बढ्दो व्यापारघाटा र अनुत्पादक लगानी



ज्ञानमणि नेपाल कालोटोपी

कुनै वस्तु किनेको मुल्यभन्दा बेचेको मूल्य कम भयो भने त्यसलाई सामान्यरुपमा घाटाको अवस्था मानिन्छ। यसैलाई आधार मान्दा कुनै देशले बाहिरबाट धेरै मूल्यको सामान किन्यो र आफ्नो देशबाट थोरै मात्र सामान बेच्न सक्यो भने पनि त्यो व्यापारघाटा नै हो। यसर्थ नेपालको व्यापारघाटा दैनिक रुपमा बढ्दै छ भन्न सकिन्छ। हामीले किन्ने र बेच्ने सामानबीचको दूरी असामान्यरुपमा बढेसँगै देशको व्यापारघाटा पनि बढेको हो। गत आर्थिक वर्षको साउन महिनामा मात्र नेपालले ५६ अर्ब १२ करोड रुपियाँ बराबरको व्यापारघाटा बेहोरेको तथ्यांक सार्वजनिक भएको थियो। विगत लामो समयदेखि निकै ठूलो रुपियाँको व्यापारघाटाको सामना गर्दै आएको नेपालको पछिल्लो यो घाटाले हाम्रो परनिर्भरता बढेको मात्र छैन, प्रतिव्यक्ति ऋणको अनुपात पनि बढाएको छ।

गत आर्थिक वर्षको कुल व्यापार १० खर्ब ५९ अर्ब थियो। जसमध्ये कुल वस्तु आयात ९ खर्ब ८४ अर्ब र कुल निर्यात ७४ अर्ब ७१ करोड मात्र भएको थियो। कुल व्यापारघाटा ९ खर्ब ९ अर्ब भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०७२⁄०७३ मा कुल वस्तु आयात ८ खर्ब १ अर्ब २१ करोड रुपियाँ रहेको र कुल व्यापार घाटा मात्र ७ खर्ब १६ अर्ब ३८ करोड रुपियाँ रहेको थियो। यो अवधिमा जम्मा ८९ अर्ब रुपियाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो। यी तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा पछिल्लो वर्षमा वस्तु निर्यात घटेर आयात बढेका कारण करिब २ खर्ब रुपियाँको व्यापारघाटा बढेको देखिन्छ।

नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरु अहिले विगतमा जसरी पठाउन सकिएको छैन। तर चीनबाट आउने सामानहरु तयारी पोशाक, जुत्ता–चप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको मार्ग हुँदै भए पनि बढेको छ। जसले गर्दा चीनसँग व्यापारघाटा बढेको हो।

आर्थिक वर्ष ०७३⁄०७४ मा आयात भएका प्रमुख वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ मात्र १ खर्ब ४० अर्ब ५ करोडको आयात भएको थियो। त्यस्तै फलाम तथा स्टिलको आयात ९३ अर्ब ७१ करोड, मेसिनरी सामान ८२ अर्ब १४ करोड, सवारी पार्टपूर्जा ७९ अर्ब ५० करोड, विद्युतीय सामान ७० अर्ब ६ करोड, खाद्यान्न ४० अर्ब १४ करोड रुपियाँको आयात भयो। त्यस्तै अन्य सामानहरुमध्ये प्लास्टिकजन्य सामान ३५ अर्ब १४ करोड, सुनचाँदी ३२ अर्ब १३ करोड, खनिजजन्य वस्तु ३१ अर्ब १३ करोड र तेल तथा घिउ २८ अर्ब ८३ करोडको आयात भयो। यसको तुलनामा निर्यात ज्यादै कम मात्र भएको छ। निर्यात भएका मुख्य वस्तुहरुमा गलैंचा र कार्पेट ७ अर्ब ६३ करोड, चिया–कफी ७ अर्ब २ करोड, कपासजन्य वस्तु ६ अर्ब ९८ करोड, तयारी कपडा ६ अर्ब १० करोड, तरकारी र सुपारी ५ अर्ब ११ करोड, राडीपाखी ३ अर्ब २५ करोड रुपियाँ बराबरको निर्यात भएको थियो। त्यस्तै फलाम तथा स्टिल ३ अर्ब ९४ करोड, थान्का ३ अर्ब ८ करोड, पशुदाना २ अर्ब ८८ करोड र हाते कागज २ अर्ब १८ करोड रुपिायाँको निर्यात भयो।

