कार्यालय नहुँदा जनप्रतिनिधिलाई काम गर्न समस्या



बिष्णुप्रसाद भण्डारी,अछाम ।

हालै मात्र दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भयो । प्रदेश नं. ७ अन्तरगतका जिल्लाहरुमा पनि दोस्रो चरणमा निर्वाचन भएको सम्पन्न भएको छ ।

जस अन्तरगत ४ नगरपालिका र ६ गाउँपालिका गरी अछाम जिल्लाका पनि १० वटै स्थानीय तहमा चुनाव सम्पन्न भै अन्तिम मत परिणाम सार्वजनिक भएको समेत डेढ महिना पुरा भैसकेको छ ।

चुनावको अन्तिम मत परिणाम आएको डेढ महिना पुरा हुँदा समेत अधिकांश स्थानीय तहमा कार्यालय व्यवस्थापन हुन सकेको छैन । कतिपय स्थानीय तहमा वडा कार्यालय नै छैन । वडा कार्यालय नहुँदा जनप्रतिनिधिलाई काम गर्न समस्या भैरहेको छ ।

जनप्रतिनिधि काम गर्न आतुर छन् तर श्रोत, साधन र संरचना अभावका कारणले गर्दा उनिहरु अन्योलमा परेका छन् ।

अछाम जिल्लाका साविकका ७५ गाबिस मिलेर अहिलेका ४ नगरपालिका र ६ गाउँपालिका ९१ ओटा वडा बनेका छन् । बिगतमा द्धन्द्धका कारण बिस्थापीत भएक गाबिस कार्यालय समेत स्थापना नहुँदै स्थानीय तहको संरचना बिस्तार हुँदा जिल्लाका अधिकांश स्थानीय तहका वडा कार्यालय बिहिन बनेका हुन् ।

गाउँपालिकामा मात्र होईन नगरपालिकाका कतिपय वडामा समेत वडा कार्यालय छैनन् । दुरदराजका नगरपालिकाका कतिपय वडामा वडा कार्यालय नहुनु समेत अस्वभाविक होइन ।

जिल्ला सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका अधिकांश वडामा नै वडा कार्यालय छैन । यस मध्येको एक मंगलसेन नगरपालिकाको वडा नं. ६ पनि हो ।

त्यहाँ वडा कार्यालय मात्र होईन वडामा कर्मचारी समेत छैन । कार्यालय नहुँदा आफुलाई काम गर्न निकै समस्या भैरहेको मंगलसेन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जनराज भण्डारीको गुनासो छ ।

जनताले आफुलाई काम गर्नका लागि जिताएको भन्दै उहाँले आफु जनताको सेवाका लागि आतुर रहेको उल्लेख गर्दै त्यसका लागि तत्काल वडा कार्यालय स्थापना हुनु पर्ने र कर्मचारी व्यवस्थापन हुनु पर्ने माग गर्नुभयो ।

सरकराको चरम लापर्वाहीका कारण वडा कार्यालय व्यवस्थापन हुन नसकेको उहाँको गुनासो छ । सरकारले निर्वाचन पूर्व नै वडा कार्यालय स्थापनाका लागि रकम पठाएको भएपनि त्यसको चरम दुरुपयोग भएका कारण अझै वडा कार्यालय स्थापना हुन नसकेको उहाँको बुझाई छ ।

यस सम्बन्धमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहोरलाई बुझ्दा उहाँले वडा कार्यालय व्यवस्थापानका लागि भनेर आएको रकम खर्च नै हुन नसकेको बताउनुभयो ।

उक्त रकम नगरपालिकाको खाताम मौज्दाद रहेको बताउदै नगरप्रमुख बोहराले तत्काल सो रकम परिचालन गरेर वडा कार्यालय स्थापना गरिने जानकारी दिनुभयो ।

हाल नगरपालिकामा कर्मचारी समेत प्रयाप्त मात्रामा नभएकाले काम गर्न समस्या भएको उहाँले बताउनुभयो । कर्मचारी आपुर्तीका लागि प्रमुख जिल्ला अधिकारीसंग समन्वय भैरहेको बताउँदै बोहराले तत्काल अपुग कर्मचारी मगाएर नगरपालिकामा गर्न बाँकी रहेका सबै काम असोज सम्मा सक्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । हाल धेरै जसो वडाका वडा अध्यक्षहरु नगरपालिकाको कार्यालयमै बसेर सेवा दिन बाध्य रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाको कार्यालय नजिकका वडालाई नगरपालिकाको कार्यालयबाटै सेवा दिन अप्ठ्यारो नभएपनि टाढाकालाई भने सजिलो छैन ।
यस्तै जिल्लाको बिकट तुर्माखाँद गाँउपालिकामा पनि अधिकांश वडामा वडा कार्यालय नभएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माको भनाई छ । उहाँका अनुसार धेरै जसो वडा कार्यालय बिहिन छन् । अब आफुले थुप्रै समस्याको समाधान सहित गाउँको बिकासका लागि काम गर्ने उहाँको भनाई छ ।

आफु जनताको सेवाका लागि गाउँपालिकाको काम गर्न आतुर रहेको बताउँदै उहाँले आफुलाई कानुन आभावले काम गर्न कठिनाई भैरहेको उहाँले बताउनुभयो ।

कानुन् अभावमा स्थानीय तह अन्यौलमा रहेकाले सरकारले छिटो कानुन निर्माण गर्नु पर्नेमा उहाँको जोड छ ।

धन्न ४ नगरपालिका र ६ गाउँपालिकाका कार्यालय भने जसो तसो सञ्चालनमा छन् । यस बाहेक कुनैपनि नगरपालिका र गाउँपालिकामा सबै वडाका वडा कार्यालय छैनन् । यसले गर्दा सर्वसाधारणलाई सेवा लिन निकै असहज भैरहेको छ । आफ्नो वडाको कार्यालय नभएका कारण आफुले सामान्य कामका लागि पनि मंगलसेन नै धाउनु पर्ने बाध्यता रहेको मंगलसेन–६ निवासी देवेन्द्र खत्रीको गुनसो छ ।

सरकारले छिटो कार्यालय स्थापना गर्न तर्फ ध्यान दिनु पर्ने उहाँको भनाई छ । वडाबाट लिनु पर्ने सिफारिसका लगि पनि नगरपालिकाको कार्यालयमा पुग्नु पर्ने बाध्याता अझै कायमै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्