पार्टी मोर्चा र मञ्चजस्तो बन्न पुग्यो



मणि थापा
युवा नेता, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले केन्द्रीय महाअधिवेशन आयोजक समिति चार हजारको बनाएको भन्दै नेतृत्वको आलोचना हुँदै आएपछि पार्टीको सचिवालयको बैठकले ९९ सदस्यसम्म बनाउने नीति लिएको छ। त्यसका लागि माओवादीले आन्तरिक गृहकार्य पनि थालेको छ। स्थानीय तहको निर्वाचनमा ६ वटा प्रदेशमा पार्टीे अपेक्षा गरेअनुसार विजयी हुन नसकेपछि प्रदेश नम्बर–२ मा पहिलो पार्टी हुने नीतिअनुसार पार्टीको केन्द्रीय कार्यालय नै मधेसमा सार्ने निर्णय गरिएको छ।

शान्ति प्रक्रियामा आएपछि माओवादीको विभाजननै निर्वाचनमा पराजय हुनुको कारण रहेको निष्कर्ष निकालिँदै आएको छ। माओवादी केन्द्रले पहिलो शक्ति बन्नका लागि माओवादीबाट फुटेर गएका मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पार्टी एकतामा आउन आह्वान गरेको छ। विभाजित माओवादी मिलेर नेकपा माओवादी केन्द्र बने पनि पार्टीभित्र गुटबन्दी झन मौलाएको छ। पार्टीभित्र मौलाएको गुटबन्दी, प्रदेश नम्बर–२ मा हुने स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा केन्द्र्रीत रहेर नेकपा माअ‍ोवादी केन्द्रका युवा नेता मणि थापासँग यसपालि हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले उहाँसँग गरेको गरेको कुराकानीका मुख्य अंशहरूः

 

स्थानीय तहको निर्वाचनमा अपेक्षा गरेअनुसार विजय हासिल गर्न नसक्दा पार्टीभित्र विवाद सिर्जना भएको हो ?

स्थानीय तहको निर्वाचनको समीक्षा तथा आगामी दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा लिने नीतिका बारेमा छलफल गर्दै पार्टीको बैठक भर्खरै सम्पन्न भएको छ। निर्वाचनमा पराजय हुनुको कारण हाम्रो पार्टीभित्र गुटबन्दी बढ्नु हो। पार्टीमा केन्द्रीकरणभन्दा पनि शक्ति केन्द्रहरू हावी भए। पार्टीमा सही ढंगले जनसम्बन्ध विस्तार हुन सकेन। प्रचारप्रसारमा ध्यान नै दिन सकेन। उम्मेदवार चयन गर्दा लोकप्रिय र जित्ने उम्मेदवारभन्दा पनि पार्टीमा लागेको विषयलाई बढी ध्यान दिइयो। मुख्य गरी पार्टीका शीर्ष नेताहरू जसरी निर्वाचनमा लाग्नुपर्ने थियो त्यसमा सक्रियता देखिएन।

निर्वाचन हार्नुको पछाडि माओवादीभित्र मौलाएको गुटबन्दी नै मुख्य कारण हो। विचारको आधारमा गुट होइन स्वार्थ केन्द्रहरूले जहिले पनि पार्टी हेडक्वार्टरलाई प्रभाव पारी राख्ने, समग्र पार्टी परिवर्तन तथा जनताको पक्षमा लाग्नेभन्दा पनि गुट र क्षेत्रलाई आधार मानेर काम गर्ने परिपाटीको विकास भयो। गुटहरू नै मुख्य भएपछि पार्टी मोर्चा र मञ्चजस्तो बन्न पुग्यो।

पार्टीभित्रको गुटबन्दी मौलाउँदै जादा विगतमा विभाजनसम्म पुग्यो। विभाजित केही पार्टीहरूको बीचमा एकता भए पनि पार्टीभित्र फेरि गुटबन्दी बढेको हो र ?

