खानपिन भएकै हो त !



काठमाडौं महानगरपालिकाभित्रै बनेको एउटा संरचना सामान्य वर्षा हुँदै भाँच्चिएर कच्याककुचुक भएको दृश्य धरहराले देखेको छ। केही दिनअघि वडा नं १५ र १७को बीचमा विष्णुमती नदीमाथि नरदेवी, ताम्सिपाखा, डल्लुलगायतका क्षेत्रलाई जोड्ने पुल यसरी भाँचिएको रहेछ। जुन पुलको उद्घाटनसमेत हुन पाएको थिएन।

भर्खरै बनिसकेको पुल यसरी सामान्य वर्षा हुँदै भाँचिएपछि स्थानीय बासिन्दा धरहराको छेउमै आएर आक्रोस पोख्दै गरेको देखियो। हुन पनि कति जतिको पानी पर्न सक्छ, त्यसबाट जोगाउन कति क्षमताको पुल बनाउने भन्ने कुरा त बनाउनेले हिसाबकिताब गरेर बनाउनुपर्ने होइन र भन्या। स्थानीय जनप्रतिनिधिहरु पनि भन्दै थिए– ‘के गरेको हो हामीलाई पनि केही थाहा छैन।’

स्थानीय जनता भने बनाउनेवालाहरुले खानपिन गरे होलान् त्यसैले यस्तो भएको होला भन्दैथिए। सरकारले यस्ता कुरामा तुरुन्तै छानबिन गरी कडा कारबाही गर्नुपर्ने हो कि? यसो भएमा आगामी दिनमा यस्ता त्रुटी नदेखिएलान्। बनाउने ज्यूहरु ! के भएको हो? खानपिन राम्रै भएको हो कि के हो? खुसुक्क यो धरहरालाई भन्दिनु न।’ बरु कसैलाई नभनौंला क्या !

 

प्रतिक्रिया दिनुहोस्