नेयमारको डेब्युमा बाधा



 

लन्डन, (एजेन्सी)
नेयमार २२ करोड २० लाख युरोको विश्व रेकर्ड रकमका साथ पेरिस सेन्ट जर्मेनमा आफ्नो करिअर बनाउन आबद्ध भइसकेका छन्। शनिबारदेखि उनको पेरिसमा डेब्यु हुन्छ भने पनि त्यो हुन सकेको छैन। कारण उनको पूर्व क्लब बार्सिलोनाले अहिलेसम्म फ्रेन्च लिग वान क्लबलाई अन्तर्राष्ट्रिय ट्रान्सफर पेपर उपलब्ध गराएको छैन। जसले गर्दा नेयमारले पेरिस सेन्ट जर्मेनका लागि डेब्यु खेलमा खेल्न पाएकै छैन। पेपरबिना पेरिसको क्लबले नेयमारलाई क्लबमा दर्ता गर्न पाउनेछैन।

यदि पेपर नपाएमा पेरिसको क्लबले स्पेनी ला लिगा क्लबलाई बाइपास गरी फिफामा सीधै जान सकिनेछ। तर यसो गरेमा पनि नेयमारले लिग वानमा खेल्न ढिलाइ हुने सम्भावना पनि रहेको छ। बार्सिलोनाले ढिलाइ हुने सामान्य रहेको दलील दिएको छ। ले पेरिसिएनका अनुसार ला लिगा अध्यक्ष जेभिइर टेबासले पेरिस क्लबले वकिलद्वारा दिएको चेक स्वीकार गरेका छैनन्। ट्रान्सफर रकमको चेक गत बिहीबार नै मेड्रिड पुर्याइएको थियो। ला लिगा फ्रेन्च क्लब आर्थिक डोपिङमा रहेको पनि आरोप लगाइरहेको छ।

नेयमारको आलोचना
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बाटोमिउले नेयमारले पेरिस सेन्ट जर्मेनका लागि क्लब छाड्नु अव्यावहारिक भएको भनेर आलोचना गरेका छन्।
जोसेपले ब्राजीली फरवार्डले २०१६ मा नयाँ सम्झौतामा हस्ताक्षर गर्दा नै क्लब छाड्न चाहेको शंकासमेत गरे। २५ वर्षीय नेयमारले पेरिस सेन्ट जर्मेनमा विश्व रेकर्ड २२ करोड २० लाख युरोमा सम्झौता गरेका हुन्। जोसेपले भने– ‘उनले जुन बाटो रोजे त्यो राम्रो थिएन। यो बार्सा खेलाडीमाथि आशा गरिएको व्यवहार पनि थिएन। नेयमार हाम्रा क्लबको हिस्सा थिए करि चार वर्षमा। तर अहिले यो इतिहास भयो।’

उनले थपे– ‘अक्टोबरमा पाँच वर्षका लागि नयाँ सम्झौता गर्दा नै हामीलाई शंका लागेको थियो। त्यसैले क्लबले उनको ट्रान्सफर रकम ठूलो राख्यो तर पनि उनी बिकिए। उनी बिकेपछि त्यो रकममा हामी नयाँ राम्रो खेलाडी किन्न सक्नेछौं।’
नेयमारको प्रस्थानले बार्सिलोनाका तीन खेलाडीको आक्रामक खेल पनि टुटिने भएको छ। मेसी, लुइस स्वारेज र नेयमारको गरी बार्सिलोनाको एमएसएन अटइक भनेर युरोपियन लिगमा लोकप्रिय बनेको थियो। नेयमारले बार्सिलोनामा चार सिजनमा १ सय ५ गोल गरेर च्याम्पियन्स लिग र ला लिगा दुईपटक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्