अहिलेको गुटबन्दीको मुख्य आधार भनेको एकताबाट आएकाबाट होइन। मुलधारमा रहेकाहरूबाट नै समस्या आएको प्रचण्डले संकेत गर्नुभएको छ। जसले पार्टी एकतालाई अझै स्वीकार गरेको छैन। नेतृत्वलाई सही ढंगले विवेक पुर्याएर काम गर्न दिएको छैन। आफ्नै क्षेत्र, प्रदेश र आफ्नो गुटलाई स्वार्थको केन्द्र बनाएर पार्टीको मुल लाइनलाई स्थापित गर्न समस्या पार्ने,पार्टी मूल नेतृत्वलाई स्वतन्त्र निर्णय गर्नबाट प्रभावित पार्ने खालको प्रवृत्तिलाई प्रचण्डले इंकित गर्नुभएको छ। सचिवालयका सबै सदस्यहरूले पार्टी विघटन होइन कि गुटबन्दीको अन्त्य गर्नुपर्ने जोडदार माग गरेका छन्।

पार्टी एकता हुनुअघि माअ‍ोवादीभित्र के–के तत्व थिए ? भन्ने कुरा अहिले हाम्रो मुख्य मुद्दा होइन। पार्टी एकताबाट आएपछि आउनेबाट भन्दा पनि पुरानै रैथाने गुट भनेपछि अब पार्टी एकताबाट आउनेहरू चिन्तित हुनुपर्ने अवस्था छैन। अहिले पनि धेरै मानिसहरू माओवादी केन्द्रमा आउन तयार छन्। पार्टीभित्र गुट चलाइराख्ने र नयाँ आउनेहरू मुकदर्शक बन्ने हो र पर्यवेक्षक हुने हो भने पार्टी एकताको कुनै अर्थ छैन। माओवादी शक्तिहरूबीच एकता भएन भने माओवादीले पहिलो पार्टी हुने लक्ष्य पूरा गर्न सक्दैन। गुटहरूको अन्त्य हुनुपर्छ। सबै माओवादी र परिवर्तनकामीको अटाउने पार्टी बनाउनुपर्छ।

पार्टी नेतृत्वले आफू काम गर्न नसक्ने अनि अरुलाई दोष दिएर पन्छिन मिल्छ ?

प्रचण्डको कमजोरीको कारणले यो पार्टीमा कमजोरी भयो अथवा प्रचण्डको वरिपरि बस्ने गुटवाजको कारण यस्तो भयो त भन्ने बहस चलेको छ। प्रचण्डको भूकिकाको कारणले भन्दा पनि प्रचण्डको वरिपरि बस्ने शक्तिकेन्द्रहरूले यो पार्टीमा समस्या ल्याए भन्ने नै निष्कर्ष निकालिएको छ।

स्वयं प्रचण्डका पनि बाध्यता होलान्। उहाँको शैली र स्वभावको कारणले पनि हुन सक्छ। अर्को सीमा पनि हुन सक्छ। तर, प्रचण्डको विकल्प अहिले नभएको हुनाले उहाँप्रति औला सोझ्याउनेभन्दा पनि बलियो बनाएर यो पार्टीलाई पार्टीजस्तो बनाउने हो। हरेक निर्णय संस्थागत रूपमा गर्ने र पार्टीले लिएको नीति पूरा गर्नका लागि सशक्त बनाउनको निम्ति सोच्नुपर्ने अहिलेको आवश्यकता हो। पार्टीको बैठकले प्रचण्डले स्वतन्त्रतापूर्वक काम गर्न पाउनु पर्यो र गुटहरूको अन्त्य हुनुपर्नेमा जोड दिएको छ।

पार्टी बिग्रिनुको मुख्य कारण के हो त ?

