बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित



रविन भट्टराई,ताप्लेजुङ
राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको वन्दको प्रभाव अरुण पुर्वको नौ जिल्लामा विहानै देखि परेको छ ।

बन्दको कारण विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द रहेका छन् ।

साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पाटिले पनि ऐक्यवद्धता जनाएको छ ।

१८३१ साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खा सँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषद्ले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

२०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।

बन्दमा प्रेश, कुटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बहान तथा मोटरसाइकलहरुलाई छुट दिने परिषद्ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्