मेलम्ची आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन



 

चौतारा, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानको इन्टेक र सुरुङको आज अवलोकन गर्नुभयो ।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी आयोजना सन् २००१ मा सुरु भएको र हालसम्म सम्पन्न हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

आयोजनालाई आवश्यक पर्ने रकम दिन सरकार तयार रहेको उल्लेख गर्दै उहाँले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

आयोजनास्थलमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आयोजनाको प्रगति तथा वस्तुस्थिति अवगत गराउनुभएको थियो ।

निरीक्षणका क्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सांसद शेरबहादुर तमाङको समेत उपस्थिति रहेको थियो ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले नेपाली सहायक ठेकेदारलाई दिनुपर्ने रकम भुक्तानी नदिएको भन्दै साइट कार्यालयमा शुक्रबारदेखि तालाबन्दी गरी कामकाज ठप्प पारिएको आयोजनाले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्