मेलम्चीमा फेरि पुसको भाका, दशैंअघि आउने बताइँदै आएको थियो



नानीराम नेपाल, सिन्धुपाल्चोक
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररूपमा अघि बढाउन निर्देशन दिनुभएको छ। बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका क्रममा मेलम्ची आइपुग्नुभएका उहाँले बहुप्रतिक्षित यो आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो।

आयोजनाको स्थलगत निरीक्षणमा बुधबार दिउँसो हेलिकोप्टरबाट यस क्षेत्रमा आउनुभएका उहाँले कुनै पनि बाहनामा राष्ट्रिय गौरवको यो आयोजनामा ढिलाइ गर्न नहुने बताउनुभयो। यसअघि विभिन्न बाहनामा ढिलाइ भइरहे पनि अब थप ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो। ‘राजधानीमा मेलम्चीको पानी लैजाने विषयमा पैसाको कुनै चिन्ता नलिनुस्’, निरीक्षणका क्रममा आयोजनाका अधिकारीहरूसँग उहाँले भन्नुभयो– ‘तीव्ररूपमा काम गर्नुस्, छिट्टै मेलम्चीको पानी राजधानी पुर्याउनुपर्छ।’

प्रधानमन्त्री देउवासहित आयोजनाको स्थलगत निरीक्षणमा आएको टोलीले आयोजनाको इन्टेक, डइम र टनेलको समेत अवलोकन गरेको थियो। देउवासहित सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र आयोजना रहेको क्षेत्रका सांसद शेरबहादुर तामाङ पनि टोलीमा सहभागी थिए। आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले प्रधानमन्त्रीसहितको निरीक्षण टोलीलाई हालसम्मको कार्य प्रगतिबारे ब्रिफिङ गरेका थिए।

आगामी दशैं अगावै मेलम्चीको पानी काठमाडौं लैजाने लक्ष्य लिइएको थियो। तर आयोजनाका एक अधिकारीका अनुसार अब दशैंअगावै मेलम्चीको पानी काठमाडौं पुग्ने सम्भावना टरेको छ। यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको निरीक्षणमा आउँदा २०७४ वैशाखभित्रै मेलम्चीको पानी काठमाडौं पुग्ने विश्वास लिएर फर्किनुभएको थियो।

वैशाखमा आयोजना सम्पन्न हुन नसकेपछि आउँदो दशैंसम्म मेलम्ची सम्पन्न हुने बताइएको थियो। अब दुई किलोमिटर मात्र सुरुङ खन्न बाँकी रहे पनि मेलम्ची खानेपानी आयोजना दशैंसम्म पनि सम्पन्न नहुने देखिएको छ। ‘काम त तीव्र रुपमै भइरहेको छ, अब पुष सम्ममा मेलम्चीको पानी काठमाडौं पुग्नेछ’, ती अधिकारीले भने।

यसअघि नै सम्पन्न भइसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना शुरु भएको १९ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। आर्थिक वर्ष ०५५÷०५६ मा शुरु गर्ने भनिए तापनि मेलम्ची खानेपानी आयोजना सोही वर्ष शुरु हुन सकेन। बारम्बार फेरिइरहने ठेकेदार कम्पनी र त्यसमाथि ढिलासुस्ती भएपछि मेलम्ची खानेपानी आयोजना अघि बढ्न नसकेको हो। तर, पछिल्लो वर्ष मेलम्चीले कार्यप्रगतिमा ठूलो फड्को मारेको छ। मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये झण्डै २४ किलोमिटर सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ। अब २ किलोमिटरमात्र सुरुङ निर्माण गर्न बाँकी रहेको आयोजनापक्षले बताएको छ।

प्रतिक्रिया दिनुहोस्