यही अवस्था रहिरहने हो भने चालू आर्थिक वर्षमा व्यापारघाटा धेरै गुणाले बढ्न सक्ने देखिएको छ। कुल व्यापारघाटामध्ये भारतसँगको घाटा ७.४ प्रतिशत र चीनसँगको व्यापारघाटा ३९.१० प्रतिशतले बढेको छ। त्यस्तै अन्य देशसँगको घाटा भने ४.६ प्रतिशतले घटेको छ। यसर्थ यो तथ्यांकअनुसार नेपालको कारोबार दुई छिमेकी देशहरु चीन र भारतसँग नै बढ्दै गएको देखिएको छ।

भारत, चीन र अन्य तेस्रो मुलुकहरुमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापारघाटा पनि बढेको राष्ट्र बैंकले जनाएको छ। नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरु अहिले विगतमा जसरी पठाउन सकिएको छैन। तर चीनबाट आउने सामानहरु तयारी पोशाक, जुत्ता–चप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको मार्ग हुँदै भए पनि बढेको छ। जसले गर्दा चीनसँग व्यापारघाटा बढेको हो। भारतबाट विशेष गरी पेट्रोलियम पदार्थको आयात उच्च छ। यसका अतिरिक्त यातायातका साधन र यसका पार्टपूर्जाहरु, सिमेन्ट, फलामेछड र औषधिको आयात पनि बढेका कारण भारतसँगको व्यापारघाटा पनि उच्च भएको हो। त्यस्तै तेस्रो मुलुकहरुमा जाने गरेको दाल, चिया र हस्तकलाका सामानहरुको निर्यात पनि घट्न गएको छ। यी मुलुकहरुबाट सुनचाँदी, पार्टपूर्जा, दूरसंचारका उपकरण तथा तामाको तारलगायतका वस्तुहरु नेपाल ल्याउने गरिएको छ।

विगतदेखिकै कुरा गर्ने हो भने, गत आर्थिक वर्षसम्ममा प्रत्येक नेपालीको थाप्लोमा २२ हजार १ सय ५९ रुपियाँ ऋण थियो। अहिले यो अनुपात पनि बढेर यस वर्ष २३ हजार ९ सय ६२ रुपियाँ पुगेको छ। नेपालमा हरेकजसो क्षेत्रले बाहिरी देशकै भर पर्नुपर्ने बाध्यता छ। यहाँका उद्योग कलकारखानाहरु सञ्चालनका लागि चाहिने कच्चा पदार्थसमेत हामीले बाहिरबाटै ल्याउँछौं। यति मात्र होइन, विदेशबाट लिएको ऋणलाई पनि हामीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकेका छैनौं। खाद्यान्न र लुगाफाटोमा हामीले विदेशी ऋणको लगानी गर्नुपरेका कारण यसले उत्पादन गर्न नसकेर घाटा खेप्नुपरेको छ। ऋण लिएर त्यसलाई उत्पादनमुखी बनाउन नसकेकै कारण आज हामी वस्तु निर्यातभन्दा धेरै आयात गर्नुपर्ने अवस्थामा छौं। यही अवस्था रहिरहने हो भने नेपालको व्यापारघाटाको अवस्था अझ भयावह हुन सक्ने देखिन्छ।

