भुवनको सम्मान



 

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो पँँचौं एल्बम सार्वजनिक गरेका छन्। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच उनको गीति अडियो एल्बम सम्मान मेरो वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, गीतकार बुद्धवीर लामा, पत्रकार डब्बु क्षत्री र धावक वैकुण्ठ मानन्धरले सार्वजनिक गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि जोशीलाई भुवनले आफ्नो कम्पनीको तर्फबाट नगदसहित सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले भुवनको गायनको प्रशंसा गरे। ‘सम्मान मेरोमा राम्राराम्रा गीत छन्। भुवनले यस एल्बममा केही फरक दिन खोजेका छन्’ –जोशीले भने। त्यस अवसरमा भुवनले आफ्ना संघर्ष र अनुभूति साटेका थिए।

कार्यक्रममा गीति संग्रहसँगै एल्बममा समावेश दुई गीतको भिडियोसमेत प्रिमियर गरिएको छ। कार्यक्रममा आउँदो रैछ जिन्दगीमा यस्तो मोडहरू र आइडी छ कि छैन बहिनी बोलका गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो। ११ गीत संगृहित एल्बमका सबै गीतमा भुवनको स्वर र संगीत रहेको छ भने विश्वकाजी राई गोपाल दाहा, बुद्धवीर लामा, जितेन्द्र रसिक, अनोज रोका, मुकेश राई, प्रेम सुब्बा चेम्जोङ, जेवी संयोगी र दकिला लामाको शब्द रहेको छ। तिमीले संसार जित्यौभन्दा म धेरै खुसी भएँ बोलको गीत भने भुवन आफैंले लेखेका छन्।

२०६० सालदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय भुवनले हालसम्म ३ सय ५० गीतमा संगीत भरिसकेका छन् भने फिल्मका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिएका छन्। यसअघि उनका तिम्रो माया (२०६०), सजेसन (२०६५), मायाको फूल (२०६७), वदनाम (२०६९) नामका एल्बम आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्