उत्तर कोरियाद्वारा अमेरिकाको गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने संकेत, जापानद्वारा उच्च सतर्कताको घोषणा



 

टोकियो, (एजेन्सी)
जापान सरकारले छिमेकी देश उत्तर कोरियाको आक्रामक गतिविधिलाई ध्यानमा राखी देशमा उच्च सतर्कताको घोषणा गरेको छ।

यसैबीच उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्र गुआम द्वीपमा क्षेप्यास्त्र हमला गर्ने विषयमा विचार भइरहेको बताएको छ। जापानको सरकारी न्युज एजेन्सी क्योदोले जापानका रक्षामन्त्री इत्सुनोरी ओनदडेराले यो विषयमा पत्रकारसँग कुराकानीमा उक्त घोषणाका बारेमा बताएका हुन्।

ओनदडेराले भने– ‘उत्तर कोरियाको तर्पmबाट आइरहेको खतरा त्यो स्तरमा पुगिसकेको छ, जसमा हामी सधैं सतर्क रहनुपर्नेछ। उत्तर कोरियासँग त्यस्ता हतियार छ वा ती हतियार चाँडै हासिल गर्ने क्षमता राख्छ भन्ने कुराको पुष्टि गर्न उसको गतिविधिमा सुनियोजित ढंगले निगरानी राख्नुपर्नेछ।’

जापानको सरकारले हालै मात्र सुरक्षासँग सम्बन्धित श्वेतपत्र जारी गरेको छ। त्यसमा उत्तर कोरियासँग पहिलेदेखि नै सानो परमाणु हतियार भएको र यसलाई लामो दूरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने स्वीकार गरिएको छ।

प्राप्त जानकारीअनुसार उत्तर कोरियाको परमाणु हतियार र क्षेप्यास्त्र कार्यक्रमले नयाँ खतरा उत्पन्न गरेको छ भन्ने कुरामा कुनै आशंका बाँकी नरहेको जापानका एक मन्त्रीले बताएका थिए। जापान सरकारको प्रमुख क्याबिनेट सेक्रेटरी योसिहाइड सुगाले जापान यस मामिलासँग जोडिएका सबै सूचनालाई गम्भीरतापूर्वक संकलनमा जुटिरहेको बताए।

यसैबीच दक्षिण कोरियाको एक सैन्य अधिकारले गत हप्ता अमेरिकी बमवर्षक जहाज बी१बी लेन्सर्सले दक्षिण कोरियाको आकासमा उडान भएको बताए। उक्त विमान अमेरिकी दक्षिण कोरिया संयुक्त वायुसेना अभ्यासअन्तर्गत कोरियाली प्रायद्वीपमा तैनाथ रहेको उनले जानकारी दिए। तर उक्त बमवर्षक विमान अमेरिकाको ग्वामद्वीपबाट उडान गरी आएको बताइएको छ।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियालाई धम्की दिँदै यदि दक्षिण कोरियाले छिट्टै अमेरिकीको जस्तो व्यवहार गर्न बन्द नगरेमा उसका लागि अस्तित्व बचाउन कठिन हुन सक्ने बताएको छ।
गुआममा आक्रमण गर्न विचाराधीन
उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्र गुआम टापुमा क्षेप्यास्त्र आक्रमण गर्ने विषयमा विचार भइरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी आएको केही घण्टापछि नै उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उक्त सैन्य विज्ञप्ति जारी गरेको हो।

गुआम द्वीपबाट गुआमको दूरी करिब ११ हजार किलोमिटर छ भने उत्तर कोरियाबाट उक्त द्वीप ३ हजार ४ सय ३० किलोमिटर छ। हालै मात्र अमेरिकी सेनाले गआममा सैन्य अभ्यास गरेको थियो। गुआममा अमेरिकी सामरिक बमवर्षक विमानको अड्डा रहेको छ।

अमेरिकको वायुसेना र नौसेनाको हवाईअड्डा रहेको द्वीप ५ सय ४१ किलोमिटरमा फैलिएको छ। यो द्वीप अमेरिकाका लागि सामरिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिएको छ। यो द्वीपको आवादी करिब १ लाख ६३ हजार छ। यहाँको एक चौथाइ हिस्सामा अमेरिकाको सैन्य बेसक्याम्प रहेको छ। अमेरिकाले निकट भविष्यमा यहाँ आफ्नो सैन्य उपस्थिति बढाउने योजना बनाइरहेको छ। अहिले उक्त टापुमा ६ हजार अमेरिकी सैनिक तैनाथ रहेको सञ्चारमाध्यमहरूले जनाएको छ।

गुआममा नागरिकलाई अमेरिकी नागरिक नै भन्ने गरे पनि राष्ट्रपति चुनावका लागि भने मतदान गर्ने अधिकार दिएको छैन। अमेरिकी नौसेनाले उक्त द्वीपमा पहिलो पटक १८९८ मा पुगेका थिए। सन् १९४१ डिसेम्बरमा यस द्वीपमा अमेरिकाको कब्जा रह्यो। तर पर्ल हार्बरमा आक्रमणपछि जापानले मात्र दुई दिनमा यस द्वीपमा कब्जा गरेको थियो। जापानले दुई वर्षमा यस द्वीपमा १ हजार नागरिकको हत्या गरेको थियो। सन् १९४४ मा अमेरिकाले यस द्वीपमा पुनः कब्जा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्