मुलुककै नमुना बञ्जीजम्प मंसिशसम्म संचालनमा आउने



दुर्गाप्रसाद शर्मा, पर्वत । साहसिक पर्यटकलाई आकर्षित गर्न निजि क्षेत्रको लगानीमा पर्वतमा निर्माणाधिन अवस्थामा रहेको मुलुककै नमुना बन्जी जम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका स्थित साविकको नारायणस्थान गाविस जोड्नेगरी कालीगण्डकी माथि पुल निर्माण गरेर संचालन गर्न लागिएको बन्जी जप्पको अधिकांस काम सकिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले आफ्नै लगानीमा शुरु गरेको काम झण्डै ६० प्रतिशत सम्पन्न भएको छ ।

कुश्मा–बलेवा जोड्नेगरी कालीगण्डकी नदीको माथि पाँच सय ३५ मिटर लम्बाई र दुई सय २५ मिटर उचाईको पुल निर्माण गर्न लागिएको हो । उक्त पुलको दुवैपट्टीको भाग सम्पन्न भैसकेको छ भने अब लठ्ठा टाँग्ने काम मात्रै बाँकी रहेको छ । दुवै तर्फको फाउण्डेशनको काम सम्पन्न भएको र अब लठ्ठा टाँगेपछि आगामी मंसिरसम्म बन्जी जम्प गर्नका लागि तयारी भैसक्छ । दशै अगावै सम्पन्न गर्ने लक्ष रहेको भएपनि केहि ढिला हुने भएको प्र्रालिका संचालक राजु कार्कीले जानकारी दिनुभयो ।

उक्त बन्जीजम्प पुल विश्वकै दोस्रो अग्लो पुल हुने कार्कीले बताउनुभयो । कम्पनीले बन्जी खेल्न आउँने पर्यटकहरुका लागि बलेवातर्फको भागमा रिसोर्ट समेत निर्माण सुरु गरेको छ । जसका लागि पर्वतको कुश्मा बजारको छेउमा बन्जी पुल निर्माणका लागि चार आना र रिसोर्ट निर्माणका लागि बागलुङ क्षेत्रको नारायणस्थानमा १६ रोपनी जग्गा गत वर्षनै खरिद गरिसकेको थियो । बन्जी खेल विश्वकै साहसिक खेल भएकाले त्यसको प्रवद्र्धनका लागि कालीगण्डकी नदी माथिको भेग अति उत्तम भएकाले पुल निर्माणको कामलाई अगाडि बढाइएको कार्कीले बताउनुभयो । सुरुमा पुल र अन्य भौतिक संरचना निर्माणको कामलाई तिव्रता दिइएको छ । पुल संचालन हुने वित्तिकै बन्जी जम्प शुरु हुन्छ उहाँले भन्नुभयो ।

बन्जी जम्प निर्माण गर्न थालिएको ठाउँ बलेवा एयरपोर्ट नजिकै भएकाले पुल निर्माणले एयरपोर्ट सञ्चालनमा समेत सहजता आउँने स्थानीयले आशा गरेका छन् । बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ– बुटवलसँग सिधा यातायातका लागि कालीगण्डकी करिडोर, पुर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माणसमेत भैसकेको छ ।

नेपालका अन्य ठाउँमा निर्माण गरिएका बन्जी जम्पहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढीनै भएकाले पर्वतमा निर्माण गरिने बन्जीजम्पमा पर्यटकहरु आकर्षित हुने कम्पनीका सञ्चालक युवराज जोशीले बताउनुभयो । कुश्मा बलेवा क्षेत्रको पर्यटन विकासका लागि यस अगाडि सोही ठाउँमा यान्त्रिक पुल, कुश्मा–बलेवा जोड्ने झोलुङ्गेपुल, बलेवा विमानस्थल सञ्चालनका लागि पहल, बलेवाको भैरवस्थान मन्दिरको व्यवस्थापनका कामहरु पनि भइरहे्का छन् ।

प्रतिक्रिया दिनुहोस्