२०७४ सालस्य नेतागणेन गोजात्रा



 

हरि ओम् तत्सत् ⁄ हरि ओम् तत्सत् ⁄ हरि ओम् तत्सत् ⁄ काशी काशी हाम्रा नेताले खान थाले दुई महिनाको बासी, भारत वर्षे भारत खण्डे भारतका उत्तर भागे नेपाल खण्ड मध्यभागे प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन, सभासदह तथा नेतागणेन राजसंस्थायाम सत्ताच्यूत कर्मण निमित्तक म्लेक्ष राज्यस्य डलर एवं पाउन्ड द्रव्य सञ्चित कर्मण दुष्ट चरित्र प्रदर्शित हिन्दु राष्ट्र एवं हिन्दु धर्म विनिमय कर्म करिष्यते, ०६२⁄०६३ संवतसरेण जनआन्दोलनपश्चात् लोकतन्त्रेन, प्रजातन्त्रेन, गणतन्त्रेन दुरूपयोग प्रदर्शित, संविधान निर्माण कर्मणेन नृत कर्मस्य राज्यस्य ढुकुटीन खल्ती प्रदश्र्यामि तथा प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन नेतामण्डल १९५० को सन्धीमध्ये सुगौली सन्धीअन्तर्गत महाकाली सन्धी, टनकपुर सन्धी, गण्डक सन्धीमध्ये जो–जो प्रधानमन्त्री हुँदै दक्षिण दिशातिर (अमुक अमुक देशतर्फ) लागे मनोमानी गरी फर्केर नेपाल गमन भएका नेतामध्ये यहाँ आजका पुण्य दिनमा। प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन तथा नेतागणेन एकमुष्टेन गोजात्रा।

– राकेशकुमार शर्मा, गुलरिया नपा–६, बर्दिया
हालः हेटौँडा उमनपा–२, मकवानपुर

प्रजातन्त्रप्रति व्यङ्ग्यवाण

‘प्रजातन्त्र’ संख्या पुर्याएर राष्ट्रिय स्वाभिमान धर्म–संस्कृति–सद्भाव बेच्न सकिने ‘दलालतन्त्र’ हो। म यो प्रजातन्त्र किन मानौं देशभक्तिको सुगन्धित आकर्षण छैन भने ⁄ म यो व्यवस्था किन मानौं मेरी मातृभूमि नेपालप्रतिको प्रेम छैन भने ⁄ सफल प्रजातन्त्र भएका देशहरू जसमा अमेरिका, बेलायत, डेनमार्क, नर्बे, अस्ट्रेलिया, साउथ अफ्रिका, जापान इत्यादि जो एक–अर्का देशका सहयोगी देश हुन्, अर्कोतिर असफल प्रजातन्त्र भएका देशहरू जसमा इराक, सिरिया, लिबिया, सुडान जसले माथिका धनी देशहरूको स्वार्थका लागि सहयोगी बनेनन्। यसको अर्थ के हो, प्रजातन्त्रको राजनीतिक प्रक्रिया तपाईं–हाम्रा आधारभूत आवश्यकता र विकासका लागि होइन, यो त एउटा सिंगो देशलाई राजनीतिकरूपले आफ्ना स्वार्थका लागि त्यस देशको प्राकृतिक सम्पदामा कब्जा गर्ने, आफू र आफ्नो देशको उन्नति अनुकूल हुने गरी राजनीतिक प्रक्रिया व्यवस्थापन गर्ने नम्बर गमेर विदेशीहरूले बनाएको आधारशिला हो। जसमा विदेशीहरूले खेल्न सक्ने सामाजिकरूपले पर्याप्त ठाउँ राखिदिने माध्यम मात्र हो।

मलाई माफ गर्नुहोला, मेरो देशको अनुभवले मलाई यही सिकायो। देशको उच्च नेतृत्वमा जोसुकै होस्, धनी देशमा यस प्रजातन्त्रले अमेरिकन, युरोपियन, जापानिज जनतालाई धनी–सुखी–खुशी बनायो, तर हाम्रो देशमा शीर्ष भनिने केही नेता र तिनका कार्यकर्तालाई मात्र धनी–सुखी–खुशी बनायो, नेताहरूको दिन दुगिना रात चौगुन उन्नति गरायो। यो कस्तो प्रजातन्त्र हो नेपाल देश र नेपाली जनतालाई कंगाल बनाउने ? शीर्ष भनाउँदा नेता र उनका नजिकका कार्यकर्तालाई मात्रै धनी बनाउने यो कस्तो प्रजातन्त्र ⁄ यो कस्तो प्रजातन्त्र हो नेपाली चेलिबेटीहरूलाई होटेलमा पुर्याउने ⁄ विभिन्न शक्तिको दुरूपयोग गरेर पार्टीको नेतृत्व सम्हालेका भ्रष्टाचारीलाई संसद्मा पुर्याउने ⁄ यो कस्तो प्रजातन्त्र हो सक्षम जनशक्तिलाई खाडी मुलुक पठाउने ⁄ देशका प्राकृतिक सम्पदाहरू कोशी, महाकाली दिल्लीलाई बुझाउने ⁄ यो कस्तो प्रजातन्त्र हो देशको उर्बर खेतीयोग्य जमिन बाँझो राख्न लगाउने ⁄ विदेशीका रासायनिक खाद्यसामग्रीहरू कमिसनका लागि आयात गर्न लगाउने ⁄ यो कस्तो प्रजातन्त्र हो अधिकारका नाममा देशभित्र जनता मराउने ⁄ राजनीतिक उन्नतिका नाममा १२ र २५ बुँदे विदेशीका हितका लागि विदेशीमा गराउने ⁄ यो कस्तो प्रजातन्त्र हो ?

