रियलले जित्यो सुपर कप



 

लन्डन, (एजेन्सी)
गत सिजनको यूएफा च्याम्पियन्स लिग च्याम्पियन रियल मेड्रिडले यूएफा सुपर कपको उपाधि उचालेको छ।

मंगलबार राति भएको फाइनल खेलमा रियल मेड्रिडले गत सिजनको युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै उपाधि जितेको हो। यो टोलीको चौथो सुपर कप थियो। खेलको २४औं मिनेटमा मिडफिल्डर क्यासेमिरोले गोल गरेपछि स्पेनी ला लिगा क्लबले अग्रता लिएको थियो। कासेमिरोले ड्यानी कर्भाजलको क्रसमा युनाइटेडका डिफेन्डरहरुलाई बिट गर्दै डी–बक्सभित्रबाट सानदार फिनिसिङ दिएका थिए।

दोस्रो हाफमा पनि रियलले गोल थपेपछि उपाधि पक्का भएको थियो। खेलको ५२औं मिनेटमा मिडफिल्डर इस्कोले तीन जना डिफेन्डरलाई छक्याउँदै गेरेथ बेललाई बल सप्लाई गरेका थिए। बेलले छिट्टै गोल गर्न सकेका थिए। यो गोलले रियल खेलमा २–० अग्रतासँगै सुरक्षित स्थितिमा रहेको थियो।

तर, यसै सिजनका लागि म्यानचेस्टरको क्लबमा भित्त्याइएको रोमेलु लुकाकुले गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याएका थिए। उनले ६२औं मिनेटमा नेमान्जा माटिचले गरेको प्रहार गोलरक्षक नाभासले राम्रोसँग रोक्न नसक्दा रिबाउन्ड भएको बललाई जालीभित्र पुर्याएका थिए। त्यसपछि खेलमा दुवैतर्फबाट थप प्रयासहरु भए पनि थप गोल हुन सकेन।
रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको खेलमा आगमन ढिलो भएको थियो। खेलको अन्तिम समयमा मैदान पुगेका रोनाल्डोले गोल गर्ने अवसरसमेत गुमाएका थिए। रियलले यसै साताको अन्त्यमा स्पेनिस सुपर कपमा बार्सिलोनाको सामना गर्दै छ। दुई लेगमा हुने खेलको दोस्रो लेग अर्को साता हुनेछ। यता म्यानचेस्टर युनाइटेड भने अर्को साताको सुरुदेखि प्रिमियर लिगमा व्यस्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्