तीर्थको ह्याट्रिकमा सगरमाथा सेमिफाइनलमा



रवीन भट्टराई, ताप्लेजुङ

तीर्थ बस्नेतको ह्याट्रिकको सहयोगमा मोरङको सगरमाथा युवा क्लब विराटचौक जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएको खेलमा फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा अन्तिम चारमा पुगेको हो। मोरङको टोलीका तर्फबाट जर्सी नं ११ का तीर्थ एक्लैले तीन गोल गरेका थिए। बस्नेतले खेलको तेस्रो मिनेटमै टोलीलाई एक गोल गर्दै अग्रता दिलाए। लगत्तै सातौं र २८औं मिनेटमा व्यक्तिगत गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए।

खेलको सम्पूर्ण समय मोरङले पाँचथरलाई दबाबमा राखेको थियो। पाँचथरका जर्सी नं ६ का चरण बस्नेतले खेलको २१औं मिनेटमा आफ्नो टिमका तर्फबाट सान्त्वना गोल फर्काएका थिए। म्यान अफ दि म्याच पनि मोरङका ह्याट्रिक गर्ने खेलाडी तीर्थ भएका थिए। सगरमाथा युवा क्लब विराटचौक मोरङले सेमिफाइनलमा सशस्त्र प्रहरी दमकसँग खेल्नेछ। फाइनल सोमबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्