सेनाको कल्याणकारी कोषको २२ करोड अझै जोखिममा



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनाले कल्याणकारी कोषले लगानी गरेको २२ करोड रुपियाँ अझै जोखिममा रहेको छ।

खराब कर्जाका रूपमा रहेको २२ करोड रुपियाँ उठाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। कल्याणकारी कोषले आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। सैनिक कल्याणकारी कोषको नाममा विभिन्न बैंकमा राखिएको रकममध्ये सो रकम उठाउने प्रयास भइरहेको कल्याणकारी कोषका प्रमुख सहायकरथी प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो।

सैनिक कल्याणकारी कोषको वर्तमान अवस्था तथा सेनाद्वारा सञ्चालित कल्याणकारी गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा कल्याणकारी कोषको यथार्थ सम्पत्ति ३९ अर्ब ५५ करोड ५ लाख ७९ हजार पुगेको जानकारी दिइयो। २०७३ असार मसान्तसम्म ३३ अर्ब ६ करोड १० लाख ३६ हजार रुपियाँ रहेको कोषमा गत आवमा ६ अर्ब ४९ करोड थपिएको हो। कोषको सो सम्पत्तिमध्ये ४ अर्ब ९८ करोड ४४ रुपियाँ विभिन्न क्षेत्रमा लगानी गरेको समेत सेनाले जनाएको छ।

कार्यक्रममा कोषबाट कल्याणकारी कार्यअन्तर्गत शिक्षा, स्वास्थ्य, कर्जा सुविधा, बीमा निवृत्तिभरण, तालिमलगायतमा आर्थिक सहयोग गर्ने गरिएको जानकारी दिइयो। सोअन्तर्गत सेनाले गत आवमा भएका उपलब्धि तथा आगामी आवमा सञ्चालनमा रहेका कार्यक्रमका बारेमा समेत जानकारी गराएको थियो।
कार्यक्रमा गत आवमा स्वास्थ्य शिविर, औषधोपचार सेवा तथा सुविधा, छात्रवृत्ति, पेन्सन प्राकृतिक प्रकोप राहत, कानुनी सहायता आदिका लागि सहयोग गरिएको जानकारी दिइयो। सेनाले सहुलियत ऋण योजनाअन्तर्गत सकल दर्जालाई सहुलियत ब्याजदरमा ९ अर्ब ६२ करोड ९४ लाख ५० हजार रुपियाँ ऋण प्रवाह गरेको कल्याणकारी योजना निर्देशक सहायक रथी अधिकारीले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा सेनाले पोखरा र इटहरीमा हिताधिकारीको सुविधाका लागि अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएको छ। त्यसै गरी, सेनाका बहालवालाको हितका लागि कल्याणकारी कोषमार्फत् सेनाले चितवनमा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरेको तथा निकट भविष्यमा काठमाडौंको चोभार र भक्तपुरको दुवाकोटमा पनि त्यो सुविधा प्रदान गर्ने जानकारी दिएको हो।
सामुदायिक चिकित्सा केन्द्र सञ्चालन, त्रिचन्द्र मिलिटरी हस्पिटल निर्माण, पारिवारिक पेन्सनमा वृद्धि, थप बीमा योजना र सहुलियत ऋण योजना रहेको सेनाले जनाएको छ।

वि.सं. २०३२ मा एक करोड २४ लाख जोहो गरेर सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो। अहिले कोषको मुख्य आयस्रोतका रूपमा शान्ति सेनामा भाग लिए बापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज र नेपाली सेना स्वास्थ्य विज्ञान तथा विभिन्न विद्यालयको शिक्षण शुल्क भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्