भारतले जित्यो श्रीलंकाविरुद्धको सिरिज



 

नयाँ दिल्ली, (एजेन्सी)
भारतले श्रीलंकाविरुद्धको तीन खेलको टेस्ट सिरिज २–० को अग्रतासँगै हासिल गरेको छ।

कोलम्बोमा भएको दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ र ५३ रनले हराएर सिरिजमाथि कब्जा गर्यो। चेतेश्वर पुजारा र आजिन्क्य रहाणेको सतकको सहयोगमा भारतले पहिलो इनिङ ६२२—९ को स्कोरमा समाप्त भएको घोषणा गरेको थियो। श्रीलंका आफ्नो घरेलु मैदानमा कुनै बेला पनि खेलमा फर्कन सकेन। पहिलो इनिङमा १ सय ८३ रनमा अलआउट हुँदै घरेलु टोली फलो अनमा परेको थियो।

दोस्रो इनिङमा डिमुथ करुणरत्नेले सानदार १ सय ४१ रन र कुशल मेन्डिसले १ सय १० रन बनाए। तर टोली ३ सय ८६ रनमै अलआउट भयो र चौथो दिनमा पराजित हुनुपरेको थियो। भारतीय स्पिनर रवीन्द्र जडेजा ७० रन बनाएर र कूल ७ विकेट लिएर म्यान अफ द म्याच घोषित भए। उनले पहिलो इनिङमा ८४ रन दिएर २ विकेट तथा दोस्रो इनिङमा १ सय ५२ रन दिएर पाँच विकेट लिएका थिए। जडेजा ३२ टेस्ट खेलबाटै छिटो १ सय ५० विकेट लिने बलर समेत बने।

श्रीलंकाविरुद्ध भारत पहिलो इनिङमा ४ सय ३९ रनले अग्रता लिएको थियो। भारतको ६ सय २२ रनको बराबरी गर्न श्रीलंका ५३ रनले पछि परेको थियो। यद्दपि करुणरत्ने र मेन्डिसले दोस्रो विकेटका लागि १ सय ९१ रनको ठूलो साझेदारी गरेका थिए। तर दुबै विकेट पतन पछि भारतीय स्पिनरको दवाव श्रीलंकाका अन्य ब्याटसम्यानमाथि भएको थियो।

विराटको उपलब्धि

भारतले श्रीलंकामा टेस्ट जितेपछि कप्तान विराट कोहलीले लगातार सिरिज जित्ने मामिलामा अस्ट्रेलियाका कप्तान स्टीभ वागलाई पछाडि पारेका छन्। विराटको कप्तानीमा भारतले लगातार आठ सिरिज जितेको छ। पूर्व अस्ट्रेलियाका क्रिकेटरको कप्तानीमा सात सिरिज जितेको थियो।

विराटले सन् २०१५ देखि २०१७ को बीचमा ८ टेस्ट सिरिज जितेको छ। जसमा श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र फेरि श्रीलंकाविरुद्ध विराटको कप्तानीमा टेस्ट सिरिज जितेको हो। तर सबैभन्दा लगातार टेस्ट सिरिज जित्ने रेकर्ड अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको नाममा रहेको छ। उनले २००५ देखि २००८ बीच लगातार नौ टेस्ट सिरिज जितेको थियो। विराट उनको रेकर्ड निकट पनि पुगेका छन्।

विराट पहिलो कप्तान
यसै गरी यो नतिजापछि श्रीलंकामा दुई टेस्ट सिरिज जित्नेमा विराट पहिलो भारतीय कप्तान बनेका छन्। उनले यसअघि सन् २०१५ मा भारतलाई श्रीलंकाको भूमिमा २–१ ले टेस्ट सिरिज दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्