स्याम्पल गयो, रिपोर्ट आएनस्याम्पल गयो, रिपोर्ट आएन



नेपाल समाचारपत्र, बाँके । बाँकेमा शंकास्पद स्वाइनफ्लुका बिरामीको स्याम्पल लिएर जाँचका लागि काठमाडौं पठाइएको छ ।

कोहलपुर अस्पतालमा आएका एकजनाको स्याम्पल काठमाडौं पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । ‘स्याम्पल पठाएको तीन दिन भयो, रिपोर्ट आइपुगेको छैन, जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन रामबहादुर चन्दले भन्नुभयो ।

रुघाखोकी, टाउको दुख्ने, ज्वरोका बिरामी बढेपछि अस्पतालमा शंकास्पद स्वाइनफ्लुका बिरामी देखिएका थिए । साउन दोस्रो सातामा भेरी अञ्चल अस्पतालमा स्वाइनफ्लुका आशंकित विरामीको संख्या बढेपछि त्यसलाई जाँच्ने किटको अभाव खट्किएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले दुई पटक केन्द्रमा पत्र पठाएर किट मगाएको छ ।

अहिले त्यस्ता शंकास्पद बिरामी नआएको अस्पतालले जनाएको छ । ‘हामीले शंकास्पद बिरामी आए स्याम्पल लिन्छौं भनेका छौं, भेरीले त्यस्तो आएको बताएको छैन, चन्दले भन्नुभयो, त्यस्ता बिरामी आउने बित्तिकै स्याम्पल लिएर काठमाडौं पठाउँछौं ।’
स्वाइनफ्लुले अन्य जिल्लामा केहीको ज्यान नै लिइसकेपछि बाँकेमा सतर्कता अपनाइएको छ । स्वाइनफ्लु, डेंगु, मलेरियाका लागि बाँके जोखिमको जिल्ला मानिन्छ । नेपालगञ्जमा आएका बर्दियाका एकजना बिरामीमा डेंगु देखिएपनि अरुमा देखिएको छैन । गतवर्ष बाँकेमा सय जनामा डेंगु देखिएको थियो । त्यसमा ३८ जना बाँके जिल्लावासी थिए ।

सीमावर्ती जिल्ला, अत्याधिक गर्मी र लामखुट्टेको बिगबिगी हुने भएकाले बाँके यी रोगका जोखिममा रहने गर्दछ । जिल्ला जनस्वास्थ्य कार्यालयले लामखुट्टे मार्नका लागि वर्षेनी स्प्रे गर्ने गर्दछ । यसपाली नरैनापुर र डुडुवा गाउँपालिकामा गरिएको थियो । नेपालगञ्जमा फोहोरका कारणले जोखिम रहेपनि यहाँ स्प्रेलगायतका लामखुट्टे मार्ने कार्यक्रम सञ्चालन गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्