बोल्टलाई उछिन्दै ग्याटलिनलाई स्वर्ण



 

लन्डन, (एजेन्सी)
दौडेर सनसनी मच्चाउने कीर्तिमानी धावक उसेन बोल्ट शनिबार आफैं स्तब्ध बने।
लन्डनमा जारी विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा जमैकन धावक उसेन बोल्टलाई उछिन्दै जस्टिन ग्याटलिनले स्वर्ण पदक चुमे। अमेरिकाका ग्याटलिनले १ सय मिटर दौडमा स्वर्ण जितेका हुन्। ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेन्डमा उक्त दौड पूरा गरे। उक्त दौडमा बोल्ट अमेरिकाकै क्रिस्यिचन कोलम्यानसंग समेत पछाडि परेपछि तेस्रोमा चित्त बुझाउन बाध्य बने।

बोल्टको अन्तिम प्रतिस्पर्धाको रुपमा रहेको उक्त दौडमा दोस्रो बनेका कोलम्यानले १ सय मिटरको दूरी ९.९४ मा पूरा गर्दा बोल्टले ९.९५ सेकेन्ड्सको समय निकाले। योसंगै ३५ वर्षीय ग्याटलिनले प्रतिबन्धबाट प्रभावित आफ्नो करियरको तितो विगतलाई बिर्साउनुका साथै प्रतिद्वन्द्वी र समर्थकहरुलाई पनि आश्चर्यमा पारे।

आफ्नो करियरको अन्तिम दौड बोल्टका लागि बिर्सन लायक बन्यो। यसअघि बोल्टले सन् २०१५ मा बेइजिङमा सम्पन्न वल्र्ड च्याम्पियनसिपमा ग्याटलिनलाई पछि पारको थिए। तर यसपटक लन्डनमा जारी प्रतियमेगितामा भने बोल्टले पछिल्लो प्रदर्शन दोहोर्याउन सकेनन्। योसंगै करियरको अन्तिम दौडमा राम्रो नतिजा निकालेर करियरको सुखद अन्त्य गर्ने आठ पटकका विश्व विजेतामो ईच्छा भने पूरा हुन सकेन।

३० वर्षीय बोल्टले आफ्नो नतिजाप्रति दुःख नलागेको बताए। उनले भने–‘हार, जित वा बराबरीको नतिजाले मलाई केही फरक पर्दैन। मैले आफूले सक्दो प्रदर्शन गरें। यसले मेरो करियरमा केही असर पर्दैन। मेलै खेलमा सबैथोक गरिसकेको छु। अब विदा लिनु छ।’

प्रतिक्रिया दिनुहोस्