प्रकाश पन्त, लहँ, जाजरकोट
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–४ लहँकी माया रावललाई २ वर्ष अघिसम्म घरखर्च चलाउन निकै हम्मेहम्मे पथ्र्यो। आयआर्जन नहुँदा घरखर्च चलाउन समस्या भएपछि मायाका श्रीमान् कालापहाड जानुहुन्थ्यो। तर बाख्रापालन व्यवसाय थालेपछि अहिले मायाको जीवनमा निकै ठूलो परिवर्तन आएको छ।

गाउँकै नागरिक कृषि तथा पशुपालन सहकारी संस्थामा आब मायालाई उच्च मुल्य वस्तु विकास आयोजनाले बाख्रापालनको लागि सहयोग गरेपछि अहिले उहाँको अवस्था फेरिएको हो। अहिले मायाले पालेका बाख्राले आँगन भरिसकेको छ। उहाँ आजभोलि तीनै बाख्राको स्याहार सुसारमा व्यस्थ हुनुहुन्छ। बाख्रा बेचेर आएको पैसाले घरखर्च चलाउँदै आउनुभएको छ। ‘पैसाका लागि ऋण सापट गर्नुपरेको छैन’, मायाले भन्नुभयो– ‘बाख्रा पालेरै छोरालाई अहेव पढाएकी छु।’

‘बाख्रा थालेपछि छोराछोरी पढाउन र घरखर्च चलाउन निकै सजिलो भएको छ’, मायाले भन्नुभयो– ‘आयोजनाले २८ हजार रुपियाँ अनुदान दिएको थियो, त्यो रुपियाँले आधुनिक खोर निर्माण गरें। पहिले पनि बाख्रा त पालेकै थियौं तर कसरी पाल्ने थाहा थिएन, तालिम लिएपछि सबै कुरा थाहा भयो, हामीले त बाख्रा पाल्न र फाइदा लिन जानेकै रहेनछौं।’ ‘आयोजनाले बाख्रा पाल्न प्रेरणा मात्र दिएको छैन, कसरी बाख्रा पाल्ने अनि फाइदा कसरी लिने भनेर ज्ञान पनि दिएको छ। यो वर्ष मात्र १७ वटा खसीबोका बेचें। पहिले भन्दा अहिले बाख्रा पनि राम्रा छन’
–उहाँको भनाइ थियो। स्थानीय खरी जातको बाख्रा पाल्दै आउनुभएकी लहँकै उर्मिला सिंह पनि आधुनिक खोर निर्माण गरेर बाख्रा पालनमा जुट्नुभएको छ। पाठाबाठी, माउ, खसी र बोकालाई छुट्टाछुट्टै राख्ने गरी बनाइको खोर निर्माण गर्न उहाँलाई आयोजनाले २७ हजार रुपियाँ अनुदान दिएको थियो। ‘व्यवस्थित खोर भएकाले विगतको जस्तो बाख्रामा रोग लागेको छैन’, सिंहले भन्नुभयो– ‘खसी बाख्रा बिक्री गर्न बजारको पनि समस्या छैन। खोरमै खसीबोका किन्न ग्राहक आउँछन्।’

नागरिक कृषि तथा पशुपालन सहकारी संस्थामा आबद्ध नानीकला कामीले पनि पोहोर सालबाट व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको छ। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएकी उहाँले पनि खोर बनाउँन १९ हजार रुपियाँ पाउनुभएको थियो। ‘त्यो रुपियाँबाट खोर थिएन खोर बनाएँ’, उहाँले भन्नुभयो– ‘खोर नहुँदा घरको भुगभित्र राखेर पाल्थ्यौं, अहिले आधुनिक खोरमा राख्न थालेपछि बाख्रालाई रोग पनि लागेको छैन। आयोजनाले आयआर्जन गर्ने प्रेरणासँगै लगानी गर्ने रकम पनि दियो, त्यसैले सबै गाउँका दिदीबहिनीहरू नयाँ तरिकाले बाख्रा पाल्न कसिएका छन्’ –उहाँले भन्नुभयो।

LEAVE A REPLY