दोलखाको उच्च भेगका चौंरी पालन व्यवसायमा



चिरञ्जीवी मास्के, दोलखा
उब्जनी कम हुने उच्च हिमाली भेगका बासिन्दाको लागि चौंरी पालन व्यवसाय आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ। मौसमअनुसारको खेती गरेर वर्षभरि खान नपुग्ने दोलखाको कालिञ्चोक, विगु, गौरीशङ्कर र शैलुङ गाउँपालिकाका किसानहरू अहिले चौंरी पालन व्यावसायबाट राम्रो आम्दानी गर्न थालेका छन्।

दोलखा कालिञ्चोक गाउँपालिकाको मिङडोल्मा शेर्पा लेकमा खासै अरू काम नहुने भएकाले चौंरी पालेर नै जीविकोपार्जन गरिरहेको जानकारी दिनुभयो। २९ ओटा चौंरी पाल्नुभएको उहाँले चौंरीको दूधबाट बनेको चिज, छुर्पी, घ्युलगायत विक्री गरेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो। ‘चौंरी व्यवसायमा दुःख त धेरै हुन्छ तर परिवारको गुजारा गर्न पुग्ने आम्दानी हुने भएकाले दुःख हुन्छ भन्ने कुरामा कुनै गुनासो छैन।’ –मिङडोल्माले भन्नुभयो। चौंरी व्यावसायलाई नै निरन्तरता दिइरहने बताउँदै मिङडोल्मा सरकारले यसमा सहयोग गर्नुपर्ने बताउनुभयो।

कालिञ्चोक गाउँपालिकाकै विमला मगरले पनि व्यावसायिकरुपमा चौंरी पाल्न थालेको निक्कै लामो समय भइसकेको छ। २४ ओटा चौंरीका धनी विमला रोजगारीका लागि अन्यत्र भौंतारिनुभन्दा आफ्नो ठाउँअनुसारको व्यावसायबाट मनग्य आम्दानी गर्न सक्नु नै व्यावसायिक खुबी भएको धारणा राख्नुभयो। उहाँले भन्नुभयो– ‘विदेश गएर दुःख गर्न सक्नेले नेपालमै बसेर जाँगर गर्ने हो भने मासिक ५० हजार कमाउन कुनै समस्या हुँदैन।’ वार्षिक ४÷५ लाख रुपियाँ कमाइ गर्ने विमलालाई चौंरी व्यवसायबाट घर व्यवहार चलाउन र बालबच्चा पढाउन सहज भएको छ।

कालिञ्चोक गाउँपालिकाकी पार्वती थामीको जीविकोपार्जनको स्रोत पनि चौंरी व्यवसाय नै हो। चौंरी पालनबाट नै पारिवारिक खर्च चलाउँदै आउनुभएकी पार्वती आफूले मिहेनतअनुसार आम्दानी गर्न सकेकामा सन्तुष्ट रहेको बताउनुभयो।

चौंरी व्यावसाय आम्दानीको राम्रो स्रोत हो पार्वतीले भन्नुभयो– ‘सरकारले चौंरी व्यवसायीका लागि खर्कको व्यवस्था र चौंरीबाट उत्पादन हुने वस्तु विक्री गर्न बजारको व्यवस्थापन गरिदिने हो भने यसले निरन्तर राम्रो आम्दानी गर्न सक्छ।’

दोलखा जिल्लाको कालिञ्चोक, विगु, गौरीशङ्कर र शैलुङ गाउँपालिकामा गरी झन्डै ३०÷३५ जना चौंरी व्यावसायी रहेको अध्ययनले देखाएको छ। जसमा आधाभन्दा बढी व्यावसायी महिला रहेको कालिञ्चोक गाउँपालिकाको उपप्रमुख कालिका पाठकले बताउनुभयो। एउटा चौंरी गोठमा २० देखि ३० वटासम्म चौरी हुने गरेको र दोलखा जिल्लामा झन्डै ७ सय चौंरी रहेको व्यावसायीहरूको भनाइ छ।

कालिञ्चोक गाउँपालिकाले चौंरी व्यावसायलाई प्रोत्साहित गर्न चांैरी पालक कृषकलाई परिचयपत्र वितरण गरेको र त्यसका आधारमा निरन्तर व्यवसाय गर्ने कृषकलाई निश्चित अवधि पुगेपछि गाउँपालिकाका तर्फबाट पेन्सनको व्यवस्था गरिने गाउँपालिका उपप्रमुख पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्