टीका वर्षौंपछि फेरि रंगमञ्चमा



 

रश्मी थापा

चरित्र अभिनेता तथा रंगकर्मी टीका पहारी ३६ वर्ष लामो अन्तरालपछि फेरि नाटकमा फर्कंदै छन्। २०३८ सालमा भारतको मुम्बईमा एक और द्रोणाचार्य नामक हिन्दी नाटकमा अभिनय गरेपछि उनी सुलक्षण भारतीले निर्देशन गर्न लागेको लाटीको छोरा नामक नेपाली नाटकबाट फेरि नेपाली रंगमञ्चमा फर्कन लागेका हुन्।
आगामी भदौ २० गतेबाट काठमाडौंको मण्डला थिएटरमा प्रदर्शन हुने नाटकको लागि हाल उनी रिहर्सलमा व्यस्त छन्। नवलपरासीबाट २०३३ सालमा काठमाडौं आएर पहिलोपटक एक घटना नामक नाटकमा अभिनय गरेका उनी त्यसपछि अर्को एक नाटक खेलेर भारतको मुम्बई लागेका थिए। भारतमा अभिनय पढेर नेपाल आएपछि फिल्म क्षेत्रमा सक्रिय भएका उनको त्यसपछिको पहिलो नाटक नै लाटीको छोरा हो।
‘पञ्चायतकाल भएकाले त्यति बेला नाटक खेल्न निकै गाह्रो थियो।

नाटकको संस्था दर्ता गर्न पनि निकै गाह्रो थियो। आफूलाई मन परेको क्षेत्रमा लागेर पनि राम्रोसँग काम गर्न पाइँदैन र दुःख नै पाउनुपर्छ भने किन यहाँ मात्र बस्ने भनेर म राम्रो अवसरको खोजी गर्दै भारतको पुनास्थित फिल्म इन्स्टिच्युट अफ इन्डियामा एक्टिङ पढ्न गएँ’, टीकाले सुनाए– ‘त्यहाँबाट पढेर आएका धेरै प्रोडक्ट नेपाली फिल्मी क्षेत्रमा छन्। कोही डाइरेक्टर, कोही टेक्निसियनकारूपमा छन्। एक्टर भने म मात्र हुँ। त्यहाँ पढ्दै गर्दा मुम्बईको अल इन्डिया थिएटर एसोसियसन नामक संस्थामा आबद्ध भएर १२÷१३ वटा नाटकमा अभिनय गरें। त्यसपछि २०३८ सालमा नेपाल आएर म फिल्म क्षेत्रमा लागेको हुँ।’ मुम्बईको बसाइपछि काठमाडौं आएका उनले बदलिँदो आकाशमा अभिनय गरे। त्यसपछि दर्पण छायाँ, भिस्म प्रतीज्ञा, युगदेखि युगसम्म, विजय पराजय, चट्याङ, बादल, सम्झनालगायतका दर्जनौं फिल्ममा चरित्र अभिनेता र खलनायकको रूपमा अभिनय गरेर आफ्नो दरिलो अभिनय क्षमता प्रस्तुत गरे। पछिल्लो समय उनले बाटोमुनिको फूल–२, फागु, आधा लब, २ रुपियाँ, छक्का पञ्जाजस्ता फिल्मबाट पनि आफूलाई अभियन यात्रामा अगाडि बढाइरहेका छन्।

खास गरी फिल्ममार्फत् अभिनय यात्रालाई अगाडि बढाउँदै आएका उनले समय अभावका कारण नाट्य क्षेत्रबाट टाढा हुनुपरेको बताए। ‘जब म इन्डियाबाट आएँ, त्यसपछि फिल्मतिरै व्यस्त हुन थालें। त्यो बेला सुटिङको बेला मात्र काठमाडौं आउँथे र अरू बेला नवलपरासीस्थित गाउँमै बस्थें’, टीकाले भने– ‘२०५० सालसम्म पनि नेपालमा नाट्य क्षेत्रको राम्रो अवस्था थिएन। कहिलेकाहीं नाटकका लागि मात्र काठमाडौं आइरहन पनि अव्यवहारिक हुने भएकाले नाटकलाई निरन्तरता दिइरहन सकिएन। तर, समय मिलाएर राम्रो विषयको नाटक पाए भने खेल्ने विचार चाहिँ थियो। यो नाटक राम्रो भएकाले यत्रो वर्षपछि फेरि रंगमञ्चमा फर्कंदै छु।’ रंगमञ्चबाट फिल्ममा प्रवेश गर्ने कलाकारको जमात बाक्लिँदै गर्दा फिल्मबाट रंगमञ्चमा फर्केका उनी समय मिले र राम्रो कथावस्तुको नाटक भए रंगकर्मलाई निरन्तरता दिइरहने बताउँछन्। ‘सबै कुरा समय हो, मलाई नाटकबाट फिल्म र फिल्मबाट नाटकमा ल्याउने पनि समय नै हो। यही समयकै कारण म लामो समयपछि रंगमञ्चमा आएको छु। समयले साथ दिएसम्म म नाटकलाई कन्ट्युनिटी दिनेछु –टीका भन्छन्। पहिलेको भन्दा अहिले नेपाली नाट्य क्षेत्रको स्थिति पहिलेको तुलनामा धेरै सुधार भएको पहारी बताउँछन्। ‘पहिले हामीले काम गर्दा अभिनयसँगै अन्य धेरै कुराको व्यवस्थापन हेर्नुपथ्र्यो। तर, अहिले त्यस्तो छैन। नाटक खेल्नेले ए टु जेड आफ्नो काममा मात्र ध्यान दिए पुग्छ। अहिले नाट्य क्षेत्र व्यवसायिक भएको छ। नाटकमा हेल्प गर्नेहरु धेरै छन्। अहिले नाटकलाई स्पोन्सर गर्नेहरु पनि धेरै छन्’ –उनले भने।

