प्रहरीखोरमा ट्यापे किन मोटाउँछन् ?



कुमार श्रेष्ठ, बाँके । लागु औषधसहित एकजना समातिए । अनुसन्धानका क्रममा उसलाई प्रहरीखोरमा राखियो । ३५ दिनमा ती युवा ११ किलो मोटाए ।

लागु औषधमा कडाई गरेको प्रहरीले ‘भेट्टाएका’ जतिलाई थुन्ने गरेको छ । प्रहरीखोरमा पुगेपछि टेन्सन भएर मान्छे झन् गल्नु पर्नेमा लागु औषध प्रयोगकर्ता भने मोटाएर निस्किने गरेका छन् । ‘हामीकहाँ आउने लागु औषध प्रयोगकर्ता सबैको तौल बढ्छ, जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले भन्नुभयो, नसा खाना नपाएर नियमित खाना खाने बित्तिकै उनीहरु मोटाउँछन् ।’

प्रहरीखोरमा पुग्ने लागु औषध प्रयोगकर्ताको केही दिन भने बेहाल हुने गर्दछ । नसा खाना नपाएर उनीहरु छट्पटिन्छन् । कोही मर्न खोज्छन् । होहल्ला गर्छन् । बिस्तारै लत कम हुँदै जान्छ र खाना खान थाल्छन् ।

लागु औषधलाई ‘सरुवा रोग’ मानिन्छ । यसको उपचार नै छैन । सुधार गृहमा राखिएकाहरु पनि बाहिर निस्किदा फेरि बिग्रिएका छन् । ‘शुरुमै त्यो लतमा फस्न नदिनु नै उपचार हो, सम्बद्धहरु भन्छन्, देखासिकी, लहलहै र साथीभाईको संगतले फसेपछि उ बाहिर निस्किन सक्दैन ।’

लागु औषधको दलदलमा १५ देखि ३० वर्षका अधिक फसेका छन् । बाँके प्रहरीको २०७३÷७४ को तथ्यांकमा १ सय ३७ जनालाई मुद्दा चलाइएको छ । अपराधको प्रमुख कारण लागु औषधलाई मानिएको छ ।

भारतको नानपाराबाट ब्राउनसुगर आउने गर्दछ । यो वर्ष ठूल्ठूला कारोबारी पक्राउ नपरेपनि सीमावर्ती भारतीय बजारमा गएर खाने र आउदा थोरै बोकेर आउनेहरु पक्राउ परेका छन् । अभिभावक नभएकाहरु बढी फसेका छन् । ‘अभिभावकमा पनि बुवा नभएकाहरु धेरै बिग्रिएका छन्, बाँकेका प्रहरीका अनुसन्धान अधिकृत थापा भन्नुहन्छ ।

लागु औषध प्रयोगकर्ताको बिगबिगीले गर्दा नेपालगञ्जमा चोरी बढेको छ । चोरी गर्ने र त्यो पैसाले लागु औषध किनेर खाने गरेको पाइन्छ । ‘चोरीका अधिकांश घटनामा लागु औषध प्रयोगकर्ताको हात हुन्छ, बाँके प्रहरीको निष्कर्ष छ, चोरलाई समातेर ल्यायो । बिगो बराबरको धरौटी बुझाएर जान्छ । अनि फेरि चोरीधन्दा थाल्छ ।’

सजाय कम रहेकाले चोरीका घटना न्यूनीकरण हुन सकेको छैन । प्रायः सामान भेटिदैन, भेटिएको सामानको मूल्य बराबर तिरेर उनीहरु छुट्छन् । चोरी नियन्त्रण गर्नका लागि लागु औषध नियन्त्रण अभियान चलाउनु पर्ने सम्बद्धहरु बताउँछन् ।

नेपालगञ्ज नाकामा वर्षमा आधा किलो ब्राउनसुगर बरामद हुने गरेको छ । सानो मात्राकै ठूलो मूल्य हुने ब्राउनसुगर एकैपटक ठूलो मात्रा बोकेको पाइदैन ।

लागु औषधबाट आफ्ना सन्तानलाई बचाउन जोकोहीले आसपासमा अभियान चलाउनु जरुरी रहेको अभियान्ताहरु बताउँछन् । ‘आज उसको छोरा बिग्रियो भनेर चुप नबस्नुस्, भोली तपाईकै छोरा बिग्रिसकेको हुन्छ, अभियान्ताहरु भन्छन्, यो ठूलो समस्या हो । सबै मिलेर हटाउनु पर्छ ।’
प्रहरी, सामाजिक संघ संस्थाले स्कूल, कलेजहरुमा जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् । कडा कारबाही पनि भइरहेको छ । त्यसका बाबजुद संख्या बढिरहेको छ । बाँकेमा चार हजारबढी लागु औषध प्रयोगकर्ता पुगिसकेको तथ्यांक छ । प्रहरीखोर, कारागारमा लागु औषधकै अभियुक्त धेरै छन् । युवा, किशोर हुँदै बालकतिर यो लत सर्दै अघि बढेको छ । यसले समाजलाई अझ ठूलो असर पु¥याएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्