मौसमको सूचना अब बेलुनबाट



 

टीका बन्धन, काठमाडौं
यथार्थ मौसमी सूचना अद्यावधिक गर्दै सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ।

वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो।

विशेष प्रकारको उपकरण ‘रेडियोसोन्ड’ जडान गरिएको बेलुनले आगामी ३ महिनापछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरको ‘रेडियोसोन्ड स्टेसन’ बाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरूले जनाएका छन्। बिहान र बेलुका उडाइने २ वटा बेलुनले काठमाडौं उपत्यकासहित मुलुकका धेरै भागको मौसमी सूचना अद्यावधिक गर्ने बताइएको छ।

वायुमण्डल पुगेको रेडियोसोन्डले कीर्तिपुर स्टेसनलाई लक्षित गर्दै मौसमी सूचना सम्प्रेषण गर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो। ‘वायुमण्डलको विभिन्न तहमा पुग्ने बेलुनको सहायताले रेडियो उपकरणमार्फत् मौसमी सूचना संकलन गरिन्छ, यसरी प्राप्त हुने सूचना विश्वसनीय र उच्चस्तरीय हुन्छ, यसले मौसम पूर्वानुमानमा ठूलो सहयोग पुर्याउँछ’ –उहाँले भन्नुभयो।

रेडियोसोन्डले वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावाको मात्रा, वर्षा हुनुअघि र पछिको सूचना सम्प्रेषण गर्नुका साथै तापक्रम, वायुको वेग र दिशा, बादलको अवस्था, सापेक्षित आद्र्रतालगायतको वास्तविक सूचना अद्यावधिक गर्न सघाउ पुर्याउने कँडेलले प्रस्ट्याउनुभयो।

नेपालले बेलुनको सहायतामा वायुमण्डलमार्फत् पहिलोपटक मौसमी विवरण अद्यावधिक गर्न लागेको हो। मौसमी सूचनाका लागि उडाइएको बेलुन जति उचाइको तह पार गर्छ, त्यसको आकार पनि क्रमशः ठूलो हुँदै जान्छ र निश्चित विन्दुमा पुगेपछि फुट्छ।

बेलुन फुटे पनि मौसमी सूचना अद्यावधिक गर्न अवरोध नहुने र बेलुनमा जडान गरिएका उपकरण जमिनमा खस्दा त्यसले मानवीय र भौतिक क्षति नपुर्याउने बताइएको छ। हावाको बहावअनुसार बेलुन जुनसुकै दिशामा पनि पुग्न सक्ने र जमिनमा खस्ने विभागका उप–महानिर्देशक एवं मौसम पूर्वानुमान महाशाखा प्रमुख डा. जगदीश्वर कर्माचार्यले जानकारी दिनुभयो। मौसमी सूचना अद्यावधिक गर्न अहिले मौसम विभाग मातहत मुलुकका विभिन्न भेगमा ३ सय ८० सतही स्टेसन सञ्चालनमा छन्।

सतहमा स्थापना गरिएका स्टेसनले उपलब्ध गराउन नसक्ने वायुमण्डलको विभिन्न तहको यथार्थ मौसमी सूचना बेलुनको प्रयोगमार्फत् संकलन हुने महाशाखा प्रमुख कर्माचार्यले बताउनुभयो। विश्व बैंकको करिब ३ करोड रुपियाँको आर्थिक सहयोगमा यस्तो विधिमार्फत् मौसमी सूचना अद्यावधिक गर्न लागिएको हो।

यसका लागि आवश्यक पर्ने उपकरण र अन्य सामग्री जर्मनीबाट ल्याउने निधो भएको छ। नेपाली मौसमविद्को एक टोलीले जर्मनीमा त्यस्तो विधिको परीक्षण अभ्यास गरिसकेको छ। यससँगै नेपाल ल्याउने सामग्रीको गुणस्तर सुनिश्चित गरिएको विभागले जनाएको छ। एक वर्षका लागि ७ सय ५० वटा बेलुन ल्याउने निधो भएको विभागका एक अधिकारीले जानकारी दिए।

एउटा बेलुन उडाउन करिब २५ हजार रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। विश्व बैंकले एक वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराएकाले दोस्रो वर्षदेखिको खर्च सरकारले बेहोर्ने बताइएको छ।

रेडियोसोन्ड स्टेसन स्थापनाका लागि त्रिभुवन विश्वविद्यालयले विभागलाई ३ रोपनी जग्गा उपलब्ध गराएको छ। रेडियोसोन्ड विधिमार्फत मुलुकभरको सूचना अद्यावधिक गर्न अन्य २ स्टेसनको आवश्यकता औंल्याइएको छ। सोहीअनुसार मुलुकको पूर्व र पश्चिमी भेगमा थप २ स्टेसन स्थापनाको पहल अघि बढाइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्