पार्टी धेरै प्रतिशत बिग्रिएको छ। नबिग्रिएको र नभत्किएको भए यत्रो युद्ध गरेर आएको पार्टी, परिवर्तनको एजेन्डा लिएर आएको पार्टी, उज्यालो नेपाल बनाएर आएको पार्टी, प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेर आएको पार्टीको यो अवस्था आउने थिएन। पार्टी ठिक छ। पार्टीअनुसार पार्टीका नेता र कार्यकर्ताहरूमा जनपक्षीय चरित्रको अभाव छ। अहिलेको निर्वाचनमा पार्टी मात्र हारेको छैन। पार्टी सही छ। तर माओवादी पार्टीमा लाग्ने व्यक्तिगत चरित्र जनताले रुचाएका छैनन्। सामाजिकीकरणको सबालमा माओवादीभित्र समस्या छ। विचार राजनीति, मुद्दा ठीक हुँदाहुँदै पनि जनताको दुःख–सुखमा साथ दिने सबालमा माओवादीभित्र समस्या छ। माओवादीभित्र ठेकेदारवादी प्रवृत्ति, दम्भवादी प्रवृत्ति, पार्टीभित्र पनि एक नेताले अर्को नेताको अस्तित्व अस्वीकार गर्ने प्रवृत्ति, केन्द्रीय नेतालाई जिल्लाको नेताहरूले अस्वीकार गर्ने, जिल्लाका नेताहरूलाई गाउँका नेताहरूले अस्वीकार गर्ने, पार्टीका शीर्ष नेताहरूलाई समान रूपले अस्वीकार गर्ने प्रवृत्तिप्रति अहिलेको निर्वाचनमा जनताले दिएको दण्ड हो। यो दण्डलाई माओवादीले स्वीकार गर्नुपर्छ।

पार्टीभित्र युद्ध लडेको र नलने बीचको खाडल अझै पुरिन सकेन नि होइन ?

माओवादी पार्टी एउटा आन्दोलन हो। युद्ध लडेको र नलडेको तथा माओवादी मूल पार्टीबाट विद्रोह गरेर पुनः एकतामा आएकाहरूका बीचमा जसरी कमरेडली सम्बन्ध हुनुपर्ने हो त्यो पार्टीभित्र छैन । पार्टीभित्र गुटहरूको अस्तित्व छ। गुटको अस्तित्व भएको ठाउँमा सामुहिकताको अस्तित्व हुँदैन। गुट र स्वार्थ केन्द्रहरूको मात्र अस्तित्व हुन्छ। जसको कारण स्वयं माओवादी पार्टी बिग्रियो, भत्कियो। यसले क्रान्तिको सपना पूरा गर्न सक्दैन भनेर दस वर्षबाहिर रहेर एउटै आन्दोलनमा संगसँगै लड्यौ। फेरि माओवादी पार्टीलाई बनाउनुपर्छ भनेर फर्कियौं। नेतृत्वलाई सहयोग गर्नुपर्छ भनेर फर्किएकाहरूमाथि नै आशंका गर्ने प्रवृत्ति छ भने जनयुद्ध लड्दै नलडेको जनयुद्धको ब्याज खाइराख्ने तथा हिजो जनयुद्धलाई गाली गरिराख्नेहरूमाथि त प्रश्न उठिरहन्छ। हामीमाथि त उठछ भने जनयुद्ध नलड्नेमाथि नउठने प्रश्नै छैन। तर प्रश्न उठ्न हुँदैन भन्ने हाम्रो भनाइ हो।

माओवादी केन्द्रले पटक–पटक वैद्य, बाबुराम र विप्लवलाई पार्टी एकताका लागि आह्वान गरेको छ। तर उहाँहरू एकता गर्नुको कुनै अर्थ छैन भनिरहनुभएको छ किन ?

माओवादी केन्द्रले इतिहासको आवश्यकता बुझेको छ। इतिहासको आवश्यकताले विभाजित माओवादीहरूबीच एकताको माग गर्छ। इतिहासको आवश्यकता वैद्य, बाबुराम र विप्लवजीहरूले बुझिरहनुभएको छैन। कि इतिहासको नेतृत्व उहाँहरूले गर्न सक्नुपर्यो। सम्भावना भएर नै एकताका लागि आह्वान गरेको हो। माओवादी केन्द्र कमजोर हुँदै गयो भने वैद्य, बाबुराम र विप्लवजीहरू पनि कमजोर हुँदै जानुहुन्छ।

तर, बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको हात अगाडि बढाउनुभएको छ नि ?

