उत्तर कोरियाको व्यवस्था नै परिवर्तन हुने अमेरिकी चेतावनी



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियालाई त्यहाँको व्यवस्था नै परिवर्तन हुने र नागरिकले विनाशको सामना गर्नुपर्नेजस्ता गतिविधिहरू नगर्न चेतावनी दिएको छ।

पेन्टागनका प्रमुखले अमेरिका र उसका सहयोगीसँगको युद्धमा उत्तर कोरिया टिक्न नसक्ने पनि बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई संयमता अपनाउन दिएको धम्कीपछि म्याटिसको उक्त कडा चेतावनी आएको हो।

यसैबीच अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अमेरिकालाई उत्तर कोरियाबाट तत्कालका लागि कुनै खतरा नभएको बताएका छन्। उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा क्षेप्यास्त्र हमलाका लागि तयारी गरिरहेको बताएका थिए।

प्रशान्त महासागरस्थित गुआम पुगेका रेक्स टिलरसनले अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीको समर्थन गरेका छन्। राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई स्पष्ट सन्देश दिन चाहेको उनले बताए।
राष्ट्रपति ट्रम्पले ट्विटरमा अमेरिकाको परमाणु हतियार भण्डारका बारेमा अमेरिकासँग पहिलाको भन्दा धेरै शक्तिशाली हतियार भएको उल्लेख गरेका थिए।
यद्यपि अमेरिकालाई यो शक्तिको प्रयोग गर्नु आवश्यक हुँदैन भन्ने आफूले अपेक्षा गरेको ट्रम्पले लेखेका थिए।

गुआममा अमेरिकी सैन्य अड्डा रहेको छ, सामरिक बमवर्षक विमानको अड्डा छ र करिब १ लाख ६३ हजार अमेरिकी बसोबास गर्छन्।

मध्य एसियाबाट फर्कने क्रममा टिलरसनको विमान इन्धन भर्न गुआम ओर्लेको थियो।

यसबीच उत्तर कोरियाले युद्ध कुनै खेल नभएको र आफूले अमेरिकी साम्राज्य अन्त्य गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्