खेलाडीको सम्मानमा मन्त्री



नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी (बायाँ) लाई स्वागत गर्दै युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी ।

 

काठमाडौं, (नेस)
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हरिहर भवनस्थित निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा स्वयम् स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्नुभयो।

मंगलबार गरिएको कार्यक्रममा पुराना पुस्तादेखि नयाँ पुस्ताका नेपाललाई पदक दिलाउने खेलाडीहरूको उपस्थित रहेका थिए। उनीहरूलाई मन्त्री केसीले खादा र टीका लगाई स्वागत गर्नुभएको थियो। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसी, सागका म्याराथनमा लगातार तीनपटक स्वर्ण जितेका वैकुण्ठ मानन्धर, संगीना वैद्यलगायतको सहभागिता थियो। सो कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने र खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो।

मन्त्री केसीले बताउनुभयो– ‘मैले सुन्ने गरेको छु कि खेलकुदमा धेरै राजनीति हुन्छ भनेर। म त्यो हुन दिन्नँ। तपाईं खेलाडीहरू कडा परिश्रम र मेहनतबाट यो अवस्थामा आइपुग्नुभएको छ। तपाईंहरूको हौसला, प्रतिभा र ऊर्जालाई विभेद, अन्याय र राजनीतिका कारण कुनै पनि हालतमा मर्न दिन्नँ।’

मन्त्रीले १३औं दक्षिण एसियाली खेलकुदको मुख्य चुनौती पूर्वाधार भएको बताउँदै खेलकुदका पूर्वाधार भएका अन्य निकायसँग पनि जानकारी लिइरहेको पनि बताउनुभयो। ‘१३औं सागको तयारीका लागि धेरै समय छैन। यसको मुख्य चुनौती पूर्वाधार नै हो। त्यसै त हामीसँग कम पूर्वाधार छन्। भएका पूर्वाधार पनि भूकम्पले क्षति पुर्याएको छ। पूर्वाधारका सम्बन्धमा सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारका बारेमा पनि जानकारी लिने प्रयासमा छु। पोखरालाई पनि ध्यानमा राखिएको छ।’

यसैगरी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले इतिहासमै पहिलो पटक विभागीय मन्त्रीले खेलाडीलाई स्वयम् भेट्न बोलाएकामा मन्त्रीप्रति आभार प्रकट गर्दै यसले खेलाडीको दर्जा माथि छ भन्ने संकेत गरेको बताए। उनले खेलाडीले हासिल गरेको पदकको वर्गीकरण गरी शिक्षा, स्वास्थ्य, यातायातमा सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने माग राख्दै खेल र खेलाडीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री केसीलाई आग्रह गरे।

नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले आठौं सागमा नेपालले हासिल गरेको सफलतालाई दोहोर्याउने हिसाबले १३औं सागको तयारी थाल्नुपर्ने आवश्यकता औंलाए।

प्रतिक्रिया दिनुहोस्