माओवादी आन्दोलनमा बाबुरामजीको ठूलो योगदान छ। उहाँको योगदान राष्ट्रिय राजनीतिमा कमजोर हुँदै छ। उहाँले इगोलाई छोडेर पार्टी एकतामा आउनुपर्छ। माओवादी केन्द्रसँग नै नजिकको सम्बन्ध राख्नुपर्छ। तत्कालको राजनीतिक मुद्दामा पनि माओवादी नजिक छ। माओवादीसँगको इगोले अहिले उपेन्द्र यादवसँग हात फैलाउनुभएको छ। यसले बाबुरामजीलाई सिध्याउँछ। पहिलो माओवादी छोडेर नयाँ शक्ति बनाई ठूलो गल्ती गर्नुभो। दोस्रो उपेन्द्रसँग एकताको कुरा गर्नुभएको छ। नयाँ शक्तिमा गएका साथीहरू बाबुरामजीको सती जानु हुँदैन। देश र जनताको पक्षमा सोच्नुपर्छ। बाबुरामजी एक जमानामा हामी सबैको नेता हुनुहुन्थ्यो। सधैभरि एउटा व्यक्तिले नेतृत्व गर्छ भन्ने छैन। माओवादी धारबाट पैदा भएका नेता तथा कार्यकर्ताहरू एक ठाउँमा आउछन् भन्ने हाम्रो विश्वास छ।

शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक सरकारमा सहभागी भएको छ। तर जनताको अपेक्षाअनुसार काम गर्न सकेन भन्ने आरोप छ नि ?

माओवादीमा गम्भीरता छैन। राष्ट्रिय राजनीतिमा माओवादी संकटमा छ। माओवादीको काँधमा जिम्मेवारी छ। जिम्मेवारी सही ढंगले नबुझ्ने एक किसिमको राजनीतिक र वैचारिक अकर्मण्यता छ। बारम्बार सरकारमा जादा पनि जनताको पक्षमा काम गर्न सकेको छैन। प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्दा पनि हामीले पिठो बेच्न सकेनौ। यो पनि पार्टीभित्र देखिएको विचलन हो। राम्रो काम पनि सही ढंगले जनतालाई बुझाउन सकिएन। कामको समायोजन गर्न नसक्नु पनि विचलन हो। मन्त्री बनाएका छौं। विचलनवादी प्रवृत्ति नै मुख्य रूपमा पार्टीभित्र छ। पाटीलाई धेरै मन्त्रीहरूले पार्टी र कार्यकर्ताले चाहनाअुनसारको काम गर्न नसकेको भन्ने आरोप ठीक हो। केहीले बाहेक अधिकांशले राम्रो गरेनन् भन्ने साँचो हो।

पार्टीले योगदान र क्षमताभन्दा पनि क्षेत्रगत रूपमा प्रभावमा पर्यो भन्ने चर्चा शुरु भएको छ नि ?

मूल्याङ्कनमा समस्या छ। मन्त्री छनोट स्वभाविक नै भयो। नेता पैदा गर्नका लागि क्षमता र योग्यहरूलाई अवसर दिनुपर्छ। माओवादीसँग सत्ताको अनुभव कम छ। तर त्यसैलाई गलत साधनको रूपमा लिने गरिएको छ। सकारात्मक भन्दा पनि नराकारात्मक रूपमा स्थापित हुने समस्या देखिएको छ। गम्भीर रूपमा आफ्नो नैतिकता वहन गर्न नसक्ने, पार्टीले दिएको जिम्मेवारी र जनताले गरेको विश्वास सही ढंगले बुझ्न नसक्दा पनि समस्या आउने गरेको छ।

३ नम्बर प्रदेश मन्त्रीविहीन भयो त?

सबै प्रदेशबाट सन्तुलन मिलाउनुपर्छ भन्ने पार्टीले सोचेकै हो। सातवटै प्रदेशबाट सन्तुलत मिलाउनुपर्छ भनिएको थियो। आगामी प्रदेश र संघको निर्वाचनलाई पनि ख्याल गरेर जनाधारलाई पनि हेरिएको छ। जानेर वा बुझुेर सन्तुलन नमिलाएको भन्दा पनि प्राविधिक दृष्टिकोणबाट नमिल्न गएको हो भन्ने मलाई लाग्छ।

संविधान संशोधन विधेयक पारित हुन सकेको छैन। राजपा आन्दोलनको तयारीमा जुटेको छ। आगामी असोज २ गते स्थानीय तहको निर्वाचन होला ?

