क्षेत्रीय होटल संघ नेपालगन्जमा राणा



 

नेपाल समाचारपत्र
काठमाडौं
क्षेत्रीय होटल संघ नेपालगन्ज च्याप्टरमा असित शमशेर जबराको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ।

संघीय संरचना संरचनाअनुरुप उद्योगको विकास र विस्तारका लागि होटल संघले खेल्दै आएको भूमिकालाई अझ प्रभावकारी बनाउन संघलाई पनि प्रादेशिक संरचनामा लैजाने उद्देश्यले बाँके, बर्दियालगायतका क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट जबराको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको होटल संघ नेपालले जनाएको छ।

कार्यक्रममा होटल संघ नेपाल अध्यक्ष अमरमान शाक्यले होटलहरूको छाता संगठन होटल संघ नेपाल विगत ५ दशकदेखि होटल तथा समग्र पर्यटन उद्योगको विकास र उत्थानका लागि सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो। बैठकले बोर्डर पर्यटनको विकासका निमित्त प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका अवसरमा प्रधानमन्त्रीलाई भेट गरी नेपाल भारत पर्यटन प्रवद्र्धनसम्बन्धी विषयमा जानकारी गराउनेसमेत उक्त बैठकमा छलफल भएको थियो।

उक्त भेलामा महासचिव विनायक शाहले होटल उद्योगको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्दै यसको क्रियाकलाप र प्रभावकारिताका बारेमा पनि स्पष्ट पार्नुभयो। साथै कोषाध्यक्ष सुनिल शाक्यले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै हालको विमानस्थल व्यवस्थापनमा सुधारको जोड दिनुभयो।

त्यस्तै प्रथम उपाध्यक्ष सृजना राणाले आगन्तुक सबै होटल उद्योगी तथा पर्यटन व्यवसायीलाई क्षेत्रीय मुद्दाहरूमा होटल संघ नेपालको सदैव साथ र समर्थन रहने बताउनुभयो। नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका निर्देशक प्रतापबाबु तिवारीले नेपालगन्जको पर्यटनलाई समग्र विकास गर्नमा प्राधिकरण सदैव सहयोग र समर्थन गर्न तत्पर रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्