रिभानको पहिरोले १५ घरमा क्षति



 

धन बस्नेत, पोखरा
गएको मंगलबार राति १० बजे कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभानस्थित खहरे खोलामा आएको बाढीले १५ घर क्षतिग्रस्त भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार घरसँगै गाईबस्तु तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। स्थानीय देवीलाल लामिछानेको घरमा क्षति पुगेको छ भने गाईको मृत्यु तथा पाँच सय कुखुरा बगाएको जनाएको छ। त्यसै गरी फोमाया विकको घरसहित चारवटा बाख्रा बगाएको छ। त्यस्तै प्रवीण लामिछाने, गंगा आचार्य, सन्तुमाया लामिछाने, हिमाल भसाल, गंगा विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, गंगा विक, प्रल्हाद लामिछाने, डम्बर विक, खेमकुमार विक र रेशम लामिछानेको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन्।

बाढीपहिरोले घर बगाएको घटनालगत्तै घाचोकस्थित प्रहरी सहायक निरीक्षक बिलबहादुर थापाको कमान्डमा गएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीको कमान्डमा १५ सदस्यीय टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयबासीले समेत उद्धार कार्यमा तदारुकता देखाएका थिए।

पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले प्रति परिवार १५ हजारको दरले राहत सहयोग उपलब्ध गराएका थिए। त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला सदस्य प्रवीण अधिकारीले पार्टीको तर्फबाट १३ थान कम्बल १३ थान त्रिपाल प्रमुख जिल्ला अधिकारीमार्फत् वितरण गरिएको छ। त्यस्तै जिल्ला रेडक्रस सोसाइटी कास्कीका सभापति वामदेव ढुंगानाले परिवारको लागि खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्