हिटिङ स्वीमिङ पुलको शिलान्यास



काठमाडौं, (नेस)
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको शुक्रबार शिलान्यास गर्नुभएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले शिलान्यास गर्नुभयो।

२५ मिटर लम्बाइ र २५ मिटर चौडाइको १० लेनमा बन्ने उक्त स्विमिङ पुलको अनुमानित लागत ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपियाँ रहेको छ। पुल हातामा तीनवटा मुख्य ब्लक रहनेछन्। त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछन्।

कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ।

त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्यांकलगायत निर्माण गरिनेछ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री केसीले हाम्रोजस्तो बजेटको आकार सानो भएको मुलुकले करिब ३४ करोड लगानीमा पुल निर्माण गर्नु ठूलो कुरा भएको बताउनुभयो।

मन्त्रीले पुल निर्माणको कार्य प्रगतिबारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पौडी संघलाई निर्देशनसमेत दिनुभएको थियो।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकारमार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसँग सम्झौता भएको बताउँदै संघको २५÷३० वर्षदेखिको अभियानले गति लिन थालेको धारणा व्यक्त गरे। उनले २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अवगत गराए। उनले पूर्वाधारका कारण दक्षिण एसियाली खेलकुद नरोकिने बताउँदै अन्य पूर्वाधारहरु पूरा हुने क्रममा र केही बन्ने क्रममा रहेको बताए।

नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले हिटिङ पुलको निर्माणले खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने भएकाले खेलाडीको स्तरवृद्धिमा अझ सहयोग पुग्ने धारणा व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय निकायबाट पनि २५ बाई २५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने आश्वासन प्राप्त भएको जानकारी गराउँदै पौडी संघको वर्षौंदेखिको सपना साकार हुन लागेको बताए।

प्रतिक्रिया दिनुहोस्