खेल र हनिमुन



 

युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएलगत्तै राजेन्द्र केसीले खेलकुदमा भ्रष्टाचार हुन नदिन कम्मर कसेर लाग्ने बताउनुभएको धरहराले पनि सुनेको हो। उहाँले शुरूमै अर्को कुरा के भन्नुभयो भने म २४ दिनमै खेलकुदमा परिवर्तन गर्छु। त्यस्तै ७ प्रदेशमा ७ वटा रंगशाला पनि निर्माण गर्ने उहाँले वचन दिनुभएको थियो। यस्ता भनाइ आएपछि धरहराको मन ज्यादै प्रफुल्ल पनि भयो। किनभने अब खेलकुदमा ठूलै फड्को मारिने भो।

तर, धरहरालाई अरूको कुराबाट भने ज्यादै नरमाइलो लागेको छ। मन्त्रीको कुरा कुरै मात्र हो भन्नेहरू पनि भेटिए। उनीहरू भन्दै थिए– नेपालमा जो खेल मन्त्री आए पनि यो गर्छु र त्यो गर्छु भन्छन्, अनि हराउँछन्। उनीहरूको कुरालाई पनि गम्भीर भएर हेर्नुपर्ने हो कि भन्ने यो धरहरालाई पनि लागेको छ। धरहरा वरपर थुप्रैको भनाइ रहेको छ– भत्केको धरहरा पनि बनाउने भन्दा भन्दै समय बितिसकेको छ। खोइ त बनेको? मन्त्रीको रंगशाला बनाउने भन्ने कुरा पनि कुरै मात्र हुनेछ। एक त उहाँको समय नै छैन। यहाँ कतिबेला सरकार ढल्छ र फेरि मन्त्री फेरिन्छ। अनि मन्त्रीलाई बहाना पनि हुन्छ कि मैले बनाउने भनेको हो सरकार नै ढल्यो के गर्ने?

हेरौं एकपटक चुनावमा पुकदालाई हराएर चर्चाको शिखरमा पुगेका खेलकुद मन्त्रीले खेलकुद क्षेत्रमा केही राम्रो गरेर अर्को शिखर चुम्नु हुन्छ कि हुन्न। धरहरा केही समय पर्खिने सोचमा छ है। कम्तीमा हनिमुन अवधि त उहाँलाई दिनै पर्यो नि।

प्रतिक्रिया दिनुहोस्