राजपालाई नै केन्द्रमा राखेर तेस्रो चरणको निर्वाचन हुँदै छ। देशलाई स्थायित्वतिर लैजानुपर्छ। राजनीतिक अधिकार संस्थागत गर्नुपर्छ। देश र जनताको विकासको चाहनालाई पनि पूरा गर्नुपर्छ । राजपाले निर्वाचनबाट नै आफने राजनीतिक एजन्डा स्थापित गर्नुपर्छ। राजपाको माग सम्बोधन गरेर जान सकिने स्थिति देखिँदैन। राजपाले गम्भीरतापूर्वक चुनावमा आउने विषयमा सोच्नुपर्छ।

राजपा निर्वाचनमा आएन भने के हुन्छ ?

सरकारले संविधान संशोधन विधेयक प्रक्रिया अगाडि जादा नै राम्रो हुन्छ। राजपाले पनि परिणाम जे आएपनि स्वीकार गरेर जनताको जनमत लिने काममा लाग्नुपर्छ।

प्रचण्ड नेतृत्वको सरकार गठन हुने बेलामा नै भएको तीन बुँदे सहमतिअनुसार नै अहिले देउवा नेतृत्वको सरकारलाई राजपाले समर्थन गरेको छ। सरकारले सहमति गर्ने पालना नगर्ने त गर्न मिल्दैन होला नि ?

अब आन्दोलन कसैले पनि रुचाएका छैनन्। हिमाल ,पहाड र तराईका जनताले आन्दोलन चाहेका छैनन्। अब द्वन्द्व सृजना हुन नदिन सरकार चनाखो हुनुपर्छ। जायज माग सम्बोधन गर्न सरकारले ढिला गर्नु हुँदैन। राजपाको मागलाई सम्बोधन गरेर स्थायी निकास दिनका लागि सरकारले लचक भएर काम थाल्नुपर्छ। त्यो भएन भने देश असफल हुन्छ।

संविधान संशोधन विधेयक पारित गर्नका लागि मुख्य शक्ति राप्रपालाई पाखा लगाउने काम सरकारले गरेको छ। अब कसरी संविधान संशोधन होला ?

राप्रपा आउँदा पनि दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो। राप्रपाकै मत राप्रपाको हो कि होइन ? भन्ने प्रश्न उठेपछि त्यो खतरनाक खेल सरकारले खेल्नु पनि राम्रो होइन। त्यही भएर नै राप्रपालाई सरकारमा समावेश नगरिएको हुन सक्छ। सरकारमा जादा विधेयक स्वीकार गर्ने र सरकार बाहिर बस्दा अस्वीकार गर्ने पनि राप्रपाको राजनीतिक इमानदारीता होइन।

संविधानमा संशोधनमा किन अलमल त ?

राजपाकै कारण अलमल भएको छ। कांग्रेस र माओवादीका कारण अलमल भएको छैन। राजपा संविधान संशोधन विधेयक फेल नहोस भन्ने चाहन्छ। पास हुनको लागि दुई तिहाई बुहमत सरकारसँग छैन। राजपाले फेल भयो भने सदाको लागि फेल हुन्छ भन्ने सोचेको छ। यो सोच हटाउनुपर्छ। निर्वाचनमा भाग लिनुपर्छ।

अहिले राष्ट्रवाद र राष्ट्रघात चर्चामा छ। राजनीतिक दलहरू किन विभाजित ?

एमालेको राष्ट्रवाद खोक्रो राष्ट्रवाद हो। हामीले मण्डले राष्ट्रवाद पनि भन्ने गरेका छौं। एमालेले अगाडि सारेको यो पुरानो राष्ट्रवाद पनि हो। चुनावमा बिक्री हुने राष्ट्रवाद हो। राष्ट्रिय एकता नै राष्ट्रवादको आधार हो। एउटा क्षेत्र, एउटा समुदाय र एउटा इतिहासको एउटा कालखण्डको आधारमा एमालेले परिभाषा गरेको छ। एमालेले चुनावमा बिक्री हुने गतिलो नारा बनायो। तर अन्ततः एमालेको राष्ट्रवाद राष्ट्रघातमा बदलिन्छ। यसले एमालेलाई मात्र होइन। देशलाई नै फाइदा हुँदैन।

तर एमालेलाई पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा जनताले राम्रो मत हाले नि ?

