राप्रपा फुट्यो



 

रामकृष्ण चापागाईं, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ। अध्यक्ष कमल थापाले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै शीर्ष नेता पशुपतिशमशेर राणासहित ७२ जना केन्द्रीय सदस्यहरू फुटेर छुट्टै पार्टी दर्तामा गएका छन्। कुल ३७ जना सांसद रहेको राप्रपामा २२ जना सांसद पनि छुट्टिएका छन्। कुल १ सय ६३ केन्द्रीय सदस्य रहने राप्रपामा केही सदस्य मनोनित गर्न बाँकी थियो।

पछिल्लो समय अध्यक्ष कमल थापाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरू मनोनित गरेको भन्दै अर्का नेता राणाले चर्को असन्तुष्टि जनाउनुभएको थियो। राप्रपाभित्र वर्तमान सरकारमा सहभागी हुने र नहुने भन्नेबारेमा पनि चर्को विवाद थियो। राप्रपा सरकारमा नआएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हालै मात्र राप्रपाबाहेक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो।

एकीकरण भएपछि कुल १ सय ६३ सदस्य रहने केन्द्रीय समितिमा अध्यक्षसहित ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था बनाइएको थियो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था थियो। राप्रपाको विधानमा २४ पदाधिकारीमध्ये ३ जना उपाध्यक्ष, महामन्त्री ३, प्रवक्ता १, कोषाध्यक्ष १, सहमहामन्त्री ५, सहायक महामन्त्री ७, सहायक कोषाध्यक्ष १ र सहायक प्रवक्ता २ रहने व्यवस्था गरिएको थियो।

केन्द्रिय सदस्य राजाराम श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार पार्टी फुटेर पशुपतिशमशेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दर्ताको प्रक्रियामा निर्वाचन आयोग गएको हो। अध्यक्ष थापाको नेतृत्वप्रति असन्तुष्टि जनाएर फुटेर आउने वरिष्ठ नेताहरूमा दीपक बोहोरा, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनील थापा, नीलकण्ठ काफ्ले, राजेन्द्र गुरुङ दुर्गा श्रेष्ठलगायतका नेताहरू छन्।

अध्यक्ष कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपतिशमशेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण भएर बनेको राप्रपा एकीकरण भएको एक वर्ष नपुग्दै फुटेको हो। त्यति बेला थापाले नेतृत्व गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको २५ जना र राणाले नेतृत्व गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना सांसद थिए। कुल ३७ सांसदसहित राप्रपा मुलुकको चौथो ठूलो शक्ति बनेको थियो। शीर्ष नेताहरू थापा, राणाका साथै लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनीबीचको एकतासँगै अघि बढेको राप्रपा एकता महाधिवेशनललगत्तै डा. लोहनी अध्यक्ष थापाले पार्टीलाई निरंकुश ढंगले एकलौटी सञ्चालन गरेको भन्दै छुट्टिएका थिए।

राप्रपाबाट छुट्टिएर जाने सांसदहरूमा पहिले राणाको नेतृत्वमा रहेको राप्रपामा रहेका १२ मध्ये ११ जना छन् भने थापाको नेतृत्वमा रहेको राप्रपा नेपालका ११ जना सांसद छन्। पहिलेको राप्रपाबाट जयन्त चन्द आएका छैनन्। लोकेन्द्रबहादुर चन्दका पुत्रसमेत रहेका जयन्तले हस्ताक्षर नगरेको बताइएको छ। पार्टी फुटेको बारे लोकेन्द्रबहादुर चन्दले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘आज दिउँसो मात्र हामी शीर्ष तीन नेता (कमल थापा, पशुपति राणा र लोकेन्द्रबहादुर चन्द) बीच छलफल भएको थियो। भोलि (आज सोमबार) पुनः छलफल गर्ने गरी छुट्टिएका हौं। पार्टी फुटेको र नयाँ पार्टी दर्ताको प्रक्रियामा गएको बारेमा मैले बुझ्न पाएको छैन।’

राप्रपाबाट फुटेर जाने अन्य सांसदहरूमा रामकुमार सुब्बा, रेशम लामा, विराज विष्ट, बबिना मोत्तान, सीता लुइँटेल, कमलादेवी शर्मा, लीलादेवी श्रेष्ठलगायतका छन्। यी सबै सांसदहरू पार्टी एकीकरण पहिले कमल थापाको नेतृत्वमा थिए। पार्टी फुटेसँगै नयाँ दल दर्ताका लागि राणाको नेतृत्वमा गएको नेताहरूको टोली साँझ अबेरसम्म निर्वाचन आयोगमा रहेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्