डिफेन्डिङ च्याम्पियन गोर्खा पराजित



 

रविन भट्टराई, ताप्लेजुङ

ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा सशस्त्र प्रहरीको टिम दमकले डिफेन्डिङ च्याम्पियन गोर्खा स्र्पोटिङ क्लबलाई ट्राइबेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ।

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको बुधबारको खेल निकै नै प्रतिस्पर्धात्मक रहेको थियो। निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि नतिजा आउन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको हो।

सशस्त्रलाई जित दिलाउने क्रममा ट्राइबेकरमा जर्सी नं. १० का सुशील राई, जर्सी नं. ९ का बुद्धिमान राई, जर्सी नं. ८ का उज्वल चाम्लिङ र जर्सी नं. १९ का नवीन चौधरीले गोल गरेका थिए।

साथै गोर्खाका जर्सी नं. ५ का भूषण सुब्बा, जर्सी नं. १७ का विष्णु सुनुवार र जर्सी नं. १४ का सेफनले गोल गरे पनि जितका लागि पर्याप्त भएन। यसअघि निर्धारित समयमा गोर्खा स्र्पोटिङ क्लब दमकलाई पहिलो हाफमा जर्सी नं ७ का वर्तमान राईले टिमलाई शुरुआती अग्रता दिलाएका थिए।

उता सशस्त्रका जर्सी नं. ११ का धनबहादुर श्रेष्ठले गोर्खाको अग्रतालाई रोक्दै आफ्नो सानदार गोलका साथ खेललाई बराबरी बनाएका थिए। बुधबार भएको खेलको म्यान अफ दि म्याच सशस्त्रका खेल क्याप्टने जर्सी नं. ४ का प्रदीप चौधरी भएका छन्।

नकआउटको आधारमा खेलाइएको खेलमा जिल्लाभित्रको २ टिम र जिल्लाबाहिरको ८ टिम गरी १० टिमको सहभागिता छ। आगामी ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्नेछन्।

बिहीबार चर्च ब्बाइज क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब इटहरी मैदानमा उत्रने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले बताएको छ। बिहीबार हुने खेलको विजेता सीधै सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्