करिव २ दशकअगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो। अहिले बर्सेनि ३० अर्ब रुपियाँभन्दा धेरैको चामल मात्रै आयात गर्नुपरेको अवस्था छ। नेपालमै भएका स्रोत–साधनको राम्रो सदुपयोग गर्न सक्ने हो भने अति आवश्यक वस्तुहरु इन्धन र नूनबाहेक अरु खाद्यान्न नेपालमै पनि उत्पादन गर्न सकिन्छ। तर आज हामीले हाम्रो देशमा उत्पादन हुन सक्ने वस्तुहरु पनि बाहिरी मुलुकहरुबाट ल्याइरहेका छौं। नेपालमा बर्सेनि इन्धन मात्र १ खर्ब ४० अर्ब रुपियाँको खपत हुन्छ। त्यस्तै नूनको आयात पनि उच्च छ। सुनचाँदीहरुको आयात पनि धेरै छ। बर्सेनि ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा धेरैको मोबाइल सेटको आयात गरिन्छ। वस्तु आयातको तुलनामा निर्यात बढाउँदै जान सक्ने हो भने सन्तुलन मिल्न जान्छ तर त्यसो हुन सकेको छैन। यसले गर्दा यति धेरै मात्रामा बर्सेनि व्यापारघाटा हुन पुगेको स्पष्ट छ।

हुन त व्यापारघाटा हुनेबित्तिकै देशको अर्थतन्त्र पूरै धराशायी भयो भनेर सोच्न नहुने सम्बन्धित विज्ञहरुको भनाइ छ। विश्वका विकसित देशहरुको पनि वैदेशिक ऋण छ। तर उनीहरुले त्यो ऋणलाई स्वदेशमा उत्पादनशील क्षेत्रमा लगानी गरेका छन्। उत्पादनले आफूलाई पूग्ने नाफा पनि कमाएका छन् भने उनीहरुलाई ऋण तिर्न पनि अप्ठ्यारो छैन। तर नेपालमा भने वैदेशिक ऋण र अनुदान कि पेट पाल्नका लागि खर्च भएको छ, कि त नेताहरुका ढुकुटीमा पुगेको छ। यति मात्र होइन, बर्सेनि आउने गरेको करिब ६ खर्ब ५० अर्ब रुपियाँ रेमिट्यान्स पनि अधिकांश अनुत्पादक क्षेत्रमा लगानी गरिने गरिएको छ। भ्रष्ट्राचारको कहाली लाग्दो अवस्था त छँदै छ। यो देशको लागि निकै ठूलो घाटा मात्र होइन, विकासोन्मुख राष्ट्रका लागि अगाडि बढ्ने तगारो र चुनौती पनि हो।

यसर्थ आगामी दिनहरुमा देशलाई विकासमा अगाडि बढाउनका लागि बर्सेनि बढ्दै गएको वैदेशिक ऋण घटाउँदै व्यापारघाटालाई न्यून गराउन जरुरी छ। देशमा भएका युवा जनशक्तिलाई स्वदेशमै परिचालन गरी उत्पादनमुखी कार्यमा लगाउनुपर्ने देखिन्छ। विदेशबाट ल्याउने सामानको खपत घटाएर स्वदेशी सामानको निर्यात बढाउनु पनि जरुरी छ। यसो गर्न सकियो भने मात्र नेपालको समुन्नत विकासमा टेवा पुग्नेछ भने देश विकासमा पनि अगाडि बढ्ने छ। त्यसैले कुरामा भन्दा काममा जोड दिन सक्ने अवस्था ल्याउनका लागि नेपालको वर्तमान राजनीतिक अवस्थामा पनि सुधार हुन आवश्यक रहेको देखिन्छ। कुनै पनि देशको राजनीतिक अवस्थाले नै त्यस देशको आर्थिक गतिविधिमा पनि उतारचढाव आउनेतर्फ सम्बन्धित क्षेत्रले ध्यान दिन सक्ने हो भने व्यापारघाटामा पनि कम गराउन सकिएला। घाटामा रहेको देशले न आर्थिक प्रगति गर्न सक्छ, न विकास नै ? यतातिर पनि अब सोच्नै पर्ने बेला आएको छ।

प्रतिक्रिया दिनुहोस्