प्रहरीसँग वन तस्करको कनेक्सन



सन्तोष खनाल, काठमाडौं

दाङ देउखुरी क्षेत्रको चुरेमा तस्करसँग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ। वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ।

सो संस्थाका अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसँग सेटिङ गरी अबैधरूपमा वन विनाश गरिरहेको जानकारी दिनुभयो । जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भइरहेको उहाँले बताउनुभयो। जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ चोरी तस्करीको अखडाको रूपमा चिनिन्छ।

बालुवा तथा ढुंगा लोड गर्ने ट्याक्टरमा समेत लुकाएर काठ चोरी–निकासी भइरहेको छ। ‘पहिलेको भन्दा अलि कमचाहिँ भएको महसुस भएको छ तर भित्रभित्रै काठ तस्करी भइरहेको छ’, पन्तले भन्नुभयो– ‘यसमा प्रहरीको मिलोमतो नभई कसरी हुन्छ ?’ उहाँले प्रहरी र वनका कर्मचारी नमिलिकन तस्करले यति ठूलो हर्कत गर्न हिम्मत नगर्ने बताउनुभयो ।

‘तस्करसँग सेटिङ नभई उनीहरुको मनोबल बढ्दैन’, उहाँले भन्नुभयो– ‘यहाँ सबैको मिलोमतोमा यस्तो हुने गर्छ।’ पछिल्लो समयमा ट्याक्टरमा ढुंगा र बालुवाभित्र लुकाएर निकासी गर्दै गरेको काठ पटक–पटक समातिएका छन्।

ढुंगा–बालुवा देखाएर काठ चोरी गर्नेक्रम बढेपछि केही समयअगाडि त्यस्ता ट्याक्टरमा निगरानी बढाइएको थियो तर अहिले त्यो सबै सेलाएको छ। अहिले पनि रातिको समयमा काठ तस्करी भइरहेको स्थानीय पत्रकार शिवराज पन्थीले जानकारी दिए। उनका अनुसार देउखुरीको चुरेक्षेत्रमा पहिले भन्दा तस्करी कमी भएको देखिए पनि रातिमा तस्कर सल्बलाइरहेका छन्।

अतिक्रमणले चुरे मासियो
देउखुरी क्षेत्रमा वनको व्यापक अतिक्रमण हुँदा चुरे मासिएको छ। विभिन्न खाले पीडितका नाममा वनमा बस्ने र अतिक्रमण गरेर वन सखाप पार्ने अर्को गिरोह सक्रिय भएको बताइएको छ। २÷३ वटा घर भएका पनि पीडित भन्दै वन अतिक्रमण गरेर बसेको स्थानीय सामुदायिक वनका पदाधिकारीले बताएका छन्।

देउखुरीको खबरी सामुदायिक वनमा २०२७ सालमा भएको नापीमा ४८ बिगाहा मात्रै नापी भएको त्यहाँ अहिले ४ सयभन्दा बढी बिगाहा जग्गा अतिक्रमण गरिएको पन्तले बताउनुभयो। उहाँले गंगापरस्पुर, गढवा बेलालगायतका स्थानका सामुदायिक वन धेरै अतिक्रमित भएको बताउनुभयो। ‘वनमा विभिन्न पीडितका नाममा अतिक्रमण मौलाएर वन सकिँदै गएको छ’, पन्तले भन्नुभयो– ‘यसमा दलीय सहयोग पनि छ।’ उहाँका अनुसार स्थानीय राजनीतिक दल र सर्वपक्षीय निकायले पहल थालेमा यो समस्या समाधान हुन्छ।

वन समूहको मिलोमतो
देउखुरी क्षेत्रको चुरेका अबैध चोरी तस्करीमा त्यहाँका सामुदायिक वनका पदाधीकारीको मिलोमतो हुने गरेको छ। सामुदायिक वनका पदाधिकारी बन्न तस्करको मिलोमतोमा चुनावमा लाखौं खर्च गरेर जाने त्यसपछि दुई नम्बरी काममा लाग्ने गरेको पनि स्थानीय उपभोक्ताले आरोप लगाएका छन।

स्थानीयका अनुसार काठको काम गर्ने ठेकेदारले नै वन पदाधिकारी छान्न उम्मेदवार बनाउने र चुनावमा मोटो रकम खर्चेर जिताउने गरेका छन। ‘पहिले चुनावमा जिताएर आफ्नो मान्छे ल्याउँछन् अनि विधान संशोधन गरेर काठ बेचिन्छ’, एक उपभोक्ताले भने– ‘यहाँ सबै सेटिङ पैसाको आडमा हुन्छ।’

त्यसै गरी देउखुरीको चुरे क्षेत्रमा पर्ने सामुदायिक वनमा वनका पदाधिकारीकै मिलोमतोमा हरियो रुखको बोक्रा खुइल्याएर रुख सुकाई ढलापडाको नाममा बेचिने गरेको पनि उपभोक्ताले आरोप लगाएका छन। ‘यहाँ हरियो रुख सुकाएर ढलापडाको नाममा बेच्ने काम पनि हुन्छ’, गंगापरस्पुरका एक उपभोक्ताले नाम नबताउने सर्तमा नेपाल समाचारपत्रलाई भने– ‘यसमा वनका पदाधिकारीको पनि हात हुन्छ।’
समिलसँग सेटिङ

वनमा तस्करी गरेर ल्याइएको अबैध काठलाई बैध बनाएर त्यहाँका समिलले बेच्ने गरेको बताइएको छ। वनबाट काठ ल्याउन ठप्पै छ तर दैनिकजसो घरका जग हाल्ने काम भइरहेका छन्। सबै घरलाई काठ पर्याप्त छ।

यो सबै तस्करीबाट आएको स्थानीयले बताएका छन्। सके सीधै सम्पर्कमा ल्याउने नभए समिलको सम्पर्कमा काठ ल्याउने काम भएको एक स्थानीयले बताए।’

दिनदहाडै बन्दुक पड्कन्छ
यता देउखुरी क्षेत्रमा चोरी शिकारीसमेत व्यापकरूपमा हुने गरेको स्थानीयले बताएका छन्। देउखुरी क्षेत्रको चुरेमा दिनदहाडै बन्दुक पड्कने गरेको सामुदायिक वनका चौकीदारहरु बताउँछन्।
‘हामी वनमा जाँदा दिउँसै बन्दुक पड्केको आवाज आउँछ। हामीलाई वनमा जानै डर लाग्छ’, एक चौकीदारले भने– ‘हतियारसहित चोरी तस्करी गर्न हिँडेकालाई पनि देखेका छौं।’

चुरेको वनमा चोरी शिकारी गर्नेले वनमै हतियार राखेर दिनदहाडै शिकार गर्दै हिँड्ने गरेको पन्त बताउनुहुन्छ। ‘हतियारसहित वनमा शिकार गर्छन्’, उहाँले भन्नुभयो– ‘यसलाई नियन्त्रण गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्