हे मेरा देशका नेताहरू हो, भन– यो कस्तो प्रजातन्त्र हो ? संख्या पुर्याएपछि हाम्रो राष्ट्रिय स्वाभिमान, धर्म, संस्कृति, सद्भाव बेच्न सकिने। हे वीर नेपाली हो ⁄ प्रजातन्त्र तपाईं–हामीले भोगेको जस्तो हो भने प्रजातन्त्र एउटा गौरवमय संस्थाको गरिमा भत्काउने दलालतन्त्र हो। प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण हेर्नुहोस् त, प्रहरी महानिरीक्षक हुन सक्ने गरी पुगेका सबै अफिसरहरू योग्य नै हुन्छन् नि। वरियताको क्रमअनुसार पदोन्नति गरेर संस्थालाई मर्यादित तथा संगठित बनाउने हो नि। जुन संस्थामा संस्कारको लागि युनिटी छैन वा गरिदैन म मेरो छोराछोरीलाई प्रहरी बन्न कहिल्यै प्रोत्साहन दिनेछैन। सबै नेपालीले पनि ठीक यही सोचेका होलान्।

प्रजातन्त्र झोलामा पैसा बोकेर भ्रष्टाचार गर्न पाऊँ भनी पद माग्नेलाई प्रमाणपत्र दिने दलालतन्त्र हो ? प्रजातन्त्र एउटा व्यक्ति, समाज, देशको नैतिकता, संस्कृति, सद्भाव पतन गर्ने दलालतन्त्र हो ? यो कस्तो प्रजातन्त्र हो, अमेरिकी, युरोपी आदि जनतालाई फाप्ने तर नेपाली जनतालाई नफाप्ने। प्रजातन्त्र दलालका लागि महालक्ष्मी हो तर आम गरिब नेपालीका लागि क्यान्सर हो, यो हाम्रो बालिनालीमा लाग्ने रोगजस्तै हो, जमिनको उर्बर शक्ति घटाउने रासायनिक मलजस्तै हो। यसका नीतिगत अन्तरवस्तु नेपाल र नेपाली नागरिकको हित हुने गरी सच्याउन वा परिवर्तन गर्न सकिँदैन। हजार रुपियाँको मासुभातमा हामीले आफ्नो भोट दिएर विगतमा १७ हजार निर्दोषहरूको हत्या भयो र भविष्यमा १७ लाख निर्दोषहरूको हत्या हुन सक्छ। त्यसमा म, मेरा छोराछोरी, मेरो परिवार वा मेरा आफन्तहरू पर्न सक्दैनन् भन्ने ठोकुवा गर्न सक्दिनँ। त्यसैले समग्र देश एकढिक्का भएर सजगताका साथ उपस्थिति जनाऊँ, दलालहरूको गलत क्रियाकलापको पतनका लागि।

– चक्र शाही

सिंहको दरबारभित्र स्यालको जात्रा

आजको दिन नेपालमा गाईजात्रा मनाइँदै छ। यसको व्यापक प्रचार पनि छ। यो चाड मनाउन कलाकारलाई भ्याई–नभ्याई छ। जनताको पनि हेर्ने ताँती छ। तर सधैँ गाईजात्रा भइरहने सिंहको दरबारमा स्यालको जात्रातर्फ कसैको ध्यान नगएपछि निरीह मन्त्रीले विज्ञप्ति नै निकालेर आमन्त्रण गरेका छन्। उनले वर्षौंभरि भइरहेको सिंहदरबारको स्यालजात्रामा ध्यान नगएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले व्यापकरूपमा सकी–नसकी देखाइने जात्रालाई कसैले मतलब नगरेको बताएका छन्।

‘देश र जनताको नाममा गरेको सबै कर्तुतलाई यो विज्ञप्तिमा मात्रै राखेर साध्य छैन, हामीले धेरै गरेका छौं’, विज्ञप्तिमा भनिएको छ। साथै विज्ञप्तिमा आफूले गरेका प्रगतिको बारेमा पनि उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘दैनिक १५ सयभन्दा बढी युवालाई धन कमाउन पठाएर देशको विकास गरेका छौं। हाम्रो कामलाई गलत तरिकाले प्रचारप्रसार गरेर विदेशिएका श्रीमतीसमेत पोइला जानुमा हाम्रो हात रहेको निराधार कुरालाई मात्रै बाहिर ल्याइएको छ। यो विषयमा हामी गम्भीर आपत्ति जनाउन चाहन्छौं। हामीले यो देशको प्रगति र उन्नतिका लागि सांसद र स्थानीय निकायका जनप्रतिनिधिलाई आफूखुशी मनलाग्दी गर्न सक्ने प्रावधान बनाएका छौं। त्यसै गरी सक्नेलाई सके जति भ्रष्टाचार गर्न सक्ने गरी सबैतिर सेटिङ मिलाउन वातावरण पनि हामीले नै बनाएका छौं।’ यसरी सिंहको दरबारभित्र भइरहेको स्यालको जात्रा हेर्न जाने होइन त ? तर पस्न दिइँदैन कि ?
– सिजन अधिकारी, सुर्खेत,
हालः काठमाडौं

प्रतिक्रिया दिनुहोस्