाणिज्य मन्त्रीको प्रतिबद्धता



काठमाडौं, (नेस)
वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले व्यापार घाटा कम गर्न र निर्यातलाई सहजीकरण गर्न वाणिज्य मन्त्रालयले चाँडै नै सबै सरोकालवालासँग बसेर छलफल गर्ने बताउनुभएको छ।

व्यापार घाटा बढिरहेको समयलाई मध्यनजर गर्दै उहाँले सो कुरा बताउनुभएको हो। राष्ट्रिय व्यापार संघको सातौं महाधिवेशन तथा १३औं वार्षिक साधारण सभामा मन्त्री विश्वकर्माले व्यापार घाटा कम गर्न पहल गर्नुपर्ने बताउनुभयो।

मन्त्री विश्वकर्माले व्यापारीहरूलाई कर तिर्ने सवालमा इमानदार बन्न पनि आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘व्यावसायीहरूलाई कर तिर्ने सवालमा बाध्य भएर नभई रहरले कर तिर्नुपर्ने सोच विकास हुनुपर्दछ।’

व्यापार घाटा कम गर्न स्थानीयस्तरमा उत्पादन हुने दैनिक उपभोग्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै मन्त्री विश्वकर्माले रोजगारीका लागि विदेशिने युवा जनशक्तिलाई परिचालन गर्न सके आयत घट्ने र निर्यात बढ्ने धारणा राख्नुभयो।

राज्यले व्यावसायीलाई नियन्त्रण नभएर व्यवस्थापन र नियमन मात्रै गर्ने भन्दै मन्त्री विश्वकर्माले बढ्दो व्यापार घाटालाई कम गर्न व्यवसायीहरूले व्यापारभन्दा माथि उठेर उद्योगमा लगानी गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

बन्द रहेको तातोपानी नाका खोल्ने तथा रसुवागढी नाकालाई स्तरोन्नति गर्नेका लागि आफूले पहल गरिरहेको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो।

सो अवसरमा नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष राजेन्द्र मल्लले काला बजारी ऐन समय सुहाउँदो नभएको उल्लेख गर्दै यसलाई समयसापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।

सभामा न्युरोड करदाता कार्यालयका प्रमुख मुक्तिराम आचार्यले व्यावसायीहरूले स्वेच्छाले कर तिनुपर्ने पर्न वातावरण विकास हुनुपर्ने खाँचो औंल्याउनुभयो।

महाधिवेशनले युवराज न्यौपानेको अध्यक्षमा २५ सदस्यीय कार्य समिति चयन गरेको छ। कार्यसमितिमा प्रथम उपाध्यक्षमा शिवमन्दिल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा चिरञ्जीवी पौडेल, तृतीय उपाध्यक्षयमा हिमलाल खनाल र महासचिवमा वैकुण्ठ दाहाल रहनुभएको छ

प्रतिक्रिया दिनुहोस्