साउनमा हरियो पोते र चुरा किन ?



 

नेपालमा भनाइ पनि छ, साउनमा हरियो देख्ने गोरुले सधैँ हरियो देख्छ। शायद हाम्रा कतिपय परम्पराहरु यस्तै देख्न पाइन्छ। कसैले बुझेर गरेका छन्, कसैले बिरालो बाँधेर श्राद्ध गरेका छन्। सही के छ, कमैलाई थाहा होला। मलाई पनि त्यति थाहा छैन। गत शनिबार साँझ ५–६ बजेतिर तरकारी किन्न बजारतिर लागियो। बजारमा पुरुषको भन्दा महिलाको भीड बढी रहेछ। हल्लिखल्ली पनि अलि बढी नै थियो। बाटोभरि, पेटीहरुमा र पसलमा चुरा, पोते, मेहन्दी लगाउनेको भीड थियो। हामीले एकजना परिचित महिला मित्रलाई भेट्यौं र सोधनी गर्यौं– आज त बजारमा तरकारीभन्दा अरु नै भीड छ नि ⁄ अनि तपाईंले पनि कति धेरै चुरा लगाउनुभएछ, पोते पनि, हामीले एकै पटक धेरै प्रश्न गर्यौं। उहाँले फरक–फरक किसिमले उत्तर दिँदै जानुभयो– तिमी महिला हौ, महिला नै भएर हिँड्नुपर्छ भन्ने मेरा बुबाआमा र शिक्षकले सिकाएका थिए।

हाम्रो प्रश्न थियो, तपाईं पढ्दै हुनुहुन्छ केका लागि चुरा पोते ? कुनै जवाफ आएन। अर्की साथीले थपिन्– ‘साउनमा हरियो पोते र चुरा लगाएमा श्रीमान्को आयु बढ्छ रे ⁄ त्यसैले लगाउनुपर्छ।’ विचरा पढ्दै गरेकी किशोरी त लाजले भुतुक्कै भइन्। उनको बिहे नै भएको छैन।

म पनि यसबारे जवाफ खोज्न लागिपरें, अभैm पाएको छैन। शिवपुराणमा चाहिँ सोमबारको व्रत बसेर शिवजीलाई हरियो बेलपत्र र धतुरो चढाई शाकाहारी भोजन गरेमा आपूmलगायत सबै परिवारमा आरोग्य प्राप्त हुनेछ भन्नेसम्म पाइयो। तर साउनमा मात्र भन्ने छैन। बरु सवा लाख बेलपत्र चढाउने भन्ने कुरा छ। त्यो पनि महिना, गते, बारको उल्लेख गरेको छैन। शायद मैले नभेटेको हो कि ⁄ तपाईंहरु चुरापोते लगाउने दिदीबहिनीहरुबाट जवाफ चाहन्छु।

–दामोदर पौडेल, त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौं

नेपाल–भारत सीमा व्यवस्थित गरौं

यतिखेर भारत–चीनबीचको दोक्लाम मुद्दाबारेको विवाद विश्वभर चर्चाको विषय भएको छ। चीन र भूटानसँगको सीमावर्ती दोक्लाम क्षेत्रमा चीनले सडक निर्माण गर्न थालेपछि यी दुई देशबीचको सम्बन्धमा चिसोपन थपिएको हो। समयको गतिअनुसार विश्वमा कुनै दुई देशमा खटपट परी नै आएको छ। यसै सिलसिलामा यतिखेर नेपाल–भारत सीमा क्षेत्र व्यवस्थित गर्न नितान्त आवश्यक भएको छ। यो कसरी पूरा हुन सक्छ, त्यसै गर्नुपर्दछ।

हालको परिस्थितिमा नेपाल–भारत सीमाक्षेत्र व्यवस्थित गर्न चीनसँग सहयोग मागेमा चीनबाट पक्कै काँडेतारसहित अरु आवश्यक सामग्री प्राप्त हुन सक्छ। दुई देशबीच तटस्थ रही बेलैमा बुद्धि लगाए यो कार्य सफलिभूत हुन सक्छ। त्यसर्थ बेलामा नै बुद्धि पुर्याऊ, पछि नपछुताऊ भन्ने मेरो धारणा हो। यसतर्फ सबैको ध्यानाकर्षण होस्।

