पाकिस्तानी मदर टेरेसा डा. फाउको निधन



 

इस्लामावाद, (एजेन्सी)
लामो समयदेखि पाकिस्तानमा कुष्ठरोग उन्मुलनका लागि समर्पित रहँदै आएकी जर्मन डाक्टर तथा नन रुथ फाउको ८७ वर्षको उमेरमा बिहीबार कराँची शहरमा निधन भएको छ। उनी पाकिस्तानको मदर टेरेसाका रूपमा निकै चर्चित रहेकी थिइन्। उनलाई उपचारका लागि गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो।
सन् १९६० मा पहिलोपटक पाकिस्तानमा कुष्ठरोगी देखेकी उनले जर्मनीबाट फर्केपछि पाकिस्तानभरि नै यस रोगविरुद्ध क्लिनिक स्थापना गरेकी थिइन्। उनको अथक प्रयासको परिणाम स्वरूप सन् १९९६ मा पाकिस्तान कुष्ठरोग नियन्त्रणमा रहेको घोषणा गर्न सफल भयो।

प्रधानमन्त्री शाहिद खाकान अब्बासीले डाक्टर फाउ जर्मनीमा जन्मे पनि उनको मन भने सधैं पाकिस्तानमै रहेको बताएका छन्। डा. फाउको साहस र समर्पणको प्रशंसा गर्दै अब्बासीले पाकिस्तानका रोगी जनताको सेवा र सहयोगका लागि आएकी उनले अन्ततः पाकिस्तानलाई नै आफ्नो घर बनाएको पनि बताएका छन्। सन् १९२९ मा जर्मनीको लिपजिगमा जन्मेकी उनले दोस्रो विश्व युद्धको दौरान आफ्नै आँखाले आफ्नो घर ध्वस्त भएको देखेकी थिइन्।

मेडिसिन अध्ययन गरेकी उनलाई शुरूमा ननको रूपमा दक्षिणी भारतमा जाने आदेश दिइएको थियो। तर भिसाको गडबडीको कारण उनी कराँचीमा रहन पुगेकी थिइन्। उनले सन् २०१० मा बीबीसीलाई अन्तर्वार्ता दिने क्रममा भनेकी थिइन्– ‘यदि पहिलो घटनाले निकै प्रभावित नभएको भए त्यस्तो घटनाले पछि पछि कहिल्यै पनि मानिसलाई प्रभाव पार्लाजस्तो मलाई लाग्दैन। वास्तवमा एक तन्नेरी कुष्ठरोगी पठानको हालत देखेर मेरो मन पग्लेको थियो। उनी हात र खुटाले घिस्रिँदै उपचारका लागि डिस्पेन्सरीमा पुग्ने गर्दथे। घस्रिँदा उनको शरीरभरि लागेको धुलोमैलो देखेर मलाई साह्रै माया लाग्यो।’

त्यतिबेला आफ्नै परिवारले कुष्ठरोग सर्ने डरको कारण आफ्ना सन्तानलाई तिरस्कार गरी खोर र गुफामा बस्न बाध्य गर्ने गर्दथे। डा. फाउले त्यस्ता तिरस्कृत थुप्रै व्यक्तिको उद्धार गरेकी थिइन्।

उनले पाकिस्तानी डाक्टरहरूलाई तालिम दिने र विदेशी चन्दा सहयोग बटुल्ने जस्ता कार्य गर्दै पाकिस्तानको राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रम म्यरी एडेलेड लेप्रोसी सेन्टर स्थापना गरेकी थिइन्। सन् २०१० मा दक्षिण पश्चिमी पाकिस्तानमा बाढीपीडितलाई महत्त्वपूर्ण सहयोग गरेर पनि उनले थुप्रै प्रशंसा बटुलेकी थिइन्।
उनी पाकिस्तानको दोस्रो सबैभन्दा ठूलो सरकारी अवार्ड हिलाल ए इम्तियाज–१९७९, हिलाल ए पाकिस्तान–१९८९ र जर्मन स्टाउफर मेडल–२०१५ लगायत अन्य थुप्रै सम्मान पाएकी थिइन्। उनले ‘टु लाइट अ क्यान्डल’ लगायत पाकिस्तानमा आफ्नो काम र अनुभवको आधारमा जर्मनमा चारवटा पुस्तक लेखेकी थिइन्।

‘टु लाइट अ क्यान्डल’लाई अंग्रेजी भाषामा अनुदित गरिएको थियो। १९ अगस्टमा कराँचीस्थित सेन्ट प्याट्रिक चर्चमा उनको अन्त्येष्टि गरिने भएको छ। त्यसपछि उनको पार्थिव शवलाई कराँचीकै गोरा कब्रिस्तान क्रिश्चियन सेमेट्रीमा समाधिस्थ गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्