म्याग्दीमा एक वर्षको अवधिमा राहदानीबाटै डेढ करोड राजश्व सङ्कलन



प्रताप बानियाँ, म्याग्दी । पछिल्लो समय म्याग्दी जिल्लामा विदेशिने क्रम बढेसँगै एक वर्षको अवधिमा राहदानी दस्तुरबाट मात्रै करिब डेढ करोड राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा कुल एक करोड ४६ लाख ८० हजार सातसय रुपैयाँ राजश्व सङ्कलन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको रेकर्डअनुसार राहदानी दस्तुरबाट मात्रै एक करोड ४३ लाख ४७ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी संस्था दर्ताबाट दुईलाख ३८ हजार ४५० रुपैयाँ, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार ५००, न्यायिक दस्तुर २६ हजार ५०० र परीक्षा शुल्कस्वरुप आठहजार ४०० रुपैयाँ सङ्कलन भएको छ । राहदानीबाहेक अन्य शीर्षकको रकम जिल्ला प्रशासन कार्यालयमार्फत र राहदानीबापतको नगद नेपाल बैङ्क लिमिटेडको शाखामा रहेको प्रशासनको कोर्ड हुँदै कोष तथा लेखा नियन्त्रकको कार्यालयको राजश्व खातामा जम्मा हुने व्यवस्था रहेको लेखापाल शर्माको भनाई छ । 

म्याग्दीमा नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी लिनेहरु धेरै हुँदा राजश्वको दरमा वृद्धि हुन गएको हो । रोजगारीका लागि विदेश जाने क्रमसँगै नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढ्न गएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको रेकर्डअनुसार पछिल्ला वर्षहरुमा नागरिकताको तुलनामा राहदानी लिने युवायुवतीको सङ्ख्या क्रमशः बढ्दै जान थालेको छ ।

गत आर्थिक वर्षमा कुल ४ हजार ५१ ओटा राहदानी सिफारिस भएकोमा द्रुत सेवातर्फ १ हजार ४५६ र सामान्यतर्फ २ हजार ५९५ ओटा रहेका छन् । यसैगरी राहदानी वितरणतर्फ १ हजार ९५५ ओटा राहदानी वितरण गरिएको कार्यालयको प्रशासन तथा मुद्दा शाखाले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीले कुल ५ हजार ६२४ ओटा राहदानी सिफारिस गरेको थियो ।

तीमध्ये सामान्य ३ हजार ६७३ र द्रुत सेवातर्फ १ हजार ९५१ ओटा राहदानी सिफारीस भएका थिएभने ३ हजार २३८ ओटा राहदानी वितरण गरिएको थियो । सामान्य राहदानीका लागि प्रति राहदानीवापत ५ हजार रुपैयाँ राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने हुन्छ भने द्रुत सेवाको राहदानी परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै वंशजको आधारमा गतवर्ष ५ हजार ६८ ओटा नागरिकता वितरण गरिएको छ भने एकवटा बैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष २०७२÷७३ मा वंशजको आधारमा ५ हजार १०८ र वैवाहिक अङ्गिकृत ४ ओटा नागरिकता वितरण गरिएको थियो ।

हातहतियार नवीकरणतर्फ ३४ ओटा भएका छन्भने २ ओटाको नामसारी गरिएको छ । संघसंस्था दर्तातर्फ २३, नवीकरण १८२, मुद्दा दर्ता २८, फस्र्यौट २३ र पत्रिका दर्ता एकवटा भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । गत वर्षमा सबैभन्दा धेरै राजश्व मङ्सिरमा १५ लाख ६३ हजार २५० र सबैभन्दा कम बैशाखमा सातलाख १६ हजार ८०० रुपैयाँ सङ्कलन भएको आर्थिक प्रशासन शाखाको रेकर्डमा उल्लेख गरिएको छ ।

एसएलसी र प्लस टु उत्तीर्णपछि नागरिकता बनाउने र राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए । बैदेशिक रोजगारप्रतिको आकर्षण, अवसरको खोजी, भाषा तथा सिप सिक्न विदेश जानेलगायतका कारणले गर्दा विदेशिने क्रम बढेको हुँदा राहदानी लिने र राजश्वमा समेत वृद्धि हुन गएको उनले बताएका छन् । नेपालमा रोजगारको अवसर नहुनु, आफन्तजन विदेशमा रहनु र अध्ययनका लागि पनि अधिकांश किशोरकिशोरीहरु र युवापुस्ताले राहदानी लिने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्