नेदरल्यान्ड्सलाई महिला युरोकप



 

एम्स्टर्डम, (एजेन्सी)
नेदरल्यान्ड्सले युरोकप २०१७ अन्तर्गत महिला फुटबलको उपाधि जितेको छ।
नेदरल्यान्ड्सले घरेलु मैदानमा आइतबार राति भएको प्रतियोगिताको फाइनलमा डेनमार्कलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। महिला फुटबलमा नेदरल्यान्ड्सको यो नै पहिलो प्रमुख उपाधिसमेत बनेको छ।

नेदरल्यान्ड्सको एफसी ट्वेन्ते स्टाडिओनमा भएको खेलको छैठौं मिनटमै नदिया नदीमले पेनाल्टीमार्फत गोल गर्दै डेनमार्कलाई खेलमा शुरूआती अग्रता दिलाएका थिए। तर उक्त अग्रता धेरै समयसम्म भने टिकेन। खेलमा दुई गोलको योगदान गरेर प्लेयर अफ दि म्याच घोषित भएकी भीभीएन्ने मिएडमाले खेलको १०औं मिनेटमा पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। यसैगरी खेलको २७औं मिनेटमा लेके मार्टेन्सले २० यार्डको दूरीबाट गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २–१ ले अग्रता बनायो। तर दोस्रो गोल बेहोरेको ६ मिनेट नबित्दै पेर्निल्ले हार्डरले गोल गर्दै पहिलो हाफसम्मको खेलस्थिति २–२ गोलको बराबरीमा टुंग्याए।

दोस्रो हाफमा भने तुलनात्मक रूपमा घरेलु टोली हावी रहेको थियो। जसअनुसार खेलको ५१औं मिनेटमा डच कप्तान शेरिडा स्पित्सेले फ्रि–किकमार्फत गोल गर्दै नेदरल्यान्ड्सको गोल संख्या तीन पुर्याइन्। नेदरल्यान्ड्स यतिमा रोकिएन। नेदरल्यान्ड्सका पहिलो गोलकर्ता मिएडमाले खेलको ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ४–२ को स्थितिमा पुर्याइन्। जुन नतिजा खेलको निर्णायकसमेत बनेपछि नेदरल्यान्ड्सको महिला फुटबल टोलीले इतिहास रच्न सफल भए।

यसअघि समूह चरणमा पनि नेदरल्यान्ड्सले डेनमार्कलाई १–० ले पराजित गरेको थियो। जारी प्रतियोगितामा खेलेका पाँच खेलमा अपराजित रहँदै नेदरल्यान्ड्सले उपाधि उचालेको हो। नेदरल्यान्ड्सको महिला फुटबल टोली यसअघि कुनै पनि प्रतियोगिताको फाइनलसम्म पनि पुगेको थिएन। पछिल्लो पटक सन् २००९ मा सम्पन्न युरोकप महिला फुटबलको सेमिफाइनलमा हार्नु नै डच टोलीको उत्कृष्ट प्रदर्शन रहँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्