वषौंदेखि कलाकारितामा रमाइरहेका उनी फिल्मभन्दा रंगमञ्चमा अभिनय गर्नुको आनन्द बेग्लै रहेको बताउँछन्। ‘रंगमञ्चमा काम गर्नुको आनन्द नै अर्कै छ। यसमा अनस्पट रिजल्ट आउँछ। अडियन्सको रेस्पोन्स तुरुन्तै पाउन सकिन्छ। लाइभ पर्फमेन्स भएकाले नाटक शुरु भएदेखि नसकिने बेलासम्म निरन्तर काम गर्न पाइन्छ’, पहारीले भने– ‘तर फिल्ममा एउटै सिनका लागि धेरै समय लाग्छ। आफूले कस्तो काम गरेको रहेछु भन्ने कुरा फिल्म हलमा लागेर अडियन्सको रेस्पोन्स नआएसम्म कुर्नुपर्ने हुन्छ।’

फिल्म क्षेत्रमा परिवर्तन देखिए पनि उनी सन्तुष्ट भने छैनन्। ‘पहिले र अहिलेका नेपाली फिल्ममा प्राविधिक क्षेत्रमा उल्लेख्यरूपमा परिवर्तन आए पनि यस्तो परिवर्तनको ५ प्रतिशत मानिसहरुले मात्र उपयोग गरीरहेकोमा उनको दुःखेसो छ। ‘प्राविधिक क्षेत्रमा निकै परिवर्तन आएको छ। तर, पनि यसले ९५ प्रतिशत डिस्एडभेन्टेज ल्याएको छ। जति फाइदा दिनुपर्ने हो, त्यति फाइदा दिन सकेको छैन। पहिले फिल्म निर्माण गर्दा प्राविधिक कारणले नै धेरै आर्थिक भार पथ्र्यो। तर, अहिले त्यस्तो अवस्था छैन’, पहारीको अनुभव छ– ‘प्रविधिमा सरलीकरण हुँदा पनि सही फाइदा उठाउन फिल्मकर्मी अल्छी मानिरहेका छन्। नेपाली पिल्मका कथावस्तुमा पहिलेभन्दा केही परिवर्तन त आएका छन्। तर, पनि अन्य फिल्मबाट कपी गर्ने कुरामा बढी विश्वास गरेर फिल्म निर्माण गरिन्छ। तर, हामीले फिल्ममा आफ्नो देशको सभ्यता, सुन्दरता, संस्कृति आदिलाई लिएर फिल्म निर्माण गर्दा संसारलाई देखाउन सकिन्छ। उनीहरुकै फिल्म कपी गरेर विदेशमा प्रदर्शन गर्दा हाम्रो फिल्मबाट कपी गरेर ल्याइएको रहेछ भनेर हाम्रो फिल्म विदेशीले हेर्दैनन्।’

फिल्मकर्मीले फिल्म निर्माण गर्दा सकेसम्म दुःख नहुने गरी फिल्म बनाउने गरेको र यसले गर्दा नेपालको पहिचानलाई विस्तार गर्न नसकेको उनी बताउँछन्। उनी भन्छन्– ‘हाम्रो फिल्म लाइनका व्यक्तिहरु आफ्नो काममा दुःख गर्दैनन्। सकेसम्म काठमाडौं र वरिपरि नै रहेर काम गरौं भन्ने सोच छ। नेपालका राम्रा–राम्रा दृश्य हिमाल पहाडको सुन्दरता प्रयोग गरिँदैन। त्यसैले गर्दा पनि सबै फिल्म एकै प्रकारका लाग्छन् र दर्शकलाई भेराइटी दिन सक्दैनन् भने नेपाली फिल्ममा नेपालीपन नै हेर्न पाइँदैन।’

प्रतिक्रिया दिनुहोस्