दूध संकलनमा कमी



यमलाल भुसाल, बुटवल
साउन महिना शुरूसँगै लुम्बिनी दुग्ध वितरण आयोजनामा दूध संकलनमा कमी भएको छ। दैनिक १५ हजार लिटर दूधको माग रहेकामा जम्मा ६ हजार लिटर मात्र दूध संकलन हुने गरेको छ।

आवश्यकताभन्दा कम दूध संकलन हुन थालेपछि आयोजनाले पूर्वको विराटनगर र हेटौंडाबाट बुटवलमा दूध ल्याएर आवश्यकताको परिपूर्ति गर्ने गरेको आयोजनाका प्रमुख गोविन्द्रराज जोशीले बताउनुभयो।

बुटवलमा विराटनगर र हेटौंडाबाट दूध ल्याएर संकलन गर्नुपर्दा ढुवानीका कारण लागत बढ्ने गरेको छ। साउन महिना शुरूसँगै नेपालमा दूध संकलनमा कमी हुने गरेको छ। वर्षात् समयमा नहुँदा घाँस उत्पादन ढिलो हुने हुँदा यो समस्या उत्पन्न भएको आयोजनाले जनाएको छ।

बुटवलमा रहेको लुम्बिनी दूग्ध वितरण आयोजनामा रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाबाट दूध संकलन हुने गरेको छ। आयोजनाले गुल्मी अर्घाखाँची र प्युठान जिल्लामा उत्पादन हुने दूध संकलन गर्न साधन स्रोतको अभाव देखाउँदै संकलन गर्न सकिरहेको छैन।

ती ३ जिल्लामा उत्पादन भएको दूध बुटवलसम्म ल्याउन आयोजनालाई दूध चिस्याउने चिलिङ भ्याट र स्टोरेज टंैकरको अभाव रहेको आयोजनाका प्रमुख जोशीले बताउनुभयो।

गुल्मी, अर्घाखाँची र प्युठानबाट दूध संकलन गर्नका लागि आवश्यक साधन खरिदका लागि पशुपक्षी विकास मन्त्रालयमा ४ करोड ४३ लाख रुपियाँ माग गरिएकामा अहिलेसम्म उपलब्ध हुन नसक्दा समस्या भोग्नुपरेको आयोजनाले जनाएको छ।

आवश्यक साधन स्रोत भएमा आयोजनालाई आवश्यक पर्ने दूध पनि संकलन हुने तथा किसानले राहत पाउने र मिल्क होलिडेको समस्यासमेत समाधान हुने दाबी आयोजनाका प्रमुख जोशीले बताउनुभयो। अन्य समयमा भने प्रतिदिन ४० हजार लिटरसम्म दूध संकलन हुने र आयोजनामा केबल २२ हजार लिटरको मात्र भण्डारको क्षमता रहेकाले समस्या रहेको समेत प्रमुख जोशीले बताउनुभयो।

नेपालभर रहेका दुग्ध वितरण आयोजनाले आर्थिक वर्ष २०७३÷०७४ मा १४ करोड रुपियाँ नाफा गरे तापनि बुटवलको आयोजनालाई साधन स्रोतले सम्पन्न गर्न आवश्यक करिब साढे ४ करोड रुपियाँ उपलब्ध नहुँदा किसानको दूध संकलन गर्न समस्या भएको बताइएको छ।

दुग्ध वितरण आयोजना संस्थानअन्तर्गत रहेकाले सरकारी सहयोग र दातृ निकायको समेत सहयोग नहुँदा आयोजनाले सोचेअनुरुप काम गर्न सकिरहेको छैन। सरकारले आवश्यक आर्थिक सहयोग गरी दिएमा किसानको दूध पनि संकलन हुने उपभोतmालाई आवश्यक पर्ने दूध पनि उपलब्ध गराउन सकिन र मिल्क होलिडेको समस्या पनि समाधान हुने दाबी आयोजना प्रमुख जोशीको रहेको छ।

आयोजनाले जिल्लाका दुग्ध सहकारी संस्था, पशु फार्म र सीधै दूध उत्पादन गर्ने किसानसँगबाट दूध खरिद गर्ने गर्दछ। दुग्ध सहकारी संस्था र पशु फार्म नभएको स्थानका किसानको दूध आयोजनाले सीधै संकलन गर्ने गरेको छ। विसं २०४६ भाद्र १२ गतेदेखि बुटवलमा आयोजना सञ्चालनमा रहेता पनि आवश्यक भण्डारणको अभावले आयोजनाले सोचेअनुरुप काम गर्न सकिरहेको छैन।

सरकारको ग्यारेन्टी दुग्ध उत्पादक सहकारी, पशुफार्म र किसानलाई हरेक १५ पन्ध्र दिनमा दूधको भुक्तानी बैंकमार्फत उपलब्ध गराउँदै आएको आयोजना राम्रो पक्ष मानिन्छ।

प्रतिक्रिया दिनुहोस्