– डा. सुमनकुमार रेग्मी, कुपण्डोल, ललितपुर

अग्ला घर बनाउन दिनै हुँदैन

भूकम्पले विनाश गरेपछि मापदण्डविपरीत अग्ला घर बनाएर आफैंले खाल्टो खन्ने काम गर्नुहुँदैन। आफूले खनेको खाल्टोमा आफैं पर्ने गरी काम गर्नु मूर्खता हो। यो विषयमा घरधनीले नै सोच्ने हुरा हो। अर्कोतर्फ यस्ता घर बनाउन नदिने र सुरक्षित घर बनाउने किसिमको कानुनी प्रावधानमै व्यवस्था हुन जरुरी छ। नेपाल सरकारको पनि सम्भवतः चेत फिरेको जस्तो त देखिएको छ तर व्यावहारिक पक्षमा भने सरकारी काम कहिले जाला घामजस्तो भएको छ।

नीति बन्ला–नबन्ला, कार्यान्वयन होला–नहोला, तर अग्ला घर बन्न नदिने, नापनक्सा या मापदण्डविपरीत जबर्जस्ती बनाइएका घरको तला काटिने नियम बनाइँदै छ भन्ने चर्चा जोडतोडले सुन्न थालिएको छ। यसबीच कतिपय नागरिकले आफ्ना घरछिमेकमा खतराको रूपमा ठडिएका मापदण्डविपरीतका अग्ला घर भत्काइदिन सामूहिक निवेदन दिएका खबर यदाकदा सुन्नमा आएका छन्। कतिपयले आफ्नो अग्लो घरको तला काटिदिन आफैँले सरकारी निकायमा दिएको निवेदनको पनि चाङ लागेको सुनिन्छ। सरकारी तवरबाट अनुगमन गरी सम्भावित दुर्घटनाबाट बच्न बेलैमा सोच्नु जरुरी छ।

– सुशीला चौहान, बिर्तामोड

कहिले आउने हो मेलम्ची ?

आपूर्तिकर्ताले भुक्तानी नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरेको खबर आएको छ। एक दर्जन बढी आपूर्तिकर्ताले सामान नदिएपछि ४ दिनदेखि काम बन्द भएको समाचारले सबै पत्रिकामा स्थान पाएका छन्। इटालियन ठेकेदारले समयमै आपूर्तिकर्ताको बिल भुक्तानी गर्न नसक्दा काम रोकिएको मेलम्ची आयोजनाका कर्मचारीले बताएको कुरा पनि बाहिरिएको छ।
नपालका आयोजनामा सधैँ केही न केही बखेडा निकालेर अल्झाउने तथा काम ढिला गराउने खेल चल्छ। यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ। नेपालमा यस्ता किसिमका नजिर बसिसकेको अवस्थामा यो हटाउनतिर लाग्न जरुरी छ। मेलम्ची खानेपानी आयोजनाले सबै बिल भुक्तानी गरिसके पनि ठेकेदारको आफ्नै समस्याले भुक्तानी रोकिनु राम्रो पक्ष होइन।

– दीपेन्द्र खड्का, पुल्चोक, काठमाडौं

भोजपुरको घटनामा अनुसन्धान सुस्त

गत असार १२ गते मृत अवस्थामा भोजपुरको प्याउलीमा भेटिएका तीन बालबालिकासम्बन्धी घटनाको अनुसन्धानबारे अझै केही बाहिर आएको सुनिएको छैन। भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसक्नु नेपालको प्रहरी प्रशासनको कमजोरी हो। घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेको बताए पनि घटनाको रहस्य अहिलेसम्म पत्ता नलाग्नु कि त चलखेल हो, कि त प्रहरीको सुस्तता हो।

अहिले केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएर अनुसन्धान भइरहेको खबर पनि आएको छ। हुन त नेपालमा साधन–स्रोत र प्रविधिको अभाव छ। यसमा सरकारी क्षेत्रबाटै विशेष काम हुन जरुरी हो। यहाँका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव सापकोटा र चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र ६ वर्षीय छोरा प्रदीप फुयाँल गत असार १२ गते माछापोखरीमा मृत भेटिएका थिए। उनीहरु कसरी मृत भेटिए ? यसको अनुसन्धान छिटो होस्। सम्बन्धित निकायलाई अनुरोध छ।
– सुरज केसी, भोजपुर

प्रतिक्रिया दिनुहोस्