एउटा पुरानो रुढीवादी तत्व सल्बलाएको छ। मानिसहरूलाई पुरानोतिर फर्किन सजिलो छ। नयाँ भन्नेहरूले नयाँ काम गर्न नसक्दा पुरानोतिर फर्किने खतरा हुन्छ। यसैलाई क्यास गरेर एमाले पहिलो पार्टी भयो। एमाले नयाँ विचारको आधारमा पहिलो पार्टी भएको होइन। समाज नयाँ हुँदै छ। नयाँ चेतना र जागरण आउँदै छ। नयाँ सभ्यता आउँदै छ।

शान्ति प्रक्रियामा आएपछि गठन भएर भंग भएको वाइसीएल अहिले पनि पुनः ब्युताउने निर्णय भयो नि ?

युवाहरू समाजका चालक शक्तिहरू हुन्। युवाहरू पार्टी र राष्ट्रको शक्ति पनि हुन्। हाम्रो पार्टीले वाइसीएलको रक्षा र विकास गर्न ब्युताउने निर्णय गर्दा प्रतिक्रियावादी र सामन्तवादीहरू आत्तिएका छन्। माओवादीले वाइसीएल बनाएपछि एमालेले युर्थफोर्स बनायो। पार्टीले वाइसीएलका बारेमा सही निर्णय गर्न सकेन। विरोधी पार्टीका आँखा नराम्रो बने। पार्टीले वाइसीएलको संरक्षण र विकास गर्न सकेन। अहिले माअ‍ोवादीमा संकट आएको छ। युवाहरूलाई कम्युनिस्टका रूपमा अगाडि बढाउन नसक्दा पार्टी कमजोर भएको हो। अब वाइसीएल हिजोको जस्तो पनि होइन। अब वाइसीएल एउटा सशक्त पार्टीको सहायक शक्तिका रूपमा स्थापित हुन्छ। पार्टीलाई रूपान्तरण गराउने, जनसम्बन्ध विस्तार गर्ने, पार्टीलाई क्रान्तिकारी बनाउने, पार्टीको रक्षा कबचको रूपमा तथा जनताको सहयोगी दस्ताको रूपमा वाइसीएल अगाडि बढ्छ। आगामी दुई वटा निर्वाचनमा वाइसीएल सशक्त रूपमा लाग्छ।

पार्टीले ४ हजार केन्द्रीय आयोजक समितिको संख्या घटाएर ९९ बनाउने निर्णय गरेको छ। कार्यान्वयन होला त ?

हामीले ४ हजार बनायौं भने ९९ सदस्य पनि बनाउन सक्छौं। पार्टीले निर्णय गरेपछि कार्यान्वयन पनि गर्नुपर्छ। सचिवालयको बैठकमा नेताहरूले ४ हजारलाई रूपान्तरण गरेर सानो संख्याको महाधिवेशन आयोजक समिति बनाउनुपर्नेमा जोड दिएका छन्। केन्द्रीय कार्यालयलाई नै आयोजक समितिका रूपमा घोषणा गरेर सम्मेलन महाधिवेशनको बाटोमा जान्छ भने मान्य हुने सचिवालयका नेताहरूले बताएका छन्। त्यसैलाई दुई अंकको कुरा गरेका हौं।

आयोजक समिति बनाउदा उत्साहित भएका नेताहरूलाई घटुवा गर्दा मनोविज्ञान रूपमा असर गर्ला कि ?

यसले निराशा जन्माउँदैन। जसरी बढाइयो। त्यसै गरी घटाउन हुँदैन भन्नेमा पनि पार्टी सचेत छ। सात प्रदेशमा सबै आयोजक समिति तथा सदस्यहरूको बैठक, भेला र प्रशिक्षण राखेर प्रदेशबाट अनुमोदन गराएर मात्र सचिवालयले निर्धारण गरेको हो। केन्द्रीयता र जनवादले पनि निर्णय गर्छ। वैज्ञानिक विधि अपनाएर समाधान खोज्न सक्छौं। पार्टीले जोखिम पनि मोल्छ ।

पार्टीको महाधिवेशन चाहिँ कहिले हुन्छ ?

दुईवटा निर्वाचनपछि महाधिवेशन हुन्छ।

निर्णय हुने तर कार्यान्वयन नहुने माओवादीको रोग हो ?

माओवादीमा प्रतिबद्धता र इमानदारिताको थोरै खडेरी छ। त्यसकारण भनेको कुरा माओवादीले गर्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्