काठमाडौंको जिल्ला शिक्षा कार्यालय कामपा मातहत



 

ईश्वरराज ढकाल, काठमाडौं
शिक्षा मन्त्रालयले तत्काल जिल्ला शिक्षा कार्यालयहरू विघटन नहुने जनाइरहेको बेला काठमाडौं महानगरले सो कार्यालय आफ्नो मातहतमा ल्याउने प्रक्रिया शुरू गरेको छ। कामपाले ३ महिनाभित्र जिल्ला शिक्षा कार्यालयमा आफ्नो बोर्ड राख्ने तयारी गरेको छ। अब जिल्ला शिक्षा कार्यालय काठमाडौंको नाम काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभाग रहने भएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कर्मचारी समायोजन समितिले कर्मचारी व्यवस्थापन गरेपछि जिल्ला शिक्षा कार्यालयमा कार्यरत कर्मचारी स्थानीय तहमा आउनेछन्। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जिल्ला शिक्षा कार्यालयलाई ३ महिनाभित्र कामपाको मातहतमा ल्याइसक्ने जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘कक्षा १ देखि १० सम्मका शिक्षकको तलब आइसकेको अवस्थामा कर्मचारीलाई आफ्नो मातहतमा ल्याउनु जरुरी छ।’ सरकारले घरेलु तथा साना उद्योग कार्यालयमा कामपा नगर कार्यपालिकाको कार्यालय घरेलु उद्योगको बोर्ड राखिसकेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले हाल जिल्ला शिक्षा कार्यालय हस्तान्तरण गर्न समस्या हुने बताउनुभयो। उहाँले स्थानीय निकायले पूर्णरूपमा काम गर्न थाले पनि सम्पत्ति हस्तान्तरण भइसकेपछि मात्रै स्थानीय तहमा जानसक्ने बताउनुभयो। हामी छलफलकै क्रममा रहेका छौं, अहिले नै यसै हुन्छ भन्न सक्ने अवस्था छैन। जिल्ला समन्वय समितिले पूर्णरूपमा काम गर्न थालेपछि मात्र शिक्षा कार्यालय स्थानीय तहमा जाने उहाँको भनाइ थियो। उहाँले सबै जिल्ला शिक्षा कार्यालयललाई स्थानीय तहमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको दाबी गर्नुभयो। अधिकांश स्थानीय तहका जनप्रतिनिधिले जिल्ला शिक्षा कार्यालय आफ्नो मातहतमा हुनुपर्ने जनाउँदै आएका छन्। शिक्षा मन्त्रालयले हालसम करिब ७५ वटा स्थानीय निकायमा शिक्षा हेर्न उपसचिव खटाइसकेको छ। ती उपसचिवहरू हालसम्म कार्यालय गएका छैनन्। एक जना मात्रै कर्मचारी पठाएका स्थानीय तहमा सम्पूर्ण शिक्षाको काम गर्न नसक्ने भन्दै कर्मचारीहरूको माग गरिएको छ। कामपा प्रशासन महाशाखा प्रमुख हरि कुँवरले संविधान प्रदत्त अधिकार प्रत्यायोजनका लागि सम्बन्धित मन्त्रालयका स्थानीय तहमा रहेका कार्यालयहरू समायोजन गर्ने निर्णयअनुसार सम्बन्धित कार्यालय र कर्मचारी समायोजनको काम शुरू गरिएको जानकारी गराउनुभयो।

‘हामी शिक्षाको मात्रै होइन, जिल्ला जनस्वाथ्य कार्यालय, सहकारी डिभिजन कार्यालयलगायत आधा दर्जनभन्दा बढी कार्यालयले कामपाको मातहतमा ल्याउन काम शुरू गरिसेकेका छौं, केही महिनाभित्र स्थानीय तहमा सञ्चालित सबै कार्यालय कामपाको मातहतमा आउनेछ’ –उहाँले भन्नुभयो। तर, जिल्ला शिक्षा कार्यालयअन्तर्गत काठमाडौं जिल्लामा पर्ने सरकारी र निजी विद्यालय कसले व्यवस्थापन गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन। काठमाडौं जिल्लाभित्र करिब एक दर्जन नगरपालिका छन्।

प्रतिक्रिया दिनुहोस्