राप्ती नदीमा तटबन्ध नहुँदा वर्षेनी जमिन कटानमा



 

नरेन्द्र केसी, घोराही, दाङ
राप्ती नदीमा तटबन्ध नहुँदा वर्षेनी खेतीयोग्य जमिन कटान हुने गरेको छ। यो वर्ष पनि वर्षात् शुरू भएसँगै कटान शुरू भएको किसानहरूले बताएका छन्।

यसै क्रममा राप्ती नदीले बहाव परिवर्तन गरी खेतीयोग्य जमिन कटान तीव्र पारेको छ। लमही नगरपालिका–४ वुटकौवा गाउँमा केही दिनदेखि नदीले खेतीयोग्य जमिन कटान तीव्र पारेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

यो गाउँका बासिन्दा राप्ती नदीको कटानले गर्दा दुईपटक विस्थापित भइसकेको छ। ‘अहिलेसम्म मेरो १५ कट्ठा जमिन राप्तीले कटान गरिसकेको छ, यस वर्ष धान रोपेको खेत पनि कटान गरिरहेको छ’, स्थानीय शान्तिप्रसाद चौधरीले भन्नुभयो– ‘हामी जमिनदार पनि होइनौं, अर्काको जमिन जोतेर खाने हाम्रा लागि राप्नी नदी अभिसाप बन्न थाल्यो।’ यो गाउँको मात्र करिब ३५ विगाह जमिन यो वर्ष कटानमा परेको छ। गाउँलेहरूले आफ्नै प्रयासमा कच्ची तटबन्ध गरेपछि यो वर्ष त्यसले काम गरेन।

नदीको बहाव परिवर्तन भएपछि मकै र धान लगाएको जमिन कटान गरेको स्थानीय रेणु चौधरीले बताउनुभयो। ‘पानी पर्न थालेपछि मन रुन्छ, नदी हामी बसेको गाउँ नजिक भइसके, तार जाली नलगाउने हो भने हाम्रो गाउँ नदीले बगाउने सम्भावना छ’, उहाँले भन्नुभयो– ‘गाउँलाई नदी कटाबाट बचाउन तटबन्ध चाहियो।’ आफूहरू नगरपालिकाका नागरिक भए पनि दुःख भोग्नुपरिरहेको उहाँको भनाइ छ।

समयमा तटबन्ध नहँुदा कटानको जोखिममा परेको स्थानीय अगुवा तिलकराम चौधरीले बताउनुभयो। ‘नगरपालिकाकामा निवेदन दियौं, गाउँ जोखिमममा छ, तटबन्ध गर्न योजना पार्नुपर्छ भनेर आवाज उठायौं तर, योजना परेन्’, उहाँले भन्नुभयो– ‘तारजाली मात्रै कतैबाट व्यवस्था भए हामी आफैं तटबन्ध गर्न सक्छौं, गाउँलेले नै ९० ट्रिप ढुङ्गा जम्मा गरेका छौं।’
जनताको तटबन्ध कार्यक्रमले राप्ती नदीमा तटबन्ध गर्नुपर्ने हो। तर, जोखिम भएका क्षेत्रभन्दा पहुँचको आधारमा ठाउँहरू छनोट गर्दा जोखिममा परेका बस्तीलाई केन्द्रित गरेर तटबन्ध नगरिएको स्थानीयको गुनासो छ। स्थानीय बुद्धिजीवी लालमणि चौधरीले गाउँको समस्या लगेर जनताको तटबन्ध कार्यालयसम्म पुगे पनि बजेट अभाव भन्दै समस्यालाई ध्यान नदिएको बताउनुभयो।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले वुटवौगा गाउँको समस्याको बारेमा अन्य सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो। चाँडै तारजालीको व्यवस्था हुने उहाँले बताउनुभयो। ‘वडाअध्यक्षसँग मेरो कुरा भएको छ, इन्जिनियरलाई लगेर त्यहाँ जाने र के कति तारजाली आवश्यक पर्छ व्यवस्था गर्ने कुरा भएको छ’, उहाँले भन्नुभयो– ‘विपद्को जोखिम कम गर्न सबै सक्रिय हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्